Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

चेक बाउन्स काण्डका बैंकिङ कसुर : डरलाग्दा घटनाहरु, जेलमै जिन्दगी !

२०७८ कार्तिक २८ गते

बैंकिङ खबर/  वित्तीय क्षेत्रको तीव्र विकास र विस्तारसँगै बैंकिङ कसुरका घटना पनि बढ्दै गएका छन् । प्रायः जानी जानी र कतिपय अवस्थामा कसुरबारे अनभिज्ञ भएर पनि यस्ता घटना हुने गरेका छन्, यद्यपि कानुनी व्यवस्थाबारे थाहा नपाएर कसुर गरेँ भन्ने छुट कानुनले दिँदैन । एकातिर बैंकिङ कसुरका प्रावधानबारे चेतना विस्तार गर्नु जरुरी छ भने अर्कोतर्फ कसुरबारे सामान्य वा पूर्ण जानकारी हुँदाहुँदै पनि कसुर गर्नेहरूलाई सचेत गराउनु उत्तिकै आवश्यक छ । तसर्थ, यहाँ बैंकिङ कसुरमा सजाय भएका प्रतिनिधि घटनाहरूसँगै बैंकिङ कसुर मानिने कामहरू, कानुनी व्यवस्था, कसुरबमोजिम हुने सजायलगायत विषयमा जानकारी दिइन्छ ।

हालै बाउन्स चेक काटेपछि प्रहरीले पोखरामा एकजनालाई पक्राउ गरेको छ । पोखरा १३ बाझापाटनका ३५ वर्षीय शंकर गुरुङलाई पक्राउ गरिएको हो । चेक बाउन्स भएपछि उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको हो । १३ लाख ८० हजारको चेक बाउन्सको उनीविरुद्ध उजुरी परेको थियो । उनलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ । बाउन्स चेकका कारण पनि बैंकिङ कसुरमा कारबाही भोग्नेहरू दैनिक बढिरहेका छन् ।

काठमाडौं महानगरपालिका–३०, ठहिटी घर भई हाल ललितपुर महानगरपालिका–१५, नखिपोट बस्दै आएका ४१ वर्षीय पूर्ण लामा पक्राउ परे । चेक बाउन्स अभियोग प्रमाणित भएका फरार लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जावलाखेलबाट पक्राउ ग¥यो । उनीविरूद्ध लेजर इन्फोटेक नेपाल प्रालिका सञ्चालक दुर्गामान मोक्तानले खातामा पैसा नभएको थाहा हुँदाहुँदै चेक काटेर दिएको भन्दै जाहेरी दिएका थिए । बैंकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै लामालाई उच्च अदालत पाटनले  १५ दिन कैद र २० लाख जरिवानाको सजाय सुनाएको थियो ।

झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुंगाना पक्राउ परे । बैंकिङ कसुर मुद्दामा अभियोग प्रमाणित भई एक करोड ८५ लाख जरिवाना भएपछि फरार भएका ढुंगानालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो । ढुंगानालाई उच्च अदालत पाटनले बैंकिङ कसुरमा दोषी ठहर गरेको थियो ।

सिआइबीका अनुसार उच्च अदालत पाटनको फैसलापछि एक महिना कैद र बिगोबमोजिम एक करोड ८५ लाख जरिवाना सजाय भएपछि फरार रहेका ढुंगाना धुम्बाराहीबाट पक्राउ परेका हुन् । ढुंगानाले आफ्नो प्रभु बैंक लिमिटेड सुकेधाराको खातामा पर्याप्त रकम मौज्दात नभएको जान्दाजान्दै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।

बैंकिङ कसुर मुद्दामा ६ दिनको कैद सजाय सुनाइएका व्यक्ति पनि पक्राउ परे । सिआइबीले जोरपाटीबाट गोकर्णेश्वर नगरपालिका–२ का बुद्धिबहादुर तामाङलाई पक्राउ गरेको हो । कुमारी तामाङको जाहेरीमा परेको बैंकिङ कसुर मुद्दामा तामाङलाई दोषी ठहर गर्दै उच्च अदालत पाटनले  ६ दिन कैद र १९ लाख ९० हजार जरिवानाको फैसला सुनाएको थियो ।

उल्लेखित घटनाहरू प्रतिनिधि मात्र हुन् । पछिल्लो ३ वर्षको तथ्यांकअनुसार औसतमा प्रतिदिन करिब ९ वटा बैंकिङ कसुरका उजुरी दर्ता हुने गरेका छन् ।

दुईतिहाइभन्दा बढी घटना काठमाडौं उपत्यकामा
नेपाल प्रहरीका अनुसार बैंकिङ कसुरका घटना सबैभन्दा बढी काठमाडौं उपत्यकामा घटेका छन् । देशको समग्र आर्थिक क्रियाकलापको करिब आधा हिस्सा ओगटेकाले पनि काठमाडौंमा बैंकिङ कसुरका घटना बढी घटेको अनुमान प्रहरीको छ ।काठमाडौं उपत्यकामा जनघनत्व र बैंकिङ गतिविधि बढी भएकाले पनि यहाँ यस्ता बैंकिङ कसुरका घटना बढेको उनको बुझाइ छ ।

