साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा सवा १ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । दिनभरिमा १ सय ४१ वटा कम्पनीको १३ लाख १५ हजार ६ सय ४७ कित्ता सेयर ६ हजार २ सय ६० पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ३५ करोड ९१ लाख ७३ हजार २ सय ३४ रुपैयाँ बराबरको पुँजी परिचालन भएको हो । कुल कारोबारमध्ये बैंकिङ समूहको मात्रै ६३ करोड ६९ लाख रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ भने विकास बैंकको ११ करोड ९५ लाख र फाइनान्स समूहको सवा १ करोडभन्दा माथिको सेयर कारोबार भएको छ ।
नेप्से परिसूचक पनि आइतबार दोहोरो अंकले बढेको छ । बजार खुलेको आदि घण्टामै २७ अंकले बढेको बजार अन्ततः १७.६१ अंकको वृद्धिसँगै १७४८.२३ अंकमा पुगेर बन्द भएको छ । होटल र जलविद्युत्बाहेक सबै समूह उकालो लागेका छन् । बैंकिङ २३.७८ अंकले बढ्दा विकास बैंक १०.६८ अंकले बढेको छ भने फाइनान्स १५.३४ अंकले बढेको छ । सबैभन्दा धेरै बीमा समूह ५७.२६ अंकले बढेको छ । उत्पादनमूलक र अन्य क्रमशः ८.०५ र २.०३ अंकले बढेका छन् । होटल र जलविद्युत् भने क्रमशः २०.९३ र १२.१७ अंकले घटेका छन् ।
कारोबार रकमका आधारमा आइतबार लुम्बिनी जेनेरल इन्स्योरेन्स अग्रस्थानमा रहेको छ जसको १४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै, एनआईसी एसिया र स्टान्डर्ड चार्टर्ड बैंकको क्रमशः ११ करोड र साढे १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । एनबी बैंकको ८ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा प्रभु इन्स्योरेन्सको ६ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । एभरेष्ट बैंकको ४ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने युनाइटेड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएमबी बैंक लगायतको ३ करोडमाथिको कारोबार भएको छ ।
आइतबार कमाउनेमा प्रायःजसो बीमा कम्पनीहरु छन् । सबैभन्दा धेरै युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छ । हिमालयन जेनेरल इन्स्योरेन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः ९.९६ र ९.५९ प्रतिशतका दरले कमाएका छन् । नेपाल इन्स्योरेन्स, एनआईसी एसिया, सुर्या लाइफ इन्स्योरेन्स र लुम्बिनी जेनेरल इन्स्योरेन्सका लगानीकर्ताले पनि धेरै कमाएका छन् । यीबाहेक ६ वटा कम्पनीका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीका दरले आफ्नो सम्पत्ति बढाएका छन् ।
४८ कम्पनीका लगानीर्ताले ७ देखि ०.१३ प्रतिशतसम्म गुमाएका छन् । गुमाउनेमा धेरैजसो विकास बैंक र फाइनान्स कम्पनीका लगानीकर्ता छन् । सबैभन्दा धेरै युनियन फाइनान्सका लगानीकर्ताले गुमाएका छन् भने सबैभन्दा थोरै डिप्रोस्क डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । देवः विकास बैंक, कसमस डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स र नेको इन्स्योरेन्सका लगानीकर्ताले ३ प्रतिशतभन्दा बढीले गुमाएका छन् । ५ कम्पनीका लगानीकर्ताले २ प्रतिशतभन्दा बढीले गुमाएका छन् । २२ कम्पनीको सेयरमूल्य १ प्रतिशतभन्दा बढीले घट्दा बाँकी १५ कम्पनीको शेयरमूल्य सामान्य घटेको छ ।