
बैंकिङ खबर/निरन्तर रुपमा ओरालो लागेको सेयर बजार मंगलबार भने बढेकाे छ । गत ५ दिनको कारोबारमा १८८ बिन्दुले ओरालो लागेको बजार मंगलबार भने ७९.४३ अंकले उकालो लागेको छ । जुन साेमबारको तुलनामा २.८० प्रतिशतले बढेर २९१३.८४ बिन्दुमा पुगेको छ ।
गत मंगलबार नेप्से परिसूचक ३०२२ बिन्दुमा रहेको थियो । त्यसपछि ५ दिनको कारोबार अर्थात हिजो सोमबारसम्ममा निरन्तर घटेर २८३४.४१ बिन्दुमा झरेको थियो । यो अवधिमा नेप्से परिसूचक १८८ बिन्दुले घटेको थियो । यसरी निरन्तर ओरालो लागेको बजारमा मंगलबार भने एकाएक उच्च अंकले बढेको छ ।
मंगलबारको बजारमा नेप्से परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । बजारमा कारोबार रकम १० अर्ब २८ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिन साेमबारको तुलनामा एक अर्ब ३३ करोड रुपैयाँले घटी हो । अघिल्लो दिन अर्थात सोमबारको बजारमा कूल ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको भएको थियो । मंगलबारको बजारमा एकैदिन २९ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।
मंगलबार बैंकिङ समूहको शेयर ४४ अङ्कले र विकास बैंक समूहको शेयर दुई सय ५१ अङ्कले बढेको छ ।
यस्तै व्यापारको २१, होटलको एक सय नौ, जलविद्युतको एक सय ५०, फाइनान्सको एक सय २७, माइक्रोफाइनान्सको ६४, जीवन बीमा समूहको तीन सय ८७, निर्जीवन बीमा समूहको तीन सय ७५, उत्पादनको एक सय ६२, अन्यको ३४ र लगानी समूहको शेयर एक सय ११ अङ्कले बढेको छ ।
आज दुई सय २५ कम्पनीका एक करोड ९७ लाख कित्ता शेयर १० अर्ब २८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब ४९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
आज पाँच वटा कम्पनीको शेयर १० प्रतिशतले र २८ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।