के भन्छन् नियामक, अनुसन्धाता र पैरवीकर्ता निकाय ?
नेपाल राष्ट्र बैंक, कानुन महाशाखाले महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीसित ‘बैंकिङ कसुरको अनुसन्धान, अभियोजन तथा बैंकिङ सुपरिवेक्षण’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम गर्‍यो । तीनैवटा निकायका अधिकारीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा तीनै निकायको तर्फबाट कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडाल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षेत्रीले बैंकिङ कसुरको विद्यमान अवस्था र न्यूनीकरणको उपायबारे धाराणा राख्नुभएको थियो । त्यसको सारसंक्षेप यहाँ प्रस्तुत गर्नु वाञ्छनीय छ :

अन्तरनिकाय समन्वय र सहकार्य आवश्यक : महान्यायाधिवक्ता बडाल
महान्यायाधिवक्ता बडालले बैंकिङ प्रणालीमा देखिएका कसुरलाई नियन्त्रण गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । त्यसको निम्ति राष्ट्र बैंक, सरकारी वकिल र नेपाल प्रहरीबीच प्रभावकारी समन्वय एवं सहकार्य हुनुपर्ने उहाँको धारणा थियो । ‘विगतमा हामीबीच समन्वयको अभावले कुनै समस्या उत्पन्न भएको छ भने त्यसमा सुधार गर्दै अन्तरनिकाय समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ,’ महान्यायाधिवक्ता बडालको भनाइ उद्धृत गर्दै राष्ट्र बैंकले भनेको छ ।

कसुरका नयाँ प्रवृत्तिले चुनौती : गभर्नर अधिकारी
कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ कसुर र सजायसम्बन्धी कानुन जारी भएपश्चात् बैंकिङ कसुरजन्य क्रियाकलापको नियन्त्रणमा मद्दत मिले पनि पछिल्लो समय कसुरका नयाँ प्रवृत्तिले चुनौती थपेको बताउनुभयो । त्यसको निम्ति विद्यमान कानुनी व्यवस्थालाई संशोधन र परिमार्जन गर्नुपर्ने धारणा गभर्नर अधिकारीले व्यक्त गर्नुभयो ।
‘सूचना प्रविधिको विकाससँगै बैंकिङ कसुरका नयाँनयाँ प्रवृत्तिहरू देखिन थालेका छन्,’ गभर्नर अधिकारीले भन्नुभयो, ‘तिनको नियन्त्रणलाई विद्यमान कानुनले समेट्न सकेको छैन । त्यसलै कानुनी व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता छ ।’

हुन्डी र मौखिक कारोबारले वित्तीय प्रणालीमा जोखिम : प्रहरी महानिरीक्षक थापा
अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तीनवटै निकायको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै बैंकिङ कसुर नियन्त्रणमा उपलब्धि हासिल हुने धारणा राख्नुभयो । हुन्डी र मौखिक माध्यमबाट हुने अन्य कारोबारले वित्तीय प्रणालीमा जोखिम सिर्जना गरेको उहाँको भनाइ थियो । साथै, सहकारी संस्थाको कारोबारलाई पनि प्रभावकारी नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता क्षेत्रीले औँल्याउनुभयो ।

के हो बैंकिङ कसुर ?
कानुनी व्यवस्थाविपरीत बैंक तथा वित्तीय संस्थाको रकम हिनामिना गर्नुलाई बैंकिङ कसुरका रूपमा लिइन्छ । विद्यमान कानुनी व्यवस्थाअनुसार अनधिकृत रूपमा खाता खोल्ने तथा रकम भुक्तानी दिने, अनधिकृत रूपमा एउटा व्यक्ति वा संस्थाको चेक तथा खातको विवरण अर्को व्यक्ति वा संस्थालाई दिने, धितोको अस्वाभाविक मूल्यांकन गरी ऋण लिने तथा दिने काम बैंकिङ कसुरभित्र पर्छन् ।

कति हुन्छ सजाय ?
ऐनको व्यवस्थाअनुसार बैंकिङ कसुरको मात्राअनुसार बिगो भएको अवस्थामा एक वर्ष कैद, १० लाख रूपैयाँभन्दा बढी ५० लाख रूपैयाँसम्म बिगो भए एक वर्षदेखि दुई वर्षसम्म कैद र ५० लाख रूपैयाँभन्दा बढी एक करोडसम्म बिगो भए दुई वर्षदेखि तीन वर्षसम्म कैद र एक करोड रूपैयाँभन्दा बढी जतिसुकै बिगो भए पनि तीन वर्षदेखि पाँच वर्षसम्म कैद हुने प्रावधान छ ।

Ad