Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बजेट खर्च गर्न नसक्दा ३ खर्ब बजेट फ्रिज !

२०७८ श्रावण १ गते

बैंकिङ खबर/ कोरोना महामारीकाबीचमा पनि सरकारले गत आर्थिक वर्ष ०७७÷७८ मा साढे ८ खर्ब राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार असार मसान्तसम्म सरकारले लक्ष्यको अधिकतम ९३.४१ प्रतिशत अर्थात् ८ खर्ब ५२ अर्ब ८० करोड ८८ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष सरकारले कुल ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ राजस्वको लक्ष्य राखेको थियो । आर्थिक वर्ष २०७७÷७८ को असार ३१ गते सरकारले वर्षभरिकै उच्च भुक्तानी गरेको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार सरकारले एकै दिन अधिकतम २९ अर्ब ६९ करोड माथिको भुक्तानी दिएको हो ।

यस्तो भुक्तानीमा असार ३१ गते नियमित अर्थात् चालु खर्च तर्फ ६ अर्ब ४२ करोड ५ लाख रुपैयाँ र पुँजीगत खर्च तर्फ अधिकतम १५ अर्ब ९७ करोड ७७ लाख भएको छ भने बाँकी ७ अर्ब २९ करोड ५५ लाख सरकारले वित्तीय व्यवस्थामा भुक्तानी दिएको महालेखाले जनाएको छ ।
यता आर्थिक वर्ष भरीको बजेट खर्चमा भने, सरकारले असार ३१ गतेसम्ममा कुल विनियोजित खर्चको ८०.०३ प्रतिशत अर्थात् ११ खर्ब ८० अर्ब १७ करोड ४ मात्र खर्च गर्न सकेको महालेखा कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट विनियोजन गरेको थियो ।

महालेखा नियन्त्रकका अनुसार गत आर्थिक वर्षको अन्तिम दिन चालु खर्च तर्फ कुल ८ खर्ब ५१ अर्ब ४५ करोड ७९ लाख अर्थात् विनियोजित बजेटको अधिकतम ८९.७३ प्रतिशत खर्च भएको छ भने, पुँजीगत खर्च तर्फ जम्मा २ खर्ब २७ अर्ब ७३ करोड ८४ लाख अर्थात् विनियोजित बजेटको ६४.५३ प्रतिशत खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षको पुँजीगत खर्चका लागि कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । वित्तीय व्यवस्था तर्फ भने, कुल १ खर्ब ७२ अर्ब ७८ करोड ७३ लाख बजेट विनियोजन गरिएकोमा असार अन्तिमसम्ममा कुल बजेटको ५८.४४ प्रतिशत अर्थात् १ खर्ब ९७ करोड ४१ लाख मात्र खर्च गरेको महालेखा कार्यालयले जनाएको छ । यस्तै, गैरकर तर्फ सरकारले चालु आर्थिक वर्षका लागि कुल ९९ अर्ब ८० करोड ९४ लाखको लक्ष्य राखेकोमा असार ३१ सम्ममा लक्ष्यको ६५.०४ प्रतिशत अर्थात् ६४ अर्ब २६ करोड ७१ लाख संकलन गरेको छ ।

करिब ३ खर्बको बजेट फ्रिज
सरकारले गत आवमा करिब ३ खर्बको बजेट खर्च गर्न सकेन । गत आर्थिक वर्ष आय व्ययसहित कुल अनुमति १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट छुट्याएको थियो । उक्त विनियोजित बजेटमध्ये आर्थिक वर्षको अन्तिम असार ३१ गतेसम्म सरकारले जम्माजम्मी ११ खर्ब ८० अर्ब १७ करोडको मात्र खर्च गर्न सकेको छ । यो सरकारको नियमित (चालु) खर्च, पुँजीगत (विकास) खर्च र साँवा ब्याज भुक्तानी (वित्तीय) खर्च समेत गरेर आएको एकमुष्ट खर्च हो । यसरी चालु आर्थिक वर्षका लागि छुट्याइएको खर्चमध्ये करिब ३ खर्ब रुपैयाँ बराबरको बजेट सरकारले खर्च गर्न सकेको छैन । बजेट खर्चको सोझै हिसाबले चालु आर्थिक वर्षको कुल बजेटको करिब २० प्रतिशतले हुन आउने २ खर्ब ९४ माथिको बजेट सरकारले खर्च गर्न नसकेको हो । यो रकम चालु आर्थिक वर्षका लागि फ्रिज हुने भएको हो ।

 

Ad