November 25th, 2021

विवादको चंगुलमा धितोपत्र बोर्ड, अध्यक्ष छनोट गर्न महाभारत

बैंकिङ खबर।
नेपाल धितोपत्र बोर्डलाई अध्यक्ष छनोट गर्न महाभारत भएकाे छ। बोर्ड अध्यक्षका लागि सरकारमा रहेका तीनदलबीच विवाद छ। सरकारको नेतृत्व गरेको कांग्रेस, माओवादी केन्द्र तथा माधव नेपालको पार्टी नेकपा समाजवादीबीच बोर्ड अध्यक्ष आफूले पाउनु पर्ने भन्नेमा विवाद छ।

केपी शर्मा ओलीको तत्कालिन सरकारले बोर्ड अध्यक्षमा ४ वर्षका लागि भिष्मराज ढुंगानालाई नियुक्त गरेका थियो। तर २ वर्षमै ढुंगाना सर्वोत्तम सिमेन्टको शेयर छोरीको नाममा खरिद गरेको प्रकरणपछि पदबाट बाहिरिएका थिए। अहिले साे पद खाली छ र यसमै दलहरूकाे पनि हानथाप भएका कारण बोर्डलाई अध्यक्ष छनोट गर्न महाभारत भएकाे हाे।

विवादका बीच बोर्डको अध्यक्षका लागि आवेदन पुनः खुल्ने भएको छ। अध्यक्ष छनोटको विषयमा कानूनी रुपमा विवाद देखिएपछि अध्यक्ष छान्ने समिति नयाँ गठन हुने र सो समितिले पुनः आवेदन माग्ने बताइएकाे छ।

अहिले धितोपत्र बोर्डको अध्यक्षको छनोट समिति अर्थ मन्त्रालयले बनाएको हो। साे छनोट समितिले बोर्ड अध्यक्ष बन्नको लागि आवश्यक योग्यता भएका व्यक्तिलाई आवेदन दिन आह्वान पनि गरेको थियो। सो अनुसार १२ जना व्यक्तिले आवेदन दिएका थिए। तर, छनोट समिति अर्थ मन्त्रालयले गठन गर्ने कि सरकारले गठन गर्ने भन्ने विवादसँगै अहिले परेका आवेदनको विषयमा कुनै निर्णय नहुने भएको छ।

यस अघि अध्यक्षका लागि क-कसले दिएका थिए आवेदन?

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि करिव एक दर्जनले नाम अघि सारेका छन्। आवेदन दिनेमा सहकारी बोर्डका अनिल पौडेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, बीमा समितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाई, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, बोर्डकै उप–कार्यकारी निर्देशक डा. नवराज अधिकारी रहेका थिए।

यस्तै नेप्सेका पूर्वमहाप्रबन्धक सिताराम थपलिया, सेयर बजार विश्लेषक डा. केशवप्रसाद श्रेष्ठ, तथा सेयर बजार क्षेत्रकै जीवन अमगाई, सोही क्षेत्रका रमेश हमाल, अम्बिका शर्मा लामिछाने, कर्मचारी सञ्चय कोषका पूर्व कर्मचारी कृष्णप्रसाद आचार्य, तथा बिष्णु बस्यालले अध्यक्ष पदमा आवेदन भरेका थिए।

उनीहरुमध्येबाट छनाेट समितिले ३ जनाको नाम सिफारीस गर्ने र एक जनालाई मन्त्रिपरिषदले नियुक्ती गर्ने प्राबधान छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]