
बैंकिङ खबर/ सहकारीको लेटरप्याड प्रयोग गरी विदेश जान लागेका ७६ जना विमानस्थलबाट फर्काइएका छन् । ललितपुर जावलाखेलको शुभेक्षा बहुउद्देश्यीय सहकारीको लेटरप्याडका आधारमा विदेश जान लागेका ७६ यात्रुलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको हो ।
उनीहरु विदेश जानुको उद्देश्यप्रति शंका देखिएपछि फर्काइएको विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले जानकारी दिएका छन् । उनले भने, ‘आशंका लागेपछि हामीले कागजपत्र माग्यौँ, चिट्ठी लेखेर सहकारीबाट जानकारी माग्छौँ भनेपछि उनीहरु डराए, कतिले त त्यसो भए हामी फर्कन्छौँ भनेर पनि फर्किए ।’ यसरी विदेश जान लागेकामा ७० प्रतिशत महिला छन् ।
उनीहरु ललितपुरको शुभेक्षा बहुउद्देश्यीय सहकारी संस्थाबाट दुबई जान लागेको पत्र ल्याएको विभागले जनाएको छ । उक्त विषयमा विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन विभाग र गृहमन्त्रालयमा लिखित जानकारी गराउने उनले बताएका छन् । सो विषयमा मंगलबार मात्र नेपाल वायुसेवा निगमनबाट जानकारीसहितको पत्र प्राप्त भएको जनाइएको छ ।