May 25th, 2021

उदयपुर सिमेन्टले २ अर्ब ५० लाखको आइपीओ जारी गर्ने

बैंकिङ खबर/ उदयपुर सिमेन्ट उद्योग लिमिटेडले सर्वसाधारणमा सेयर जारी गरेर उद्योगको पुँजी बढाउने सोच बनाएको छ। उद्योगमा शतप्रतिशत सरकारको लगानी छ । यसको अधिकृत तथा चुक्ता पुँजी अहिले चार अर्ब रुपैयाँ रहेको छ । यसलाई बढाएर १० अर्ब बनाउने योजनाअनुरुप जेठ ३० मा गर्न लागिएको साधारणसभामा प्रस्ताव समेत लगिँदै छ ।

हाल उद्योगले सरकारलाई तिर्नुपर्ने ऋणको सावाँ तथा ब्याज करिब साढे तीन अर्ब रुपैयाँ छ। उक्त रकमलाई पनि साधारण सेयरमा परिणत गरेर ऋण राफसाफ गर्ने प्रस्ताव साधारसभामा लैजान लागिएको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताउनुभएको छ ।
सोपछि कम्पनीको चुक्ता पुँजी करिब साढे सात अर्ब रुपैयाँ पुग्नेछ । अधिकृत पुँजी १० अर्ब अनुरुप बाँकी करिब दुई अर्ब ६१ करोड रुपैयाँ हाराहारी पुँजी पूरा गर्न सबैभन्दा राम्रो विकल्प सेयर जारी (आइपीओ) हुने न्यौपानेले बताउनुभयो ।

पछिल्ला केही वर्षयता निजी क्षेत्रका सिमेन्ट उद्योगहरु ठूलो क्षमताका साथ आक्रामक रुपमा अघि आएसँगै कुनै समय बजारमा एकछत्र राज गरेका गैंडा र उदयपुर ब्रान्डमा सिमेन्ट उत्पादन गर्ने यो उद्योग अहिले बजार प्रतिस्पर्धामा निक्कै पछि परिसकेको छ । यसैले उद्योगको क्षमता विस्तारसँगै दीर्घकालिन व्यापारमा खरो उत्रिएर निजी क्षेत्रका अन्य सिमेन्ट उद्योगसँग प्रतिस्पर्धी हुनका लागि पुँजी तथा लगानी वृद्धिको योजना अघि सारिएको न्यौपानेको भनाइ छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]