Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘पुँजी बजारलाई थप प्रविधिमैत्री बनाउँदै लैजानेछौं’

२०७८ असार १६ गते

भिष्मराज ढुंगाना
अध्यक्ष, नेपाल धितोपत्र बोर्ड

पछिल्लो समय नेपालमा वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गइरहेको छ । अझ कोरोना महामारीको यो बेलामा प्रविधिको आवश्यकता यति धेरै बढेर गएको छ कि हामीले यसलाई कुनै न कुनै हिसाबले आत्मसाथ नगरी सुख नै छैन ।
प्रविधिमा हाम्रो डिपेन्डेन्सी बढ्दै गएको छ । गएको साउनदेखि पुँजी बजारमा अनलाइनबाट काम गर्न सक्ने बनाइसकेपछि यसले नयाँ फड्को मारेको छ ।
अहिले प्राथमिक बजार असाधै बढेको छ । दोस्रो बजार पनि धेरै नै बढेको छ । लगानी कर्ताहरु बजारमा धेरै प्रवेश गरेका छन् । सकृय लगानीकर्ता पनि बढेको छ । जसले गर्दा सानो सानो कारोबार गर्दा गर्दा अहिले बजारमा अरबौँको कारोबार भइसकेको छ ।
बजारलाई आगामी दिनमा अझै यात्रीकरण बनाउँदै अभ्यस्त बनाउनेछौं । हाम्रा लगानीकर्ताहरुलाई प्रविधिमैत्री बनाउँदै लैजानेछौं ।
पुँजी बजारमा जति पनि सहभागिहरु हुनुहुन्छ । उहाँहरुलाई अझै घर बसीबसी विश्वको जुनसुकै कुनाबाट, जुनसुकै ठाउँबाट कारोबार गर्न सक्ने बनाउने दिशामा हामी लागि रहेका छौं ।

अर्कोतर्फ बोर्डले आफ्नो गतिविधिहरूलाई मुख्यतः तीन क्षेत्रमा जोड दिएको छ । पहिलो, बजारको संरचनात्मक सुधार तथा परिवर्तन, दोस्रो, कानुनी तथा नीतिगत पक्षहरूको सुदृढिकरण र तेस्रोमा बोर्डको नियमन तथा सुपरिवेक्षकिय क्षमता अभिवृद्धि । यि सबै पक्षलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ भन्नेतर्फ हाम्रो विशेष चासो र प्राथमिकता रहि आएको छ । चालु आर्थिक वर्षमा बोर्डले कोरोना महामारीको जटिल परिस्थितिका बाबजुत देहायका पक्षहरूमा सुधार गर्न सकेको छ । बोर्डले धितोपत्र दलाल व्यवसायी शुल्कमा स-साना लगानीकर्ताको लागि ६० प्रतिशत र अन्य लगानीकर्ताको हकमा करिब घघ प्रतिशत, ऋणपत्र कारोबार शुल्कमा ५० प्रतिशतले कटौति गरेको छ ।

धितोपत्र व्यवसायीले आफ्नो खुद मुनाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । धितोपत्रको कारोबारको राफसाफ चक्रको अवधि T+3 लाई घटाई T+2 बनाएको छ । बोर्डको अनुगमन तथा सुपरिवेक्षण मोडालिटिलाई प्रभावकारी बनाउने सन्दर्भमा जोखिममा आधारित सुपरिवेक्षण निर्देशिका तर्जुमा गरी लागू गरिएको छ ।

बोर्ड र नियमन व्यवस्था तथा पुँजी बजारलाई प्रविधिमैत्री बनाउन SEBON ICT Operation Manual, 2020 तथा E-KYC लागू गरिएको छ भने सूचीकृत कम्पनी तथा बजार सम्बद्ध पक्षहरूद्वारा हुने विवरण प्रवाहका लागि भौतिक रूपमा कागजात पठाउनुपर्ने व्यवस्थालाई हटाई आधुनिक Electronic Reporting and Retrieval System-ERRS को विकास गरी Online बाटै पठाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ।

