Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

घरजग्गा कारोबार : मूल्य निर्धारण बढ्यो, नयाँ मोडेलमा विक्रिवितरण हुँदै !

२०७८ भाद्र १ गते

बैंकिङ खबर/ नेपालमा पछिल्लो समय घरजग्गा कारोबार बढ्दै गएको छ । आर्थिक वर्षको सुरुवात हुनुअघिनै घरजग्गा किनबेच गर्ने चापले कारोबारमा नयाँ रेकर्ड बनाएको हो । गएको असार ३० गते बुधबार एकै दिन ५३ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागले नयाँ रेकर्ड बनाएको थियो । त्यससँगै नेपालमा कोरोना भाइरस नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो भएसँगै घरजग्गा कारोबार पनि फष्टाएको हो । यसअघि सामान्य समयमा देशभरका कार्यालयबाट दैनिक १० देखि २० करोड रुपैयाँसम्म राजस्व संकलन हुँदै आएको थियो । यसरी पछिल्लो समय घरजग्गा कारोबारले नयाँ रेकर्ड बनाउँदै आएको छ । अघिल्लो वर्ष पनि कोरोनाका काठमाडौंउपत्यकासहितका अधिकांश सहर ठप्प हुँदा घरजग्गा कारण समेत ठप्प भएको थियो । कोरोना संक्रमणको जोखिम बढेर मालपोत कार्यालयहरूले लिखत पास रोकेका थिए ।

लयमा फर्किँदै घरजग्गा कारोबार

कोरोना महामारीका कारण सुस्ताएको घरजग्गा कारोबार पुनः लयमा फर्किन थालेको छ । काठमाडौं उपत्यकासहित देशभर निषेधाज्ञा खुकुलो र चहलपहल बढ्न थालेपछि घरजग्गा कारोबारले नयाँ रेकर्ड बनाउन थालेको छ । यस्तै पछिल्लो समय घरजग्गा धितो राख्ने ऋणी पनि २५ प्रतिशतले बढेको छ । कोरोनाका कारण आर्थिक मन्दी भएकाले घरजग्गा कारोबार उच्च भएको छ । जसको फलस्वरुप घरजग्गा धितो राखेर ऋण लिएका ऋणीको संख्या २५.२९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ मा घरजग्गा क्षेत्रमा २१ खर्ब ४६ अर्ब २२ करोड ३५ लाख रुपैयाँ बैंक तथा वित्तिय संस्थाबाट कर्जा प्रवाह भएको थियो ।

त्यस्तै आव २०७७/७८ को साउन मसान्तदेखि जेठ मसान्तसम्ममा २६ खर्ब ८९ अर्ब १७ करोड ९८ लाख रुपैयाँ कर्जा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह भएको छ । जसमा आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा ५ खर्ब ६९ अर्ब १८ करोड ९२ लाख रुपैयाँ बढी कर्जा प्रवाह भएको हो । जुन गत वर्षको तुलनामा २५ प्रतिशतले बढी कर्जा प्रवा भएको हो । त्यस्तै, आव २०७५/७६ मा घरजग्गा कारोबारको लागि देशभरका बैंक तथा वित्तिय संस्थाले १८ खर्ब ७४ अर्ब ९१ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । उक्त तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा कोरोनाकै समयमै २ खर्ब ३४ अर्ब ५ करोड ६१ लाख रुपैयाँले बढी कर्जा प्रवाह भएको थियो । भूमि, व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरको मालपोत कार्यालयको रोक्का र फुकुवा तथ्यांकले पनि ऋणीको संख्या बढेको देखाउँछ ।घरजग्गा धितो बन्धक राखेर बैंकबाट कर्जा लिनेमध्ये करिब ४२ प्रतिशतले मात्रै आफ्नो घरजग्गाको फुकुवा गरेको विभागको तथ्यांकले उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा देशभरका मालपोत कार्यालयहरूमा कर्जाका लागि बन्धक राखेको धितो घरजग्गा रोक्का र फुकुवाको आँकडालले ४२ प्रतिशतलले फकुवा गर्न सकेका छैनन् भने ५८ प्रतिशतले मात्रै कर्जा समयमै चुक्ता गरी फुकवा गरेको छ । विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ५ लाख ४९ हजार ४८७ घरजग्गा धितो बन्धक राखेर ऋण लिएका छन् । उक्त ऋणीको संख्यामध्ये बैंकको ऋण चुक्ता गरेर धितो बन्धक राखेको घरजग्गा फुकुवा गर्नेको ऋणीको संख्या ३ लाख २० हजार २०७ मात्र रहेको छ ।

नयाँ मोडलमा विक्रिवितरण

पछिल्लो समय नेपालमा नयाँ मोडलमा घरजग्गा कारोबार हुन थालेको छ । यसमा नेपाल होम्स लगाएका कम्पनीहरुले काम गर्दै आएका छन् ।

घरजग्गा कारोबारलाई औपचारिक बनाउन विभिन्न पहल पनि भईरहेका छन् । रियलस्टेट व्यवसायीहरु पनि घरजग्गाको कारोबारमा अनिवार्य ‘ब्रोकर’ प्रणाली लागू गर्न माग गरिरहेका छन् । यसै क्रममा राजस्व परामर्श समितिले व्यावसायिक र आवासीय घरजग्गामा छुट्टाछुट्टै कर असुल्ने नीति बनाउन सुझाव दिएको छ ।

