June 15th, 2021

५१ कम्पनीको शेयर मूल्यमा अस्वाभाविक चलखेलः धितोपत्र बोर्ड


बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले गत जेठ २५ गते एक सूचना मार्फत लहैलहैमा लागेर शेयर बजारमा लगानी नगर्न आग्रह गरेको थियो । सो आग्रहसँगै गलत मनसाय राखेर कारोवार भइरहेका केही कम्पनीको बारेमा अध्ययन पनि भइरहेको जनाएको थियो ।
बोर्डको सोही अध्ययन अनुसार कूल ५१ कम्पनीको धितोपत्र कारोवारमा बदमासी भएको र लगानी जोखिममा पर्न सक्ने ठहर गरेको छ । बोर्डका प्रवक्ता निरज गिरीका अनुसार अध्ययन गरिएका कम्पनीको मूल्य आम्दानी अनुपात १०० र सो भन्दा बढी भएका, विगत एक वर्षको अवधिमा ३०० प्रतिशत वा सो भन्दा बढी प्रतिशतले वृद्धि भएको पाइएको छ । बोर्डले आज ती कम्पनीको शेयरमा गरिएको लगानी जोखिमपूर्ण रहेको जनाएको हो ।
उहाँका अनुसार प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम भएका, कम्पनीको वित्तीय क्षमताको मूल्याकंन समेतका आधारमा जोखिमयुक्त देखिएको छ ।

लगानीकर्ताको विश्वासाले धितोपत्र बजारमा रु २० अर्ब बराबरको कारोवार भएको छ । बजारको सिद्धान्त अनुसार धितोपत्र बजार सधै बढी रहने मात्रै नभई समय क्रममा घटबढ पनि हुने बोर्डको ठहर छ । यस बजारमा हल्ला वा लहैलहैमा लागेर लगानी गर्नु अत्यन्तै जोखिमपूर्ण हुने उल्लेख गर्दै बोर्डले सचेतता अपनाउन लगानीकर्तालाई आग्रह गरेको छ । धितोपत्रमा लगानी गर्नुपूर्व कम्पनीको वित्तीय अवस्था र विविध परिसूचक बारे बढी भन्दा बढी जानकारी प्राप्त गरी जोखिम बहन गर्न सक्ने क्षमता मूल्यांकन गरेर मात्र लगानी गर्न बोर्डले पुनः सचेत गराएको छ ।

बोर्डले पछिल्ला दिनमा गरेको अध्ययनका आधारमा केही संगठित संस्थाको कारोवारमा भित्री कारोवार, सर्कुलर कारोवार, कर्नरिङलगायतका तिधधितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा समेत थप विश्लेषण भइरहेको जनाएको छ ।
नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक उच्च अंकमा पुगेको बेला राम्रो फाइदा हुन्छ भनेर कुनै पनि कुरा नै नबुझी हाम फाल्ने लगानीकर्तालाई बोर्डले स्पष्ट शब्दमा सचेतता अपनाउन पुनः ध्यानाकर्षण गराएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]