May 25th, 2021

बैंक तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किन्न नपाउने

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संशाेधन गर्दै बैंक वित्तीय संस्थालाई सेयर लगानीमा कडाइ गरेको हो। 

अब बैंक तथा वित्तीय संस्थाले विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न पाउने छैनन् । यसअघि (मिति २०७८।०२।१० सम्म) त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री/विनिवेश गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले यसअघि शेयर खरीद गरेको भए आगामी पुस मसान्तभित्र बिक्री गरिसक्न निर्देशन दिएको छ । लघुवित्तको शेयरमा कर्नरिङ गर्दै मूल्य बढाइएको पाइएपछि यस्तो कदम चालेको केन्द्रीय बैंकको भनाइ छ ।

यसैगरी अन्य कम्पनीहरुको सेयर पनि छोटो समयका लागि लगानी गर्न बैंकहरुले नपाउने भएका छन् । ‘सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ’ निर्देशनमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।’

निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]