Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आगामी ४ वर्षमा पुँजीबजार नयाँ उचाइमा पुग्नेछः अध्यक्ष ढुंगाना

२०७८ असार २६ गते


बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नेपालको पुँजी बजारको विकासका लागि चार वर्षीय रणनीतिक योजना नै तर्जुमा गरी अगाडि बढेको बताउनुभएको छ ।

आगामी वर्षका लागि धितोपत्र बजार तथा वस्तु विनिमय सम्बन्धि आगामी नीति तथा कार्यक्रममा सुझाव संकलन गर्दै ढुंगानाले आगामी वर्षमा नै उक्त रणनीतिको करिब ४० प्रतिशत कार्य सम्पन्न हुने गरी नीति तथा कार्यक्रमको तर्जुमा गर्न लागिएको बताउनुभयो ।

उहाँले पूँजी बजारको विकास तथा विस्तारका लागि सबै पक्षको साथ भएमा आगामी केही वर्षमा नै नेपालको पुँजी बजारमा ठूलो संरचनात्मक परिवर्तन र सुधार भैँ अन्तर्राष्ट्रिय स्तरको बन्ने विश्वास लिएको बताउनुभयो । हाल नेपाल सरकारले पनि बजारको विकास तथा विस्तारका लागि उच्च प्राथमिकता दिएको बताउनुभयो।

बोर्डले नीतिगत सुधारको कामहरु पनि गरिरहेको बताउँदै गत वर्ष राखिएको लक्ष्यमा कोभिडको कारण ८० प्रतिशतमात्र उपलब्धी हासिल भएको उहाँले बताउनुभयो । बाँकी २० प्रतिशत आगमी वर्ष पूरा हुने उहाँले बताउनुभयो ।

आगामी वर्षको लागि बोर्डले झण्डै १ सय ६० वटा कार्यहरु तय गरेको पनि उहाँले जानकारी दिनुभयो । ती सबै काम बोर्डले समयमै गर्न सकेमा पुँजीबजार ४ वर्ष पछि नयाँ उचाइमा पुग्ने उहाँको भनाइ छ । उहाँले प्रदेश स्तरमा पनि स्टक ब्रोकर र संस्थागत स्टक कसरी दिन सकिन्छ त्यसमा पनि अध्ययन तथा छलफल गरिरहेको बताउनुभयो ।

बोर्डका का.मु. कार्यकारी निर्देशक विनय देव आचार्यले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीले चालु आ.व. को बोर्डको प्रगति समिक्षा, बजार सुधार तथा विकासका रणनीतिहरू र बोर्डको भावी योजना तथा प्राथमिकताका सम्बन्धमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

बोर्डका पूर्व अध्यक्ष डा. रेवत बहादुर कार्कीले बोर्डले बजार सुधार तथा विकासका लागि गरिरहेको कार्य प्रगतिको प्रशंसा गर्दै कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेञ्जलाई अनुमति प्रदान गर्नुपर्ने, सूचीकृत कम्पनी बढाउन पहल गर्नुपर्ने, बजारको स्थायित्वमा जोड दिनुपर्ने, नेपाल स्टक एक्सचेञ्जले क्षमता बढाउनुपर्ने, स्टक ब्रोकरलाई डिलरसिप र कर्पोरेट एडभाइजरी कार्य गर्न दिनुपर्ने, इक्विटी डेरिभेटिभ्सको व्यवस्था, बोर्डलाई आयकर नलाग्ने व्यवस्था गर्नुपर्ने लगायतका विषयहरूमा सुझाव दिनुभयो ।

कार्यक्रममा बोर्डका पूर्व अध्यक्ष दिपकराज काफ्लेज्यूले मर्जर तथा प्राप्ति, एडभाइजरी भूमिकासम्बन्धमा व्यवस्था गर्नुपर्ने र बजारको स्थायित्वका लागि जोड दिनुपर्ने धारणा राख्नुभयो ।

यस्तै प्रा.डा. राधेश्याम प्रधानले पूँजी बजारसम्बन्धी अध्ययन अनुसन्धान कार्यलाई विशेष प्राथिमकता दिनुपर्ने, अनुसन्धानमुलक लेख समेटिएको जर्नल प्रकाशनलाई निरन्तरता दिनुपर्ने, कम्प्लायन्सको पक्षलाई विशेष ध्यान दिनुपर्ने, सूचिकृत कम्पनीको वित्तीय विवरणको व्यवस्था तथा प्रवाहको व्यवस्थामा जोड दिनुपर्ने लगायतका पक्षहरूमा धारणा राख्नुभयो ।
यस्तै प्रा.डा. राजन बहादुर पौडेलले आधारभूत विश्लेषणका लागि तथ्याङ्कहरूको उपलब्धतामा सहजीकरण गर्नुपर्ने साथै बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएको हुँदा प्रशिक्षणमा विशेष ध्यान दिनुपर्ने विचार राख्नुभयो ।

कार्यक्रममा डा. गोपाल भट्टले कमोडिटिज डेरिभेटिभ्स बजारको शिघ्र सञ्चालन गर्नुपर्ने, पूँजी बजारमार्फत् म्युनिसिपल बण्डको विकास तथा बजार कारोबारका लागि अध्ययन गर्नुपर्ने र हकप्रद शेयर निष्काशन तथा कारोबारका लागि छुट्टै व्यवस्था गर्नुपर्ने विषयमा आफ्नो धारणा राख्नुभयो ।

