
बैंकिङ खबर/मंगलबार सेयर बजारमा फेरि नयाँ रेकर्ड बनेको छ। नेप्से परिसूचकले सबैभन्दा उच्च विन्दुको कीर्तिमान बनाएको हो । गएको आइतबार तीन हजार ५८ विन्दुमा पुगेर कीर्तिमान बनाएको नेप्सेमा मंगलबार तीन हजार ७९ विन्दुको नयाँ कीर्तिमान बनेको छ ।
मंगलबार बैंकिङ, व्यापार, होटल र माइक्रोफाइनान्सबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से २९ दशमलव २४ अङ्कले बढेर तीन हजार ७९ दशमलव ६७ विन्दुमा पुगेको छ । विकास बैंक समूहको शेयर साढे ३५ अङ्कले बढेको छ ।
यस्तै जलविद्युत् समूहको एक सय १९ अङ्कले, फाइनान्स समूहको ७१ अङ्कले, जीवन बीमा समूहको दुई सय ६० अङ्कले, निर्जीवन बीमा समूहको एक सय २० अङ्कले, उत्पादन समूहको तीन सय पाँच अङ्कले, अन्यको ६० र लगानी समूहको शेयर तीन अङ्कले बढेको छ ।
दुई सय २५ कम्पनीका तीन करोड २३ लाख कित्ता शेयर १५ अर्ब १७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ४९ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
मल्टिपर्पोज फाइनान्स, खानी खोला हाइड्रो, युनाइटेड मर्दी हाइड्रो, नेपाल हाइड्रो, सिनर्जी पावर, जोशी पावर, घलेम्दी हाइड्रो, हिमालय ऊर्जा विकास कम्पनी, युनिभर्सल पावर र जानकी फाइनान्स गरी १० कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि सर्पोट माइक्रोफाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
जलविद्युतले उचाल्यो बजार
मंगलबारको सेयर बजारको उछालमा जलविद्युत समूह निर्णायक देखिएकाे छ । १० प्रतिशत हाराहारी मूल्य बढेर सर्किट ब्रेकर लागेका १४ कम्पनीमध्ये ११ वटा जलविद्युत कम्पनी नै रहेका छन्। बाँकी तीनवटा फाइनान्स कम्पनी रहेका छन्।
खानिखोला, युनाइटेड मोदी, नेपाल हाइड्रो डेभलपर, जोशी र घलेम्दी हाइड्रोको मूल्य १० प्रतिशतले बढेको छ। मल्टिपर्पोज, जानकी र पोखरा फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशत हाराहारी नै बढेको हो।
सर्वाधिक मूल्य घट्नेको सूचीमा भने लघुवित्त कम्पनीहरु अग्रस्थानमा छन्। सपोर्ट, उन्नती सुरक्षा, जनउत्थान, स्वाभिमान र समता लघुवित्तको सेयर मूल्य तीनदेखि पाँच प्रतिशतसम्म घटेको छ।