साताको सुरुदेखि नै निराशाजनक रहेको शेयर बजारले बुधबार रङ फेरेको छ । धेरै दिनको अन्तरालपछि बुधबार नेपाल स्टक एक्सचेन्जमा १ अर्बमाथिको कारोबार भएको छ । ४ घण्टाको कारोबार अवधिमा १ सय ४२ वटा कम्पनीको ११ लाख १३ हजार १ सय ६५ कित्ता शेयर ५ हजार १ सय १५ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब २ करोड ३२ लाख ६३ हजार ४ सय १८ रुपैयाँ बराबरको पुँजी परिचालन भएको हो । कुल कारोबारमध्ये बैंकिङ समूहको मात्रै पौने ३३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने विकास बैंकको झन्डै १४ करोड र फाइनान्सको २ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार बीमा समूहमा लगानीकर्ताको राम्रो आकर्षण रहेको पाइएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्सको सबैभन्दा धेरै साढे १० करोडभन्दा माथिको शेयर कारोबार भएको छ । एनबी बैंकको ४ करोड ९४ लाख रुपैयाँको कारोबार हुँदा सिद्धार्थ डेभलपमेन्ट बैंकको पौने ५ करोड र इन्भेष्टमेन्ट बैंकको झन्डै साढे ४ करोड रुपैयाँको कारोबार भएको छ । नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र एभरेष्ट बैंकको कारोबारले ३ करोड रुपैयाँ नाघेको छ भने प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्सको प्रोमोटर शेयर लगायतको २ करोडमाथिको कारोबार भएको छ ।
युनाइटेड इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, सुर्या लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र लुम्बिनी जेनेरल इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । एभरेष्ट इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र हिमालयन जेनेरल इन्स्योरेन्सको शेयरमूल्य क्रमशः ९.९९, ९.९८, ९.९८ र ९.९७ प्रतिशतले बढेको छ । यीबाहेक ७ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
गुमाउने कम्पनीहरुमा धेरैजसो विकास बैंक र फाइनान्स कम्पनीका लगानीकर्ता छन् । कसमस डेभलपमेन्ट बैंकका लगानीकर्ताले बुधबार १० प्रतिशतका दरले गुमाएका छन् । वोमी माइक्रोफाइनान्स, युनियन फाइनान्स, पोखरा फाइनान्स, अरुण भ्याली हाइड्रोपावर लक्ष्मी भ्यालू फण्ड लगायतका लगानीकर्ताले पनि गुमाएका छन् । यी बाहेक ८ वटा कम्पनीका लगानीकर्ताले १ प्रतिशतभन्दा बढीले गुमाएका छन् । बाँकी ८ वटा कम्पनीका लगानीकर्ताले सामान्य गुमाएका छन् ।
शेयर कारोबारसँगै बुधबार नेप्से परिसूचक पनि दोहोरो अंकले उकालो लागेको छ । दिनभरिमा ४८.७६ अंकले बढेर शेयर बजार १७३०.६२ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूहहरु बढेका छन् । बीमा समूहले ५५६.६२ अंकको वृद्धि हासिल गर्दै नयाँ रेकर्ड कायम गरेको छ । बैंकिङ समूह ३९.७६ अंकले बढेको छ भने विकास बैंक र फाइनान्स क्रमशः ३८.१७ र १०.४५ अंकले बढेका छन् । होटल, जलविद्युत्, उत्पादनमूलक र अन्य क्रमशः ८९.५४, ४७.६६, ६.८२ र ९.२५ अंकले बढेका छन् ।




