२०७३ भाद्र १२ गते

झन्डै ६ खर्ब तरलता उठाउन राष्ट्र बैंकले खर्चियो ७१ करोड ८२ लाख रुपैयाँ 

business , e-commerceआर्थिक वर्ष २०७२/७३ मा नेपाल राष्ट्र बैंकले ५ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले पटक–पटक गरी विभिन्न उपकरणका माध्यमबाट उक्त तरलता उठाएको हो । नेपाल राष्ट्र बैंकका अनुसार उक्त अवधिमा निक्षेप बोलकबोलबाट मात्रै २ खर्ब ९७ अर्ब ५० करोड रुपैयाँ तरलता खिचिएको छ । त्यस्तै, रिभर्स रिपोमार्फत (टर्नओभरको आधारमा) २ खर्ब ३५ अर्ब ९५ करोड रुपैयाँ, नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत ४९ अर्ब ८ करोड रुपैयाँ तथा सोझै बिक्री बोल–कबोलमार्फत ९ अर्ब १० करोड रुपैयाँ तरलता प्रशोचन भएको छ । अघिल्लो वर्ष निक्षेप बोल–कबोलमार्फत १ खर्ब ५५ अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको थियो भने रिभर्स रिपोमार्फत ३ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ तथा सोझै बिक्री बोल–कबोलमार्फत ६ अर्ब रुपैयाँ तरलता प्रशोचन भएको थियो ।

विभिन्न उपकरणमार्फत उक्त अनुपातमा तरलता प्रशोचन गर्दा ब्याज लागत वापत नेपाल राष्ट्र बैंकले ७१ करोड ८२ लाख रुपैयाँ खर्च गरेको जनाएको छ । अघिल्लो वर्ष तरलता उठाउन राष्ट्र बैंकले १९ करोड ६ लाख रुपैयाँ व्याजवापत खर्चेको थियो । 

सो अवधिमा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ४ अर्ब ४५ करोड खुद खरिद गरी ४ खर्ब ७१ अर्ब ३५ करोड रुपैयाँ बराबरको खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४ अर्ब ३ करोड खुद खरिद गरी ३ खर्ब ९६ अर्ब ७२ करोड रुपैयाँ बराबरको खुद तरलता प्रवाह भएको थियो । त्यस्तै, उक्त एक वर्षको समयावधिमा अमेरिकी डलर ३ अर्ब ४० करोड र यूरो २१ करोड बिक्री गरी राष्ट्र बैंकले ३८५ अर्ब ४७ करोड बराबरको भा.रु. खरिद गरेको छ । अघिल्लो वर्षमा अमेरिकी डलर ३ अर्ब ५० करोड बिक्री गरी ३ खर्ब ४८ अर्ब ९ करोड बराबरको भा.रु. खरिद भएको थियो ।