September 23rd, 2021

मिर्मिरे लघुवित्तको एघारौं वार्षिकोत्सव सम्पन्न

बैंकिङ खबर । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्नो एघारौं वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष टेकबहादुर बोहराले केन्द्रीय कार्यालयमा दीप प्रज्वलन गरी सम्पूर्ण सरोकार निकाय, नियमन निकाय, शेयरधनीहरु, संस्थामा आबद्ध सदस्यहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन तथा शुभकामना दिनुभएको छ ।

शुभकामना कार्यक्रम पश्चात नेपाल रेडक्रस सोसाइटी बनेपा शाखाको आयोजनामा केन्द्रीय कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा स्थानीय व्यक्तित्व, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु तथा संस्थाकै कर्मचारीहरुले रक्तदान गर्नुभएको थियो ।

पछिल्लो बेला अस्पतालहरुमा रगतको अभाव भइरहेको समयमा विभिन्न संस्थाहरुले निरन्तर रक्तदान कार्यक्रम गरिरहँदा पनि रगतको पूर्ति हुन गाह्रो भइरहेको समयमा मिर्मिरेले आयोजना गरेको रक्तदान कार्यक्रमले थोरै भए पनि सहज भएको नेपाल रेडक्रस सोसाइटी बनेपाका प्राविधिक राधा थापाले बताउनुभयो ।

कार्यक्रम संयोजक तथा संस्थाका योजना, असुली तथा तालिम विभाग प्रमुख राजेश श्रेष्ठले सम्पूर्ण रक्तदाताहरु तथा सहयोगी सबैलाई धन्यवादको दिँदै सामाजिक कार्यक्रमहरु नियमितरुपमा संचालन हुँदै जाने बताउनुभयो । कार्यक्रममा ३१ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष बोहरासँगै स्वतन्त्र संचालक प्रविण भट्टराईको पनि उपस्थिति रहेको थियो । साँझ संस्थाका १४९ वटा शाखा कार्यालयहरुमा दिपावली गर्ने कार्यक्रम रहेको संस्थाका सहायक प्रमुख कार्यकारी विर्खबहादुर बोहराले जानकारी दिनुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]