सेयर बजारमा उछाल, ११ अर्ब ६३ करोडको कारोबार


बैंकिङ खबर/नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । आइतबार सेयरबजारले झण्डै १०० अंकको छलाङ हानेको छ । आइतबार नेप्से परिसूचकका साथै कारोबार रकम समेत उल्लेख्यरुपमा बढेको छ । बजार सूचक नेप्से ९७ अंकभन्दा धेरैले उक्लिँदा २९८१ विन्दुनजिक पुगेको छ । ११ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि गत महिना असार ८ गते अन्तिमपटक १० अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो । झण्डै एक महिनापछि कारोबार रकम समेत १० अर्ब रुपैयाँ नाघेको हो ।

कसको कति बढ्यो ?

समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी ग्रुप, सिंगटी हाइड्रो इनर्जी र हिमालयन पावर पार्टनरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबारमा आएका २२१ कम्पनी मध्ये ९ कम्पनी बाहेक सबै कम्पनीको सेयर मूल्य बढेको छ ।मञ्जुश्री फाइनान्सको सर्वाधिक ४१ करोड रुपैयाँको सेयर किनबेच हुँदा नबिल बैंकको ३८ करोड ६३ लाख, अरुण भ्याली हाइड्रो पावरको ३७ करोड ६८ लाख, एनआइसी एसियाको ३५ करोड ३५ लाख र कामना सेवा विकास बैंकको ३४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
सबै उपसमूह हरियो भएको बजारमा जीवन बीमा समूह सर्वाधिक ६४८ अंकले बढेको छ । निर्जीवन बीमा समूह ४४१ अंक, विकास बैंक समूह २३३ अंक, लघुवित्त समूह १९० अंक, उत्पादन समूह १६५ अंक, र बैकिङ समूह ९२ अंकले बढेको छ ।


सोसिअल मेडिया