July 21st, 2021

मौद्रिक नीति सार्वजनिक गर्न राजनीतिक माहोलमा बग्नु हुँदैनः पूर्वगभर्नर


बैंकिङ खबर/पूर्वगभर्नरहरुले मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंक राजनीतिक माहोलमा बग्न नहुने बताउनुभएको छ । राष्ट्र बैंकका ६ जना पूर्वगभर्नरहरुले केन्द्रीय बैंकको स्वायत्ततालाई ध्यानमा राखेर कार्यक्रमहरु तय गर्न सुझाव दिनुभएको छ ।
राष्ट्र बैंकद्वारा बुधबार आयोजित आगामी मौद्रिक नीतिमा पूर्वगभर्नरहरुको भर्चुअल सुझाव संकलन तथा अन्तरक्रियामा पूर्वगभर्नरहरुले राजनीतिक माहोलअनुसार केन्द्रीय बैंकले आफ्नो नीति निर्देशन तथा कार्यक्रमहरु बनाउनु नहुने बताउनुभएको हो ।
राष्ट्रिय बैंकले मौन्द्रिक नीति सार्वजनिक गर्न विभिन्न संघसंस्थाहरुसँग सुझाव दिइरहेको छ । सोहि क्रममा बैंकले बुधबार पूर्व गभर्नरहरुसँग सुझाव लिएको हो । भर्चुअल छलफलमा पूर्वगभर्नरहरु–हिमालयन शमसेर जबरा, दिपेन्द्रबहादुर क्षेत्री, गणेशबहादुर थापा, भेषबहादुर थापा, दिपेन्द्रपुरुष ढकाल र तिलक रावल उपस्थित हुनुभएको थियो ।
राष्ट्र बैंकका तर्फबाट भने, गर्भनर महाप्रसाद अधिकारी, डेपुटी गर्भनरद्वय डा. निलम ढुङगाना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु डा. प्रकाश श्रेष्ठ, देवकुमार ढकाल, डा. गुणाकर भट्ट र निर्देशक नारायणप्रसाद पोखरेलको उपस्थित हुनुभएको थियो ।
पूर्वगभर्नरहरुले केन्द्रीय बैंकको स्वायत्ततालाई ध्यानमा राखेर कार्यक्रमहरु तय गर्न सुझाव दिनुभएको थियो ।
स्वायत्त निकाय भएपनि अर्थमन्त्रालयको निर्देशन पालना गर्नुपर्ने बाध्यता भएकाले स्थापना कालदेखि नै राष्ट्र बैंकले नामको मात्र स्वयत्तता उपयोग गरिरहेको पूर्वगभर्नरहरुको भनाइ थियो ।
राष्ट्र बैंकले ओली सरकारले ल्याएको बजेटको आधारमा मौद्रिक नीतिको मस्यौदा तयारी पारिसकेको छ । तर, नयाँ सरकारले उक्त बजेटलाई संशोधन गर्न सदन पेश गरिसकेको छ ।
सोही कारणले गर्दा अर्थमन्त्रालयलले संशोधित बजेटको नयाँ मस्यौदा तयार पारेपछि मात्र मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकका अधिकारीहरु उक्त छलफलमा बताउनुभएको थियो ।
यस्तै पूर्वगभर्नरहरुले गत आवको मौद्रिक नीतिले राम्रो फिण्डब्याक पाएको भएपनि साना तथा मझौला उद्योग व्यवसायमा त्यति ध्यान नपुगेको हुँदा आगामी मौद्रिक नीतिले सोलाई समेट्नुपर्ने सुझाव दिनुभएको थियो ।
आगामी मौद्रिक नीतिले साना तथा मझौला उद्योगी व्यवसायलाई फोकस गर्नुपर्ने आवश्यकता उहाँहरुको सुझाव थियो ।
यस्तै उहाँहरुले अर्थतन्त्रको आकार अनुसार बैंकको संख्या घटाउन पुँजी वृद्धिको नीति आवलम्बन गर्नुभन्दा यसअघिका प्रोत्साहित मर्जर नीति नै ल्याउन सुझाव दिनुभएको थियो ।
पूर्वगभर्नरहरुको मर्जर सम्बन्धी रायमा गभर्नर महाप्रसाद अधिकारीले नीतिगत व्यवस्थालाई कार्यान्वयन गराए नै बैंक मर्जर गराइने बताउनुभयो ।
छलफलमा बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले म्याक्रो इकोनोकिम फण्डामेन्टलको अवस्था र मौद्रिक नीतिको चुनौतीका विषयमा कार्यपत्र पेश गर्नुभएको थियो ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]