बैंकिङ खबर/अंकित मूल्य एक सय रूपैयाँमै पाइने आइपीओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ । यसअघि खुलेका कम्पनीमा परेको आवेदनले पनि यसलाई पुष्टि गरेको छ ।
अझ कम्पनीहरुले जारी गर्ने साधारण सेयरमा पछिल्लो समय २१ लाख बढीले आवेदन दिन थालेका छन् । यद्यपि यो संख्या दोस्रो बजारमा भने ६ लाखको हाराहारीमा मात्र छ । सानो लगानीमा पनि राम्रो मुनाफा आर्जन गर्न सक्ने भएकाले पछिल्लो एक वर्षमा यो संख्या उल्लेख्य रुपमा बढेको हो ।
यसैबीच धितोपत्र बोर्डका अनुसार आइपीओ निष्कासनका लागि लघुवित्त, जीवन बीमा र जलविद्युत कम्पनी गरि २१ वटा कम्पनी लाइनमा छन् । बाँटफाँट ढिलो आइपीओ खुल्ने क्रम छिटो हुने देखिएको छ ।
१५ वटा हाइड्रोपावरसहित तीन जीवन बीमा, दुई लघुवित्त र एउटा अन्य समूहको कम्पनीहरु आइपीओ जारी गर्न लाइनमा रहेको बोर्डले जनाएको छ । पहिले पहिले थोरै कम्पनीका आइपीओ आउने र बाँडफाँट छिटो हुन्थ्यो । अब धेरैको छिटो छिटो आउने भएपछि एउटाको बाँडफाँट र दोस्रो बजार कारोबार सुरु नहुँदै अर्कोको आवेदन खुला हुने भएको छ ।
सेयर बजारमा नयाँ लगानीकर्ता पनि निकै बढेका छन् । दिनदिनै डिम्याट खाता खुल्ने, मेरो शेयर आइडी लिने, टीएमएस युजर लिने पनि बढेका छन् ।
करिब दुई महिना लामो निषेधाज्ञाका कारण आइपीओ निष्कासनको प्रक्रिया पनि अवरुद्ध भएपछि एकसाथ धेरै कम्पनीको आइपीओ जारी गर्न लागेको हो ।
अहिले जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट नहुँदै मनकामना स्मार्ट लघुवित्तको आइपीओ बिक्रीमा राखिएको छ भने युनियन लाइफको आइपीओ पनि यी दुई कम्पनीको बाँडफाँट नहुँदै असार २४ गतेदेखि निष्कासन हुने तय भइसकेको छ । यसले पनि आगामी दिनमा एक साथ धेरै कम्पनीको आइपीओ आउन सक्ने संकेत गरेको छ ।
मध्य–भोटेकोसी, तेह्रथुम पावर र युनियन लाइफले आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाइसकेका छन् । यी मध्ये युनियन लाइफले असार २४ गतेबाट ६४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कर्मचारी र सामूहिक लगानी कोषसहित सर्वसाधारणलाई जारी गर्ने तय भइसकेको छ ।
मध्य–भोटेकोसीको एक अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर स्थानीय प्रभावितलाई बिक्री खुला गरिसकेपछि निषेधाज्ञा भएका कारण बीचमै रोकिएको थियो । अब पहिलो चरणमा स्थानीय प्रभावितलाई बिक्री नगरेसम्म सर्वसाधारणका लागि यो सेयर बिक्री खुल्ला गर्न पाइने छैन ।
तेह्रथुम पावरले भने निषेधाज्ञा खुकुलो भएपछि एक करोड २० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति पाएको छ। तर सर्वसाधारणलाई सेयर जारी गर्ने मिति भने टुंगो लाग्न बाँकी छ ।
अन्य १३ वटा हाइड्रोपावर, दुई जीवन बीमा कम्पनी र दुई लघुवित्त कम्पनीको आइपीओ भने अनुमति पाउने प्रक्रियामै रहेको बोर्डले जनाएको छ ।
प्रक्रियामा रहेका हाइड्रोपावरहरुमा सयपत्री, अपर सोलु, दोर्दी खोला, अपर हेवाखोला र ग्रीन भेन्चर हाइड्रोपावर कम्पनीको निवेदन पहिलो चरणमा छ। अनुमति उन्मुख रहेका कम्पनीहरुमा मलुङ खोला, विन्ध्यवासिनी, सामलिङ पावर, हिमालयन, बलेफी, बुद्धभूमि र साहस ऊर्जा जलविद्युत छन् ।
आइपीओ सम्बन्धि थप सामग्रीहरु
सेयर बजारमा प्रवेश गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आईपीओ भर्ने सरल टिप्सहरु र आइडियाहरु
कसरी भर्ने आईपीओ ? नयाँ लगानीकर्ताले अपनाउनुहोस् यस्तो प्रक्रिया ?