
बैंकिङ खबर । बजार चलायमान भएसँगै बेंकमा कर्जाको माग बढ्न थालेको छ । पछिल्लो समय बैंकमा कर्जा लिन आउनेको संख्या बढेको एक बैंकरले बताएका छन् । तथापी निक्षेप संकलनमा भने कमी आएको छ । उता विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियसनले विकास बैंकहरुमा पनि कर्जाको माग बढेको र निक्षेप संकनलमा कमी आएको जनाएको छ । बैंकवित्तले कर्जा प्रवाह माग अनुसार गर्न सक्ने अबस्था नरहेको जनाइएको छ । बजारमा अहिले तरलता समस्या निम्तिन थालेको छ ।
लामो समयको कोरोना प्रभावबाट बन्द जस्तै भएको बजार पूर्ण रुपमा संचालनमा आएको छ । यससँगै बैंकबाट कर्जाको माग थप बढ्ने देखिन्छ । पछिल्लो समय बैंकवित्तमा प्रयाप्त रकम छैन । यसले तरलताको अभाव देखाएको छ ।
दशैं नजिकिँदै गर्दा बैंकिङ प्रणालीमा तरलता अभाव बढेको छ । यो अभावलाई पूर्ति गर्न बैंकहरुले हालै मात्रै १७ अर्ब ९५ करोड रुपैयाँ राष्ट्र बैंकसँग सापट्टी लिएका छन् । यो रकम ७ दिने व्याजमा चलाइने रकम हो । यसको ब्याजदर बैंकहरुले दर ५ प्रतिशतले तिर्नुपर्छ । अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्नका लागि वाणिज्य बैंकहरुले राष्ट्र बैंकसँग यस्तो रकम निकाल्न पाउँछन् । केही बैंकहरुले सोही अनुसार यो रकम लिएका हुन् । बैंकहरुले ऋणपत्र खरीदका लागि रकम लगानी गरेका छन् । उक्त रकम फिर्ता नभएका कारण राष्ट्र बैंकबाट सापटी रकम लिएर तरलता ब्यवस्थापन गर्न मिल्छ । विगतका बर्षहरुमा दशैंपछि तरलता अभाव बढ्ने गर्दथ्यो । तर अहिले भने कोभिडका कारण अधिकाँस मानिसहरुले आफ्नो दैनिकी चलाउनका लागि समेत कर्जा उपभोग गर्नुपरेको अबस्था छ ।
कुनै कम्पनीले विनासमस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बुझाउँछ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् । कम्पनीहरूले यी तिरो तिर्ने माध्यम नै नगद हो । कम्पनीहरूले नगद प्राप्त गर्ने माध्यम भनेको कम्पनीसँग रहेको नगद मौज्दात हो भने इन्भेण्ट्री, प्राप्त हुनुपर्ने नगदलगायत चालू सम्पत्तिलाई नगदमा परिणत गरेर पनि नगद प्राप्त गर्न सक्छन् ।
विकास बैंकहरुको कर्जा बृद्धि
विकास बैंकहरुको कर्जा बृद्धि भएको छ भने निक्षेप संकलनमा कमी आएको छ । डेभलपमेन्ट बैंकर्स एशोसियसनका अनुसार कर्जा प्रवाह बढाउँदै गएका विकास बैङ्कहरूमा निक्षेप सङ्कलनमा कमी आएको छ । पछिल्लो एक साताको अवधिमा चार खर्ब २९ अर्ब ३४ करोड ७२ लाख रुपियाँ कर्जा परिचालन भएको छ । राष्ट्रिय तथा क्षेत्रीयस्तरका विकास बैङ्कहरूमा कर्जाको माग बढेको छ । निक्षेप भने घट्दो क्रममा छ । एक सातामा १५ वटा विकास बैङ्कबाट दुई अर्ब २३ करोड ६० लाख रुपियाँ निक्षेप घटेको जनाइएको छ । डेभलपमेन्ट बैङ्कर एसोसिएसन नेपालका अनुसार यस अवधिमा राष्ट्रियस्तरका विकास बैङ्कहरूको एक अर्ब ७३ करोड ३० लाख तथा क्षेत्रीयस्तरका विकास बैङ्कहरूको ५० करोड ३० लाखले निक्षेप घटेको छ ।