मंगलबार पनि शेयर बजार घटेको छ । नेप्से परिसूचक १.२६ अंकले घटेर १६८१.८६ अंकमा कायम भएको छ । बैंकिङ, होटल, विकास बैंक र जलविद्युत् समूह बढेका छन् भने फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य घटेका छन् । बैंकिङ समूह १.५३ अंकले बढेको छ भने विकास बैंक ३.५९ अंकले बढेको छ । फाइनान्स भने ८.६३ अंकले घटेको छ । सबैभन्दा बढी जलविद्युत् समूह १५.२१ अंकले बढेको छ भने उत्पादनमूलक समूह ४८.८३ अंकले घटेको छ । होटल समूह ४.१६ अंकले बढ्दा बीमा र अन्य समूह क्रमशः ३९.३९ र ३.१८ अंकले घटेका छन् ।
थोरै बढ्यो कारोबार
कारोबार रकम सोमबारको तुलनामा थोरै बढेको छ । दिनभरिमा १ सय ३९ वटा कम्पनीको ५४ लाख ५२ हजार २ सय ५० कित्ता शेयर ५ हजार २ सय २ पटक खरिदविक्रि हुँदा कुल ८८ करोड १९ लाख ६२ हजार ८ सय १० रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार ८६ करोडको पुँजी परिचालन भएको थियो । कुल कारोबारमध्ये बैंकिङ समूहको ४४ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ भने विकास बैंकको ११ करोड ८६ लाखभन्दा माथिको शेयर कारोबार भएको छ । त्यस्तै, फाइनान्स समूहको सवा ३ करोडभन्दा माथिको पुँजी परिचालन भएको नेप्सेले जनाएको छ ।
कारोबारका आधारमा इन्भेष्टमेन्ट बैंक अगाडी
कम्पनीगत आधारमा हेर्दा सबैभन्दा धेरै कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकको भएको छ । ४ घण्टाको कारोबार अवधिमा बैंकको झन्डै पौने ८ करोड रुपैयाँको कारोबार भएको छ । साथै बैंकको ३ करोड ६२ लाखभन्दा बढीको प्रोमोटर शेयर कारोबार भएको छ । नेपाल बंगलादेश (एनबी) बैंकको ५ करोड ४१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार हुँदा सिद्धार्थ बैंकको ४ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ भने एभरेष्ट बैंकको ३ करोड ८३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । हिमालयन जेनेरल इन्स्योरेन्स, नेपाल बैंक, शिखर इन्स्योरेन्स, हिमालयन बैंक, नेपाल एसबीआई बैंक लगायतको २ करोडमाथिको शेयर कारोबार भएको छ ।
३६ कम्पनीका लगानीकर्ताले कमाए
मंगलबार ३६ वटा कम्पनीका लगानीकर्ताले आफ्नो सम्पत्ति धेरथोर बढाएका छन् । यी कम्पनीले अधिकतम ९.९१ प्रतिशतदेखि न्यूनतम ०.१८६९ प्रतिशतसम्मले कमाएका छन् । सबैभन्दा धेरै ९.९१ प्रतिशतका दरले कमाउनेमा कन्काई विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् भने सबैभन्दा थोरै कमाउनेमा रिलायबल डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् । नविल बैंकको प्रोमोटर शेयर, राष्ट्रिय बीमा कम्पनी एक्सेल डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी लगायतले पनि कमाएका छन् ।
कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले धेरै गुमाए
गुमाउने कम्पनीहरुले अधिकतम ९.७७४४ प्रतिशतदेखि न्यूनतम ०.११९ प्रतिशतसम्म गुमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा कालिका माइक्रोक्रेडिटका लगानीकर्ता छन् भने सबैभन्दा थोरै गुमाउनेमा नागवेली लघुवित्त विकास बैंकका लगानीकर्ता छन् । रिडि हाइड्रोपावर, नेरुडे लघुवित्त, रुरल माइक्रोफाइनान्स, बोटलर्स नेपाल, काबेली विकास बैंक, मनास्लु विकास बैंक, सेती फाइनान्स, नयाँ नेपाल लघुवित्त, हामा मर्चेन्ट लगायतका लगानीकर्ताले पनि गुमाएका छन् ।