२०७३ भाद्र ११ गते

वित्तीय क्षेत्रमा मर्जरको लहर : एक सय आठ संस्था गाभिएर बने ४३

Contract concludedवित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर नीति कार्यान्वयनमा आएसँगै मर्ज हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको छ । “बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी विनियमावली, २०६८” कार्यान्वयनमा आएपछि २०७३ असार मसान्तसम्ममा १०८ वटा बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा मर्ज भई ४३ वटा संस्था बनेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सो अवधिमा त्यसैगरी, दुई वाणिज्य बैंकले चारवटा वित्त कम्पनीहरू र एक विकास बैंकले अर्को एक विकास बैंक प्राप्ति (एक्विजिसन) गरेका छन् । 

नेपाल राष्ट्र बैंकका अनुसार, २०७३ असार मसान्तमा ११ वटा संस्थाहरू (२ विकास बैंक र ९ वित्त कम्पनीहरू) रिजोलुसनको प्रक्रियामा रहेका छन् । उक्त संस्थाहरूमा निक्षेप ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने कर्जा लगानी ६ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यी संस्थाहरूको खराव कर्जा करिब ९७.३ प्रतिशत रहेको छ भने समग्र पुँजीकोष करीब ३३.९ प्रतिशतले ऋणात्मक छ । 

मर्जर तथा प्राप्तिको परिणामस्वरुप यस बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७३ असार मसान्तमा १७९ रहेको छ । यस अनुसार २०७३ असार मसान्तमा २८ वाणिज्य बैंक, ६७ विकास बैंक, ४२ वित्त कम्पनी र ४२ लघुवित्त विकास बैंकहरु संचालनमा रहेका छन् । 

मर्जर तथा एक्विजिसनसम्बन्धि नीतिका कारण नेपालमा पक्कै पनि बैंकको संख्यामा कमि आएको छ । तर, बैंकको गुणस्तरीयता र सेवा सुविधा अभल सबल भएको छ । संस्थाको संख्या घटेपनि शाखा सञ्जाल घटेको छैन । बरु अझ बढ्दो क्रममा छ । ग्रामीण भेगासम्म पनि पुग्न बैंक तथा वित्तीय संस्थाहरुले शाखा तथा शाखारहित बैंकिङ सेवालाई अघि बढाएका छन् । २०७३ असार मसान्तको तथ्यांक हेर्दा नेपालका सबै बैंक तथा वित्तीय संस्थाहरुको गरेर कुल शाखा संख्या ४२७२ पुगेको छ भने यो संख्या अझ द्रुततर गतिमा बढ्ने क्रममा छ ।