
बैंकिङ खबर/मैलुङखोला जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपीओ) बिक्री खुल्ला भएको छ ।
बिहीबारदेखि खुलेको कम्पनीको आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछिको बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ । न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
रसुवा जिल्लामा बग्ने मैलुङखोलाबाट कम्पनीले ५ मेगावाट बिजुली उत्पादन गर्नेछ ।
लगत्तै तीन कम्पनीको आइपीओ आउँदै
मैलुङखोलापछि सानिमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त र सामलिङ्ग पावरको आइपीओ खुल्ने छ । साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा बिक्री खुल्ला हुने भएको छ । कम्पनीको आइपिओमा २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले कुल ६० लाख कित्ता सेयर सर्वसाधारण समूहको निष्कासन गर्न लागेको हो । जसमध्ये ३ लाख कित्ता कर्मचारीलाई र ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुने भएको हो ।
कम्पनीको आइपिओलाई केयर रेटिङले बीबीबी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनी आफ्नो दायित्व वहन गर्ने क्षमतामा औसत स्तरमा रहेको संकेत गर्छ। यस्तो रेटिङमा एएए सबैभन्दा राम्रो मानिन्छ भने डी सबैभन्दा कमजोर मानिन्छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी पछिबाट खुलेको जीवन बीमा कम्पनी हो । यसको प्रधान कार्यालय कमलादीमा छ ।
यस्तै सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात् ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
निष्काशन बन्द छिटोमा भदौ ४ गते हुनेछ भने ढिलोमा भदौ २० गते हुनेछ । त्यस्तै मानुषी लघुवित्तको आइपिओ साउन २७ देखि खुल्ने भएको छ । कम्पनीको आइपिओमा ३१ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ जारी गर्दैछ ।
जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ ।
यसमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।