नेपाल स्टक एक्सचेञ्ज नेप्सले अक्सन कारोबार कार्यविधि, ट्रेड ग्यारेन्टी फण्ड विनियमावली र सूचिकरण विनियमावली तयार गरेको छ । नेप्सेले सो कार्यविधि तयार पारेर स्वीकृतिका लागि धितोपत्रबोर्डमा पठाएको जानकारी दिएको हो । बजार संचालन थप सहज र प्रभावकारी बनाउने उद्देश्यले नेप्सेले उक्त विनियमावली र कार्यविधि तयार गरेको जनाएको छ । धितोपत्र बोर्डले स्विकृति दिएपछि उक्त कार्यविधि कार्यान्वयनमा आउने छ ।
अक्सन विधि किन ?
नेप्सेले शेयर कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यमा सुनिश्चता प्रदान गर्न लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले अक्सन कार्यविधि तयार पारेको बताएको छ । यसले दोस्रो बजारमा भएको कारोबारमा मौज्दात कम देखिएमा सदस्य दलाललाई न्यून शेयर पूर्ति गर्न अक्सन मार्केटले सघाउ पुर्याउने नेप्सेको भनाई छ । यो कार्यविधिमा सदस्य दलालले ग्राहकको आदेश अनुसार खातामा मौज्दात भए मात्र आदेश कार्यान्वयन गर्न पाउने व्यवस्था गरिएको छ । मौज्दात नभए अक्सन मार्केटबाट खरिद गरी खरिदकर्तालाई शेयर दिनु पर्ने छ ।
अक्सन मार्केटमा भएको कारोबारको राफसाफ कारोबार भएको भोलिपल्ट हुने व्यवस्था गरिएको छ । अक्सन मार्केट प्रत्येक आईतबार देखि बिहीबारसम्म ३ः३० बजे देखि ४ः३० बजेसम्म र शुक्रबार ११बजे देखि १२ बजेसम्म संचालन गर्ने तयारी नेप्सेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी नेप्सेबाट सदस्यता प्राप्त सम्पूर्ण सदस्य व्यवसायीहरु अक्सन मार्केटको कारोवारमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
ट्रेड ग्यारेन्टी फण्ड विनियमावली किन ?
सदस्य दलालहरुले गरेको कारोबार समयमै राफसाफ गर्न खरिदकर्ता ग्राहकले रकम नबुझाएमा वा ढिला गरेमा समयमै कारोबार राफसाफ गर्न सहज बनाउने अभिप्रायले कोष संचालन गर्न ट्रेड ग्यारेन्टी फण्ड विनियमावली तर्जुमा गरिएको नेप्सेले विज्ञप्तिमार्फत जनाएको छ । खरिद आदेश दिने लगानिकर्ताले कुनै कारणबश खरिद रकम नबुझाएमा सदस्य दलालले सम्पन्न गरेको कारोबार समयमा नै राफसाफ गर्न लगाउन आवश्यक वा नपुग रकम ऋण स्वरुप यो कोषले उपलब्ध गराउनेछ । यस्तो ऋण कारोवार रकमको पचहत्तर प्रतिशतसम्म मात्र बढीमा सात दिनको लागि उपलब्ध गराइने छ ।
ट्रेड ग्यारेन्टी फण्डवाट सुविधा प्राप्त गर्न सिडिएससी र राफसाफ सदस्यवीच सम्झौता गर्नु पर्ने व्यवस्था गरिएको छ । यो फण्डबाट ऋण स्वरुप प्राप्त गरेको रकम फिर्ता भुक्तानी गर्दा तोकिएअनुसारको ब्याजदरले हुन आउने ब्याज रकम समेत बुझाउनु पर्ने लगायतका व्यवस्था गरिएको छ ।
साथै नेप्सेले बजारको मागलाई ध्यानमा राखी नयाँ सूचिकरण विनियमावली तयार पारेको समेत जानकारी दिएको छ ।
