नेपाल राष्ट्र बैंकले सेयर धितोमा दिइने मार्जिन लेन्डिङमा कडाइ गरेको छ । अब बैंक तथा वित्तिय संस्थाले पछिल्लो १८० दिनको औषत मूल्य या प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको ५० प्रतिशत मात्र मार्जिन लेन्डिङ गर्न पाउने भएका छन् । हालसम्म बैंकहरुले सेयर मूल्यको ६० प्रतिशत हाराहारी मार्जिन लेन्डिङ गर्दै आएका थिए । यसअघि १८० दिनको औषत या प्रचलित बजार मूल्यमा जुन कम हुन्छ त्यसको आधारमा बैंकहरुले आफैं जोखिम मूल्याङ्कन गरि मार्जिन ऋण लगानी गर्न पाउने व्यवस्था थियो । केन्द्रिय बैंकले साउनमा जारी गरेको एकिकृत निर्देशनमा संसोधन गर्दै मार्जिन लेन्डिङ कम्तिमा १० प्रतिशत बिन्दुले घटाएको हो । मार्जिन ऋण दिइएको सेयरको मूल्य तल झरेमा बैंकले सात दिन भित्र मार्जिन कल गर्नु पर्नेछ । साथै यस्तो सेयरको मूल्य उकालो लाग्दा भने पुनर्मुल्याङ्कन गरेर ऋण थप गर्न पाइनेछैन ।
अरु केके भयो परिवर्तन ?
राष्ट्र बैंकले घर जग्गा तथा रियल स्टेटको सुरक्षणमा प्रदान गर्ने कर्जाको सिमा समेत घटाएको छ । रियल स्टेट धितोमा बजार मूल्य (फेयर मार्केट भ्यालु)को ५० प्रतिशत मात्र तथा आवासिय घर कर्जा ६० प्रतिशत मात्र दिन पाइने छ । त्यस्तै, बैंक तथा बित्तिय संस्थाले अनिवार्य एकाउन्टपेयी चेक काट्नु पर्ने रकमको सिमा पनि ५० लाखबाट ३० लाखमा झारिएको छ ।



