November 23rd, 2021

राष्ट्र बैंक भन्छ, ‘समग्रमा शेयर बजारकाे अवस्था सकारात्मक छ’

बैंकिङ खबर।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाली शेयर बजार मापक नेप्से परिसूचक र पुँजीकरण सकारात्मक रहेको छ।  

आर्थिक वर्षको सुरुवातदेखि शेयर बजारमा निकै ठूलो उतार चढाव आइरहेको छ। बजार धितोपत्र बोर्डको ५१ कम्पनीको नाम सार्वजनिक काण्डका कारण खस्किएको थियो। उक्त काण्डबाट शेयर बजार लयमा आउन नपाउँदै मौद्रिक नीतिले शेयर बजारमा ल्याएको नयाँ नियमनका कारण बजार प्रभावित हुँदै आएको छ। तर, विविध कारणले बजार प्रभावित भएता पनि गत वर्षको तुलनामा बजार सकारात्मक रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ।

पछिल्लो एक वर्षदेखि नेपाली शेयर बजारमा लगानी कर्ताको आकर्षण बढ्दै गएको छ। लगानीकर्ता बढ्दै जाँदा शेयर बजारले नयाँ रेकर्डसमेत राख्न सफल भएको छ। तर, चालु आर्थिक वर्षको लागि नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा शेयर धितो कर्जामा ४ करोडदेखि १२ करोड सीमा तोकेसँगै शेयर बजार ओरालो लागिरहेको छ।

चार महिनादेखि शेयर बजार ओरालो लागे पनि अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमास र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक तुलना गर्दा नेप्से परिसूचक र  पुँजीकरण सकारात्मक देखिनु पुँजीबजारको लागि राम्रो पक्ष हो।

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा शेयर धितोकर्जामा लगाएको सीमामा लचकता अपनाएमा पुनः शेयर बजारले गति लिने अनुमान छ। त्यस्तै, पछिल्लो एक साताको शेयर बजार कारोबारमा नेप्से परिसूचक र लगानीकर्ताको सम्पतीमा समेत वृद्धि भएको छ। शेयर बजारमा ८० अंक र लगानीकर्ताको सम्पत्ति १ खर्ब १२ अर्ब ८२ करोड ६२ लाख रुपैयाँले बढेको छ।

आइतबारदेखि बिहीबार (कार्तिक २८ देखि मंसिर २) सम्म भएको शेयर कारोबारमा आइतबार २ हजार ६८८.९२ अंक रहेकामा साताको अन्तिम कारोबार दिन बिहीबारसम्ममा बजार ८०.२१ अंकले बढेर २७६९.१३ अंकमा पुगेर कारोबार बन्द भएको थियो।

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा ३ अर्ब ५६ करोड बराबरको सर्वसाधारणका लागि जारी गरिएको साधारण शेयर (आईपीओ) सूचीकृत भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार ३ अर्ब ५६ करोडको आईपीओ नेप्सेमा सूचिकृत हुँदा ४१ अर्ब ६० करोड रुपैयाँको नयाँ शेयर (डिबेन्चर) थपिएको छ।

उक्त प्रतिवेदन अनुसार तीन महिनाको अवधिमा एक अर्ब २८ करोड बराबरको बोनस शेयर र एक अर्ब २३ करोड बराबरको हकप्रद शेयर सूचीकृत भएको छ। त्यस्तै, ३३ अर्ब तीन करोड बराबरको डिबेन्चर र २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्डसमेत सूचीकृत भएको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिना असोजसम्ममा नेप्सेमा २२२ वटा कम्पनीहरू सूचीकृत भएका छन्। जसमा १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्। सूचीकृत कम्पनीहरूमध्ये नेप्सेमा सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको पुँजीकरणको  बजार हिस्सा ७०.७ प्रतिशत रहेको छ।

त्यस्तै,जलविद्युतको ८.६ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको १.४ प्रतिशत, व्यापारिक संस्थाको ०.५ प्रतिशत र अन्य समूहका कम्पनीहरूको हिस्सा ७.६ प्रतिशत रहेको छ। चालू आर्थिक वर्षको असोज मसान्तमा नेप्से परिसूचक २ हजार ६५७.० पुगेको छ। तर, अघिल्लो वर्षको असोज मसान्तमा नेप्से १ हजार ५६२.५ मात्रै थियो।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]