साताको दोस्रो दिन पनि शेयर बजार ओरालो लागेको छ । आइतबार १२.४३ अंकले घटेको शेयर बजार सोमबार ३९.३१ अंकले घटेर १६८३.१२ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूहहरु घटेका छन् । बैंकिङ समूह ३२.८६ अंकले घट्दा विकास बैंक ४०.६३ अंकले घटेको छ भने फाइनान्स समूह २०.८३ अंकले घटेको छ । सबैभन्दा धेरै बीमा समूह २२१.६ अंकले घटेको छ । होटल, जलविद्युत्, उत्पादनमूलक र अन्य समूह क्रमशः ८३.५६, ८९.१२, २९.१९ र २१.११ अंकले घटेका छन् ।
कारोबार थोरै बढ्यो
कारोबार रकम आइतबारको तुलनामा बढेर ८६ करोडभन्दा माथिको पुँजी परिचालन भएको छ । ४ घण्टाको कारोबार अवधिमा १ सय ४० वटा कम्पनीको ११ लाख ९० हजार ४ सय ३१ कित्ता शेयर ५ हजार ६ सय ७ पटक खरिदविक्रि हुँदा कुल ८६ करोड १९ लाख ४३ हजार ८ सय ११ रुपैयाँ बराबरको कारोबार भएको हो । जसमध्ये बैंकिङ समूहको ४५ करोडमाथिको शेयर कारोबार हुँदा विकास बैंकको ९ करोड र फाइनान्सको २ करोडमाथिको पुँजी परिचालन भएको छ । बैंकिङ क्षेत्रको कारोबार रकम पनि आइतबारको तुलनामा बढेको हो । आइतबार बैंकिङ, विकास बैंक र फाइनान्सको क्रमशः ३१ करोड, ७ करोड र १ करोडमाथिको शेयर कारोबार भएको थियो ।
इन्भेष्टमेन्ट बैंकको कारोबार सबैभन्दा धेरै
कम्पनीगत आधारमा हेर्दा धेरै कारोबार गर्ने कम्पनीहरुको अग्रस्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ, जसको झन्डै १३ करोड रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । इन्भेष्टमेन्ट बैंकको प्रोमोटर शेयरको साँढे २ करोडको कारोबार समेतच गरेर समग्रमा इन्भेष्टमेन्ट बैंकको साढे १५ करोडको कारोबार भएको छ । त्यस्तै, एनबी बैंकको ५ करोडको कारोबार हुँदा नेपाल बैंकको पौने ५ करोडको कारोबार भएको छ भने हिमालयन जेनेरल इन्स्योरेन्सको ३ करोड ८१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । माछापूछ्रे बैंकको पौने ३ करोडको कारोबार भएको छ । एनएमबी बैंकको २ करोड ६६ लाख रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्सको प्रोमोटर शेयर र एभरेष्ट बैंकको पनि २ अर्बभन्दा बढी पुँजी परिचालन भएको छ । सानिमा बैंकको १ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
९ कम्पनीका शेयरधनीले कमाए
सोमबार जम्मा ९ वटा कम्पनीको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै सिद्धार्थ डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । हाम्रो विकास बैंकका लगानीकर्ताले पनि ९.८५ प्रतिशथका दरले कमाएका छन् । रिलायबल माइक्रोफाइनान्स र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले क्रमशः ५.९५ र ४.०३ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । त्यस्तै, साझा विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, एनबी इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ का लगानीकर्ताले क्रमशः १.९९, १.६५, १.०१, ०.८९ र ०.८६ प्रतिशतका दरले कमाएका छन् ।
धेरै गुमाउनेमा जेविल्स फाइनान्स लगानीकर्ता
जेविल्स फाइनान्सका लगानीकर्ताले सोमबार सबैभन्दा धेरै ८.७६ प्रतिशतका दरले गुमाएका छन् । अपि पावर कम्पनीका लगानीकर्ताले पनि ८.३६ प्रतिशतले गुमाएका छन् । बोटलर्स नेपाल, अरुण भ्याली हाइड्रोपावर र नेपाल एसबीआई बैंकका लगानीकर्ताले ७ प्रतिशतभन्दा बढीले गुमाउँदा तारागाउँ रिजेन्सीका शेयरधनीले पौने ७ प्रतिशतले गुमाएका छन् । यीबाहेक ८ वटा कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।