धितोपत्रको प्राथमिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारणको व्यवस्था गरी वास्तविक क्षेत्रका कम्पनीहरूलाई पुँजी बजारमार्फत पुँजी परिचालनका लागि आकर्षित गर्न बुक बिल्डिगं विधि लागू गरिएको छ। धितोपत्रको दोस्रो बजारमा संस्थागत लगानी बढाउन नागरिक स्टक डिलरलाई भित्र्याइएको छ। पूँजी परिचालनमा नयाँ संयन्त्रको विकास गर्ने उद्देश्यले पाँचवटा विशिष्टिकृत लगानी कोषहरूलाई सहमति प्रदान गरिएको छ।

दोस्रो बजारको पहुँच देशव्यापी बनाउनका लागि धितोपत्र दलाल व्यवसायीको शाखा विस्तार गर्न शुरू गरिएको छ।पहिलोपटक सूचीकृत कम्पनीका पूर्व सञ्चालकलाई सूचिकृत संगठित संस्थाको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ बमोजिम कारवाही गरिएको छ।यस्तै नियमानुसार वित्तीय विवरण पेश नगर्ने केही सूचीकृत कम्पनीको कारोबार रोक्का राख्ने गरिएको छ भने नेप्से र सूचीकृत कम्पनीलाई महत्वपूर्ण वित्तीय परिसुचकहरू आफ्नो वेबसाइटमा राख्न निर्देशन दिइएको छ।

बोर्डबाट धितोपत्र बजार सम्बन्धमा अध्ययन, नियमन तथा सुपरिवेक्षण गर्नुका साथै लगानीकर्ता मैत्री नीति नियम तर्जुमा गर्ने र भएका व्यवस्थाहरुमा समसामयिक पुनरावलोकन गर्ने कार्य हुदै आईरहेको छ।

बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्नेतर्फ पनि हामीले पहलकदमी लिएका छौं । खासगरी चार वर्षीय रणनीतिक योजनाः पूँजी बजारको दिगो एवं व्यवस्थित विकासका लागि बोर्डले प्रथम पटक चार वर्षीय रणनीतिक योजना (2020/21-2023/24) तयार गरी कार्यान्वयनमा लगेको छ।

बोर्डको नयाँ Organization and Management Survey लागूः बोर्डको बढ्दो कार्यक्षेत्र र जिम्मेवारीलाई वहन गर्न सक्ने गरी Organization and Management Survey नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भएकोमा सो अनुसारको नयाँ संरचना लागू गरिएको र जनशक्ति व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको छ।

Toronto Centre सँग सम्झौताः बोर्डको कर्मचारीको व्यवसायिकता तथा क्षमता अभिवृद्धिका लागि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिष्ठित तालिम प्रदायक संस्था Toronto Centre सँग आगामी तीन वर्षका लागि साझेदारी गर्ने सम्बन्धमा सम्झौता गरिएको छ।

ICAN सँग सम्झौताः सूचना आदान प्रदान एवं पारस्परिक सहयोगका लागी नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबिच MoU गरिएको छ।

बजारको स्वरूपमा व्यापक परिवर्तन हुँदै जाँदा हामीमा थपिने अर्को चुनौति भनेको सर्वसाधारणको पूँजी बजारसम्बन्धी साक्षरता हो। साक्षर एवं विवेकशिल लगानीकर्ता तयार पार्नका लागि बोर्डले हालको प्रशिक्षणसम्बन्धी कार्यक्रमको मोडललाई पनि परिवर्तन गर्दै व्यापक र प्रभावकारी बनाउने योजनाकासाथ हामी अघि बढेका छौं।

नेपाल सरकारद्वारा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट वक्तव्यमार्फत सामूहिक लगानी कोषको आयमा कर नलाग्ने व्यवस्था गर्ने र लगानीकर्ताहरूले सेयर धारण गरेको अवधिका आधारमा पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने विगत ६\७ वर्ष अघिदेखी बजारबाट निरन्तररूपमा राखिदै आएको माग समेत सम्बोधन भएको छ ।

प्रस्तुत बजेटले पुँजी बजारको विकास र स्थायित्वमा जोड दिइने तथा आगामी वर्षदेखि वस्तु विनिमय बजार कारोबार संचालन गरिने कार्यक्रम समावेश भएकोमा उक्त कार्यक्रम बोर्डले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने/गराउनेछ । आ.व. २०७८/७९ को बजेटमार्फत् पूँजी बजार सुधार र विकासका लागि नेपाल सरकार प्राथमिकता दिएको छ । 

(मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सवमा अध्यक्ष ढुंगानाले राख्नुभएको मन्तव्यको सम्पादित अंश । )

Ad