बोर्डका पूर्व सदस्य नरबहादुर थापाले पूँजी बजारलाई राष्ट्रिय अर्थतन्त्र एवं अन्तर्राष्ट्रिय बजारसँग आबद्ध हुने गरी विकास गर्नुपर्ने, लगानीको औजारको विविधिकरण गर्नुपर्ने, ऋणपत्र बजारको विकास गर्नुपर्ने, बजारको गहिराई बढे अनुसार दायरा बढाउनुपर्ने सुझाव दिनुभयो ।

यस्तै अर्का वक्ता डा. केशब श्रेष्ठले बोर्डले आफ्नो नियमन संरचनालाई सुदृढ बनाउनुपर्ने, बजारमा प्रवेश गरेका नयाँ लगानीकर्ताहरूलाई बजारबाट विकर्षण हुन नदिनुपर्ने र प्रि आइपिओको व्यवस्था शिघ्र गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा मुक्ति अर्यालले लगानीकर्ताको संरक्षणका लागि छुट्टै एजेन्सीको स्थापना गर्नुपर्ने, कानुनी व्यवस्थाहरूमा स्पष्ट एवं सुदृढिकरण गर्नुपर्ने, नयाँ स्टक एक्सचेञ्जको स्थापना गर्नुपर्ने लगायतका विषयहरूमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

यस्तै अर्का वक्ता उपप्राध्यापक केपि पाण्डेले बोर्ड स्वतन्त्र हुनुपर्ने, संस्थागत सुशासनमा जोड दिनुपर्ने विचार राख्नुभयो । उप प्राध्यापक भरत सिंह थापाले जोखिम व्यवस्थापनका लागि उपकरणहरूको विकास गर्नुपर्ने र समावेशी पूँजी बजारको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनालीज्यूले बजारको पहुँच विस्तारका लागि आधिकारिक प्रतिनिधिको व्यवस्था शिघ्र गर्नुपर्ने, धितोपत्र दलाललाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्दा निश्चित प्रतिशत शेयर सार्वजनिक निष्काशन गर्न दिनुपर्ने तथा ऋणपत्र बजारको विकास गर्नुपर्ने बताउनुभयो ।

मर्चेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले बजार सहभागीको क्षमता अभिवृद्धि गर्नुपर्ने, स्वस्थ प्रतिष्पर्धालाई जोड दिनुपर्ने तथा प्रशिक्षण संस्था स्थापना गर्नुपर्ने धारणा राख्नुभयो ।

यस्तै सिडिएससिका पूर्व कार्यकारी प्रमुख देव प्रकाश गुप्ताले अलर्ट सिस्टम सहितको सुपरिवेक्षण प्रणाली विकास गरी सोलाई प्रभावकारी बनाउनुपर्ने, संस्थागत सुशासन अभिवृद्धिमा जोड दिनुपर्ने, नेप्से सूचकांक गणना विश्वसनिय बनाउनुपर्ने बताउनुभयो ।

नेप्सेका कार्यकारी प्रमुख चन्द्र सिंह साउदले इन्ट्राडे ट्रेडिगं, ओटिसी बजार प्रभावकारी बनाउने तथा एसएमइज बजारको स्थापना गर्नुपर्नेमा जोड दिँदै संस्थागत ब्रोकर राख्नुपर्ने, पेमेन्ट गेटवेलाई स्थापना गर्नुपर्ने लगायतका विषयमा धारणा राख्नुभयो।

यस्तै सिडिएससिका कार्यकारी प्रमुख पुण्य प्रसाद आचार्यले सरकारी ऋणपत्रको अभौतिकीकरण गर्ने अवस्था बनेको बताउनुभयो ।

कार्यक्रममा लगानीकर्ता संघसंस्थाका प्रतिनिधि उत्तम अर्याल, छोटेलाल रौनियार र हरि ढकालहरूले भित्री कारोबार नियन्त्रण गर्नुपर्ने, सिडिएस र टिएमएस प्रभावकारी बनाउनुपर्ने, नेप्सेको वेबसाइटमा सबै कुराहरू उपलब्ध हुनुपर्ने, धितोपत्र बजारको प्रविधि लगानीकर्तामैत्री बनाउनुपर्ने, बोर्डले नियमनको पाटोलाई प्राथमिकतामा राखी निरन्तर रूपमा बलियो तवरले बजारको नियमन गर्नुपर्ने, बजार विकास तथा विस्तारका लागि नियमनकारी निकायबिच समन्वय हुनुपर्ने र तथ्यहिन र भ्रामक समाचार प्रसारण हुने सञ्चार माध्यम तथा सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्ने जस्ता सुझावहरू दिनुभएको थियो ।

महामारीको रूपमा फैलिएको कोरोनाको असर, लकडाउन अवधिमा पनि बजारको विकास तथा विस्तारका लागि बोर्ड निरन्तर लागिहरको बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कार्यक्रममा प्राप्त सुझावहरू बोर्डका लागि मार्गदर्शक भएको बताउनुभयो ।

कार्यक्रमको सञ्चालन बोर्डका का.मु उप कार्यकारी निर्देशक नारायण प्रसाद शर्माले गर्नु भएको थियो ।

Ad