२०७३ भाद्र १३ गते

सोमबारको नेप्से : डेढ अर्बको कारोबार, दुई कम्पनी-जसको सेयरमूल्य १० प्रतिशतले बढ्यो

economic 2सोमबार पनि सेयर बजार दोहोरो अंकले बढेको छ । चार घण्टाको अवधिमा नेप्से परिसूचक १८.३१ अंकले बढेर १७६६.५४ अंकमा कायम भएको छ । गत साताभर गिरावटको क्रममा रहेको सेयर बजार यो साताको सुरुको दिनदेखि नै बढ्ने क्रममा रहेको छ । समग्र बजार बढेपनि होटल र जलविद्युत् समूहमा भने लगानीकर्ताको आकर्षण घट्दो क्रममा रहेको पाइएको छ । आइतबार पनि घटेका यी समूहहरु सोमबार पनि घटेका छन् । होटल १७.४६ र जलविद्युत् ४.६५ अंकले घटेको छ । यीबाहेक सबै समूह बढेका छन् । बैंकिङ समूह २३.६२ अंकले बढ्दा विकास बैंक १७.३९ अंकले बढेको छ भने फाइनान्स ७.०५ अंकले बढेको छ । सबैभन्दा धेरै बीमा समूह ५५.८९ अंकले उकालो लागेको छ । उत्पादनमूलक र अन्य क्रमशः ३६.१४ र १.४४ अंकले बढेका छन् । 

कारोबार रकम पनि सुधारको क्रममा रहेको छ । सोमबार नेपाल स्टक एक्सचेन्जमा डेढ अर्बको सेयर कारोबार भएको छ । दिनभरिमा १ सय ४० वटा कम्पनीको २९ लाख ५७ हजार ६ सय ८ कित्ता सेयर ६ हजार ६ सय ५७ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ५० करोड ८६ लाख ३३ हजार १ सय ८९ रुपैयाँ बराबरको कारोबार भएको हो । कारोबार रकम आइतबारको तुलनामा झन्डै १५ करोड रुपैयाँले बढेको हो । आइतबार १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । कुल कारोबारमध्ये बैंकिङ समूहको मात्रै ७० करोडभन्दा माथिको सेयर कारोबार हुँदा विकास बैंकको पौने ११ करोड रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ भने फाइनान्सको सवा १ करोडभन्दा बढीको कारोबार भएको छ । 

कम्पनीगत आधारमा हेर्दा सबैभन्दा धेरै हिमालयन जेनेरल इन्स्योरेन्सको १८ करोड ८ट लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ भने एनबी बैंकको साढे ११ करोडभन्दा माथिको कारोबार भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्सको सवा ९ करोडभन्दा बढीको सेयर कारोबार हुँदा सिद्धार्थ बैंक र एनएमबी बैंकको ८ करोडमाथिको सेयर कारोबार भएको छ भने युनाइटेड इन्स्योरेन्सको झन्डै साढे ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईसी एसिया बैंकको ४ करोडमाथिको कारोबार हुँदा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १, नेपाल बैंक लगायतको ३ करोडमाथिको सेयर कारोबार भएको छ । 

बोटलर्स नेपाल र सिन्धु विकास बैंकका लगानीकर्ताले सोमबार १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने शाइन रेसुंगाका लगानीकर्ताले ९.८५ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनी, एनएमबी बैंक, निर्धन उत्थान बैंक, अपि पावर कम्पनी, वोमी माइक्रोफाइनान्स लगायतले पनि धेरै कमाएका छन् । यीबाहेक ४ वटा कम्पनीको सेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ । 

५८ वटा कम्पनीले अधिकतम ३.९८ प्रसिशतदेखि न्युनतम ०.०५७ प्रतिशतसम्मले गुमँएका छन् । गुमाउने कम्पनीहरुलाई लिड गर्दै सिद्धार्थ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सोमबार ३.९८ प्रतिशतका दरले गुमाएका छन् । राष्ट्रिय बीमा कम्पनी प्रोमोटर सेयर, कन्काई विकास बैंक र नेपाल ग्रामीण विकास बैंकका लगानीकर्ताले पनि ३ प्रतिशतभन्दा धेरैले गुमाएका छन् । ४ वटा कम्पनीका लगानीकर्ताले २ प्रतिशतमाथि, २३ वटा कम्पनीका लगानीकर्ताले १ प्रतिशतमाथि र बाँकी २७ वटा कमपनीका लगानीकर्ताले १ प्रतिशतभन्दा कमका दरले गुमाएका छन् सबैभन्दा कम गुमाउनेमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ता छन् ।