यो साता शेयर बजारमा ४ दिनमात्रै कारोबार भयो । साताको अन्तिम दिन विहिबार सार्वजनिक विदा भएकाले कारोबार भएन । बुधबार शेयर बजारमा १ अर्बमाथिको शेयर कारोबार भयो । नेप्से परिसूचक ४८.७६ अंकले बढेर १७३०.६२ अंकमा कायम भयो । गत साताको अन्तिम दिन नेप्से परिसूचक १७३५.०६ अंकमा थियो । यस आधारबाट हेर्दा, यो साताभरमा नेप्से ४.४४ अंकले घटेको छ । साताको अघिल्लो तीनै दिन घटेको शेयर बजार बुधबार मात्रै बढेको हो ।
साताको सुरुको दिनदेखि बजार क्रमिक रुपमा सुधारमा थियो । आइतबार ६८ करोडको मात्रै कारोबार भएको बजारमा सोमबार ८६ करोडको कारोबार भयो भने मंगलबार ८८ करोडको कारोबार भयो । तीनै दिन १ अर्बभन्दा मुनिको कारोबार भएको बजारमा बुधबार भने १ अर्बमाथिको कारोबार भयो । समग्रमा साताभर झन्डै साढे ३ अर्बको मात्रै कारोबार भयो । यो साता नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । साताभरमा यो बैंकको २७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एनबी बैंक, हिमालयन जेनेरल इन्स्योरन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स लगायतको पनि राम्रो कारोबार भएको छ । सुरुका दिनहरुमा न्यून आकर्षण रहेको बीमा समूहमा बुधबार आएर ह्वात्तै बढेको देखिन्छ । जलविद्युत्मा यो साता सबैभन्दा कम आकर्षण रह्यो । बैंकिङ समूहमा पनि लगानीकर्ताको विश्वास देखियो ।
साताको पहिलो दिन आइतबार जम्मा ३० कम्पनीका लगानीकर्ताले आफ्नो सम्पत्ति बढाए । सोमबार सो संख्या ९ मा झर्यो । मंगलबार ३६ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने बुधबार बजार ह्वात्तै बढेपछि धेरै जसो कम्पनीको शेयरमूल्य बढ्यो । सो दिनमा ५ वटा बीमा कम्पनीसहित ६ वटा कम्पनीो शेयरमूल्य १० प्रतिशतले बढ्यो । साताभरमा हाम्रो विकास बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, हिमालयन जेनेरल इन्स्योरेन्स लगायतका लगानीकर्ताले धेरै कमाए ।
साताको सुरुका दिन दिनमा धेरै कम्पनीका लगानीकर्ताले गुमाएपनि बुधबार सो संख्यामा उल्लेख्य सुधार देखियो । साताको अन्तिम दिन गुमाउनेम धेरैजसो विकास बैंक र फाइनान्स कम्पनीका लगानीकर्ता देखिए । मंगलबार गुमाउने कम्पनीहरुले अधिकतम ९.७७४४ प्रतिशतदेखि न्यूनतम ०.११९ प्रतिशतसम्म गुमाए । साताको आइतबार मिथिला लघुवित्तका लगानीकर्ताले सबैभनदा धेरै गुमाए भने सोमबार जेविल्स फाइनान्स, मंगलबार कालिका माइक्रोक्रेडिट र बुधबार कसमस डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाए । यीबाहेक बोटलर्स नेपाल, अरुण भ्याली हाइड्रो, रिडी हाइड्रो, वोमी माइक्रोफाइनान्स लगायतले पनि धेरै गुमाए ।
कसमस डेभलपमेन्ट बैंकका लगानीकर्ताले बुधबार १० प्रतिशतका दरले गुमाएका छन् । वोमी माइक्रोफाइनान्स, युनियन फाइनान्स, पोखरा फाइनान्स, अरुण भ्याली हाइड्रोपावर लक्ष्मी भ्यालू फण्ड लगायतका लगानीकर्ताले पनि गुमाएका छन् । यी बाहेक ८ वटा कम्पनीका लगानीकर्ताले १ प्रतिशतभन्दा बढीले गुमाएका छन् । बाँकी ८ वटा कम्पनीका लगानीकर्ताले सामान्य गुमाएका छन् ।
यो साता शेयर कारोबारको सुरुवात निराजनक रुपमा भएपनि क्रमिक रुपमिा सुधार आएको देखिन्छ । यसै साता पुँजी बजार सुधारका लागि नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डले विभिन्न निर्णयहरु लिए । नेप्सेले अक्सन कार्यविधि, ट्रेण्ड ग्यारेण्टी फण्ड विनियमावली र सूचीकरण विनियमावली बनायो । सूचीृत कम्पनीलाई सूचीकरण नविकरण समयमै गराउन निर्देशन दिइयो । धितोपत्र बोर्डले नगद लाभांस तथा शेयर नपरेको रकम फिर्ता भुक्तानी बैंक खाता मार्फत गर्ने सम्बन्धमा सम्पूर्ण शेयर रजिष्ट्रार, निष्काशन तथा विक्री प्रबन्धक तथा सुचिकृत कम्पनीहरुलाई कडा निर्देशन जारी गर्यो । नेपाल धितोपत्र बोर्डले सेयर लगानीकर्तालाई तीन दिन भित्र सेवा प्रदान गर्न निक्षेप सदस्य तथा शेयर रजिष्ट्रारहरुलाई ९ बुँदे निर्देशन दियो । यी सबै कदमहरुका कारण आगामी सातको शेयर बजारमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।



