नोटलाई जतन गरौं, पुजा नगरौं ! पैसाको सुरक्षाबारे कृष्णहरी बाँस्कोटाका टिप्सहरु


Bankingkhabar /September 26, 2021

कृष्णहरी बाँस्कोटा  / भगवतीलगायतको पूजा गर्दा नोटको पनि पूजा गरिन्छ, यो असल परम्परा होइन । नोट सबैको साझा सम्पत्ति हो । यसर्थ अर्को व्यक्तिमा पुग्नुपर्ने नोटलाई अबिर–केशरीले रंग्याउनु सर्वथा गलत हुनेछ । यहाँ बुझ्नुपर्ने कुरा के छ भने हामीले केही देवतालाई पूजा गरेर दक्षिणास्वरूप नोट चढाउने हो, नोटलाई नै पूजा गर्ने होइन । यसैगरी पूजा गर्दा पहिला देवीदेवतालाई जलले स्नान गराइन्छ । कुनै फलफूलमा केही फोहर लागेको भए सफा गर्न पानीले धोइन्छ । यसबाट के बुझिन्छ भने पूजा गर्दा जल सेचन गर्ने देवीदेवतालाई हो, देवीदेवतालाई चढाउने नैवेध्य वा दक्षिणस्वरूप चढाउने नोटलाई पानीमा डबाउनु पर्दैन ।

पैसा खाममा राखी दिऔँ
यसर्थ नयाँ नोटलाई नयाँपन नै यथावत् रहने गरी देवतालाई चढाउँदा उनी पनि नयाँ नोट दक्षिणामा पाएकोमा खुसी होलिन् । यसर्थ नोटमा पूजा गर्ने वा पानी राख्ने वा अन्य कुनै पनि किसिमले नोटमा नोक्सानी पुग्ने काम नगरौं भन्ने सल्लाह दिन चाहन्छु । पूजापछि नयाँ नोटको प्रयोग हुने दक्षिणामै हो । सम्भव भएमा दक्षिणालाई खाममा राखी दिनु राम्रो हुन्छ । खाममा राख्दा नोटलाई पट्याउनु पर्दैन । खाममाथि जमरा वा फूल राखेर दिनु उत्तम हुन्छ । 

नोटलाई प्लेटको रुपमा प्रयोग नगरौँ
कयौँले नोटको दक्षिणा दिँदा नोटमै अक्षता, फूल, जमरा र फलफूल एवं नरिवलको टुक्रा राखेर दिने गरेको पाइन्छ । यसरी नोटलाई प्लेटका रूपमा प्रयोग गर्नु सर्वथा नोटको अनादर गर्नु हो । धार्मिक रूपमा हेर्ने हो भने नोट लक्ष्मी हुन् । लक्ष्मी माताप्रतिको दुव्र्यहार क्षम्य हुन सक्तैन । बैंकबाट साटेर ल्याएको नयाँ नोट दक्षिणा पाउनेले नयाँ नै पाएको हुनुपर्छ । हामीले कसैलाई नयाँ कपडा उपहारमा दिन चाहे प्याकिङ नै दिन्छौं ।

कलम, डडपेन उपहार दिँदा पनि त्यसमा भएको एक प्रकारको सिल नखोली दिन्छौं । यस्तो गर्दा नयाँ उपहार दिएको भन्ने बुझिन्छ । नोटको दक्षिणा दिँदाको अवस्था पनि यही हुनुपर्छ, पाउनेले नयाँ नोट नयाँ रूपमै पाएको हुनुपर्छ । यसै प्रसंगमा नोटबारे थप केही कुरा पनि प्रकाश पार्नु बेसै होला ।

नोटमा केरमेट नगरौँ
नोटमा केरमेट गर्ने बानी गर्नु हुँदैन । हामीमध्ये केहीले नोटमा रहेको सानो सेतो भागमा मनका कुरा लेख्छौं, यो सर्वथा गलत कुरा हो । नोटमा लेख्नु गैरकानुनी कार्य हो । यो गैर–नैतिक चरित्रको द्योतक पनि हो । नोटको सेतो भाग नोटको विश्वसनीयताका लागि पानीमा कुनै चिह्न रहेझैं पारदर्शिता प्रदर्शन गरिन्छ । यो प्रत्येक व्यक्तिले नोटको सक्कलीपनाका लागि हेर्नुपर्ने हुन्छ । जसरी वस्तु खरिद गर्दा खपत गरिसक्नुपर्ने म्याद हेरिन्छ वा परिमाण हेरिन्छ वा अधिकतम खुद्रा मुल्य हेरिन्छ, सोहीअनुरूप नोटको ‘पानी छाप’ हेरेर विश्वस्त हुनुपर्ने स्थानमा लेख्न नहुने रहेछ भनी बुझ्न ढिला गर्नु हुँदैन । अधिकांश व्यापारीले नोटको गड्डी पारेर पछि माथिल्लो भागमा रहेको नोटमा सो गड्डीमा कतिवटा नोट छ भनी संख्या लेख्छन् । यसरी पनि लेख्नु हुँदैन । सो नोटको गड्डीको शिर भागमा नेपाल राष्ट्र बैंकले झैं एउटा कागज राखी सो कागजमा लेख्ने गर्नुपर्छ ।

नोटले जल सेचन नगरौँ
धार्मिक काम गर्ने पण्डित वा पुरोहितहरूले पनि नोटको हिफाजतमा ध्यान पुर्याउनुपर्छ । गौदान गर्ने भनी बोगतामा नोट वा पानी राखी सोही पानीले जजमानलाई सेचन गर्ने परम्परामा तत्कालै सुधार गर्नुपर्छ । पवित्र जलले जजमानलाई सेचन गरी पवित्र तुल्याउने हो । सात समुद्रपारि मुद्रित भएर आएको नोटको पानीले सेचन गर्ने होइन । 

लेखक पूर्व सचिव तथा सूचना आयोगका पूर्ण प्रमुख आयुक्त हुन्


सोसिअल मेडिया