
बैंकिङ खबर/ प्रहरीले रोकेपछि फाइनान्स कम्पनीहरुमा खैलाबैला भएको छ । फाइनान्स कम्पनीहरु ग बर्गका वित्तीय संस्था हुन् । कतिपयलाई फाइनान्स भनेको सहकारी भन्ने बुझाई छ । यो गलत बुझाई हो । प्रहरीलाई समेत फाइनान्स र सहकारीको फरक थाहा छैन । यसै कारण शुक्रबार धेरै फाइनान्स कम्पनीका कर्मचारीलाई बाटोमै रोकियो ।
कोरोना भाइरस नियन्त्रणका लागि उपत्यकामा जारी गरिएको निषेधाज्ञाका क्रममा शुक्रबार प्रहरीले फाइनान्स कम्पनीका कर्मचारीलाई रोकेको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयको मंगलबारको बैंठकले बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म सवारी चलाउने दिने निर्णय गरेको थियो । तर शुक्रबार भने फाइनान्सका कर्मचारीहरुलाई प्रहरीले रोकेर होल्ड गरेर राखेको उहाँहरुको गुनासो छ ।
फाइनान्सका एक कर्मचारीले भन्नुभयो, ‘बैंक क्षेत्रका कर्मचारीलाई छोडेपछि फाइनान्सका कर्मचारीलाई भने ट्राफिक प्रहरीले रोकेर होल्ड गरेको छ । फाइनान्स कम्पनीका कर्मचारीहरुलाई होल्ड गर्ने नै निर्देशन रहेछ । फाइनान्स भनेको कोअपरेटिभ हो भन्ने उनीहरुको बुझाई रहेछ ।’ ट्राफिकले कार्डमा वित्त कम्पनी भनेर नखुलाएको भन्दै रोक्ने गरेको उनीहरुको गुनासो छ ।
‘कर्मचारी रोकिए भने चाहेर पनि फाइनान्सहरु खोल्न सक्दैनाैँ’

वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले सिडिओ कार्यालयबाट नरोक्ने भनेपनि फिल्ड खटिएका ट्राफिक प्रहरीले भने फाइनान्स कम्पनीका कर्मचारीलाई रोकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सिडिओ कार्यालयले मंगलबार वित्तीय संस्था खोल्न दिने भनेर साँझमा चेन्ज पनि गरेको छ । तर आज अफिस आउँदा धेरै ठाउँमा स्टाफहरु रोकेको अवस्था हो । माथिल्लो तहमा कुरा भएपनि जो ट्राफिक फिल्डमा चेकिङ गर्न बस्नुहुन्छ । उहाँहरुलाई अझ पनि क्लिएर खबर पुगेको देखिदैँन ।’
आजसम्म क्लिएर नभएसम्म आफुहरुले चाहेर पनि फाइनान्सहरु खोल्न नसक्ने अध्यक्ष तुलाधरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामिले त्यसैपनि कम कर्मचारी राखेर अफिस खोलिरहेका छौं । फेरि त्यति कर्मचारी पनि रोकिनुभयो भने त हामिले कसरी अफिस सञ्चालन गर्न सक्छौं ।’
उहाँले फाइनान्सहरु सुचारु नहुँदा एकाउन्ट होल्डरहरुले पैसा निकाल्न नपाउने, फण्डहरु ट्रान्सफर गर्न नपाउँदासमस्या हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अर्कोतर्फ नेपाल क्लिरिङ हाउसबाट चेकहरु आउँछ । चेकहरुमा ब्यालेन्स छ छैन भनेर एसेफ्ट गर्ने आधा घण्टामा गरेनाैँ भने अटोमेटिक एसेप्ट भएर जान्छ । त्यो भयो भने पैसा नभएको एकाउन्टको पनि के्रडिट भएर गयो भने त्यसले समस्या हुन्छ ।’
‘छिट्टै सहज बनाउँछौं’

यता महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी स्यामकृष्ण अधिकारीले मंगलबारको सिडिओहरुको बैंठकमा फाइनान्सहरुका विषयमा के गर्ने भन्ने छुटेको भन्दै यस विषयमा थप छलफल भइरहेको बनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘फाइनान्स कम्पनीका कर्मचारीलाई रोकिएको भन्ने जानकारी आएको छ । यस विषयमा छलफल गरेर उहाँहरुलाई हामी छिट्टै सहज बनाउँछौं ।’ उहाँले फाइनान्सका कर्मचारीलाई रोकेको भन्ने बारे अध्ययन भइरहेको र सहज बनाउने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।