
बैंकिङ खबर/दोलखाको एक सहकारीका सुरक्षा गार्डको हत्या प्रकरणमा दुई जना पक्राउ परेका छन् । गौरीशंकर गाउँपालिका १ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्ड ६७ वर्षीय पूर्ण बहादुर खड्काको हत्याको आरोपमा दुई जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा सोही गाउँपालिका १ जुगु बस्ने २७ वर्षीय विक्रम कार्की र सोही ठाउँ बस्ने २० वर्षीय सुमन कार्की रहेका छन् ।
पूर्ण बहादुरलाई गत कार्तिक १० गते अज्ञात समूहले नियन्त्रणमा लिई उक्त सहकारीबाट नगद १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटपाट गरी फरार रहेकोमा गौरीशंकर गाउँपालिका १ जुगुस्थित जंगलमा हातखुट्टा डोरीले तथा मुख खादाले बाँधिएको र निधारमा घाउचोट लागेको अवस्थामा कात्तिक १२ गते उनको शव फेला परेको थियो ।
सो घटनाको अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले विक्रमलाई काठमाडौं महानगरपालिका ३२ तिनकुने र सुमनलाई काठमाडौं महानगरपालिका ६ चुच्चेपाटीबाट पक्राउ गरेको हो । साथै घटनास्थलबाट लुटिएको मृतकको १ थान मोबाइल र सहकारीबाट लुटिएको रकममध्ये १ लाख ३८ हजार २ सय ६५ रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको ब्यूरोले जनाएको छ ।