घरजग्गा व्यवसायले कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा ९.४३ प्रतिशत योगदान दिएको भन्दै राजस्व परामर्श समितिले यो क्षेत्रलाई औपचारिक बनाउन सुझाव दिएको हो । समितिले नीतिगत सुधारका लागि सुझावसहितको प्रतिवेदन बुझाईसकेको छ ।
‘घरजग्गा कारोबारमा संलग्न एजेन्सीलाई करको दायरामा समेट्नेसम्बन्धी अध्ययन, विश्लेषण प्रतिवेदन २०७७’ मार्फत समितिले दिएको सुझावमा विभिन्न विषयहरु समेटिएका छन् । समितिले घर कर्जाको सीमालाई बढाएर ३ करोड पुर्याउन सुझाव दिएको छ । यति मात्रै नभई, व्यक्तिगत घरकर्जा भन्दा जग्गा प्लानिङ गर्न स्वीकृति पाएको रियलस्टेट कम्पनीले बनाएका सामूहिक आवासलाई प्राथमिकतामा राखिनुपर्ने पनि समितिको सुझाव छ ।

यस्तै घरजग्गा रजिस्ट्रेसन शुल्क घटाउनुपर्ने, विदेशी नागरिकलाई पनि घरजग्गा खरिदको व्यवस्था हुनुपर्ने र हाउजिङ कम्पनीलाई उद्योगको मान्यता दिईनुपर्ने समितिको सुझाव छ । एजेन्सी भएर काम गर्न निश्चित धरौटी राखी इजाजतपत्र लिनुपर्ने व्यवस्था लागू गर्न समितिले भनेको छ । एजेन्टलाई निश्चित प्रतिशत कमिशन तोकेर बढी लिन नपाउने व्यवस्था गरिए घरजग्गा कारोबारबाट राजस्व छलीको जोखिम टर्ने समितिको प्रतिवेदनमा उल्लेख छ । बसोबास भवनको करको दायरा ५ प्रतिशतभन्दा कम तोक्न पनि समितिले सुझाव दिएको छ ।

प्राविधिक काम गर्ने विभागलाई घर जग्गाको मूल्य तोक्न दिन समितिले सुझाव दिएको छ । अहिले रहेका मूल्यांकनकर्तालाई प्राविधिक विभाग अन्तर्गत राखेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मोडलमा ‘मल्टिलिस्टिङ सिस्टम’ को प्रयोग गर्न समितिले सुझाव दिएको छ । घरजग्गा कारोबारमा ऋण प्रवाह गर्ने छुट्टै रियल स्टेट फाइनान्सिङ कम्पनी बनाउने र त्यस्ता फर्म तथा एजेन्सीहरू स्थानीय तहमा दर्ता गर्ने व्यवस्था मिलाउन समितिले भनेको छ ।

काठमाडौंमा घरजग्गाको मूल्यांकन

काठमाडौं महानगरपालिकाले जग्गाको नयाँ मूल्यांकन सार्वजनिक गरेको छ । महानगरले आर्थिक वर्ष २०७८÷७९ आर्थिक ऐन मार्फत् जग्गाको नयाँ मूल्यांकन जारी गरेको हो । महारनगरले आफ्नो क्षेत्र भित्र सम्पत्ति कर प्रयोजनका लागि जग्गाको मूल्यांकन गरेको हो । यो खरिद मूल्य भने होइन । खरिदकर्ताले महानगरको मूल्यांकन अनुसार जग्गा पाउन असम्भव छ । जग्गा किनबेच गर्दा महानगरलाई तिर्नुपर्ने राजश्व भने यही मूल्यांकनअनुसार बुझाउनुपर्छ ।

महानगरको मूल्यांकनअनुसार केशरमहल प्रवेशद्वारादेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडएका जग्गाहरु हनुमान ढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघर र सोदेखि पूर्व विश्वज्योति हल र तीनधारा पाठशाला, महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्मको जग्गाको मूल्यांकन प्रतिआना ५० लाख रुपैयाँ गरिएको छ ।

यस्तै, माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबारमार्ग, घण्टाघरदेखि कमलादी मोडसम्मका मूल सडकसँग जोडएका दायाँबायाँका जग्गाको पनि ५० लाख रुपैयाँ प्रतिआना मूल्यांकन गरिएको छ ।
जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल यायुसेवा निगम, गोश्वरा हुलाक, त्रिपुरेश्वसम्मको मूल सडकसँग जोडिएका दायाँबाँका जग्गाहरु र रत्नपार्क, पुरानो बसपार्क शहीगेटहुँदै सून्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेटहुँदै सून्धारा चोकसम्म, सिंहदारबार पश्चिमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँवायाँका जग्गाहरुको प्रति आना मूल्यांकन ५० लाख रुपैयाँ गरिएको छ ।
सबैभन्दा सस्तो जग्गाको मूल्यांकन महानगरको वडा नम्बर १४ मा गरिएको छ । वडा नम्बर १४ मा बाटो नभएको जग्गाको मूल्यांकन ५ लाख ५० हजार रुपैयाँ छ ।

यसरी लामो समय कोभिडका कारण चपेटामा परेको घरजग्गाको मूल्यमा कुनै किसिमको गिरावट भने आएको छैन । झन् पछिल्लो समय घरजग्गा मूल्य थप बढेको छ । सरकारले घरजग्ग्गाको रेट बढाएको छ । विकास निर्माणको काम नरोकिएका कारण निर्माणपछि घर, हाउजिङ, अपार्टमेन्ट, बुकिङ गर्ने काम जारी छ । निर्माण कार्य रोकिएको छैन । काठमाडौं उपत्यकामा घरजग्गाको कारोवार र कर्जा आवश्यक परेको कारण पनि कारोबारले निरन्तरता पाएको छ ।

 

 

 

 

 

 

Ad