साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । नेप्से परिसूचक ७.७३ अंकले बढेर १८०५.१८ अंकमा पुग्यो । लामो समयपछि नेप्से १८ सय अंकभन्दा माथि पुगेको छ । यद्यपि, नेप्से १८ अंकमा पुगेको यो पहिलो पटक भने हैन । तैपनि, लगातार बजार घटिरहँदा निरास बनेका लगानीकर्तालाई बजारको यो अवस्थाले केही राहत भने प्रदान गरेको छ । गत साताको अन्तिम दिन नेप्से परिसूचक १७३०.६२ अंकमा थियो । यस आधारबाट हेर्दा, यो साताभरमा नेप्से परिसूचक ७४.५६ अंकले बढेको देखिन्छ । यो साता कारोबारमा पनि उल्लेख्य सुधार आएको देखिन्छ । पाँचै दिन कारोबार भएको बजारमा हरेक दिन १ अर्बमाथिको पुँजी परिचालन भयो । समग्रमा यो साता ६ अर्ब ९२ करोड ५७ लाख ९९ हजार ४ सय ५३ रुपैयाँ बराबरको पुँजी परिचालन भयो । जबकी गत साता साँढे ३ अर्ब रुपैयाँ बराबरको पुँजी परिचालन भएको थियो ।
साताभरको कारोबारलाई हेर्दा यो साता लगानीकर्ताको आकर्षण बैंकिङ समूहमा नै टिकिरह्यो । होटल र जलविद्युत् समूहमा लगानीकर्ताको आकर्ष एकदमै न्युन रह्यो । गत साताजस्तै यो साता पनि सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीको अग्रस्थानमा एनबी बैंक नै रह्यो, जसको साताभरमा साढे ४४ करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टेमन्ट बैंक, लुम्बिनी जेनेरल इन्स्योरेन्स, हिमालयन जेनेरल इन्स्योरेन्स लगायतको पनि राम्रो कारोबार भएको छ ।
यो साता कुनै पनि कम्पनीले धेरै कमाएनन् भने गुमाउनेले पनि धेरै गुमाएनन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, बाटलर्स नेपाल, राष्ट्रिय बीमा कम्पनी लगायतले यो साता धेरै कमाएका छन् । गुमाउनेमा अपि पावर कम्पनी, प्रोग्रसिभ फाइनान्स, वमी माइक्रोफाइनान्स लगायत छन् । यस हिसाबले हेर्दा यो साताको बजार सन्तुलित रहेको देखिन्छ ।



