May 18th, 2021

डिजिटल बैंकिङको शुरुवात गर्दै मिर्मिरे, दुई दर्जन बढि सेवा घरबाटै

बैंकिङ खबर/कोरोनाको दोस्रो लहर व्यापक बढिरहेको बेला बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आफ्नो सेवा सुचारु गर्नलाई गाह्रो भइरहेको अवस्था छ । झन् सदस्यहरुको माझमा नै पुगेर सदस्यहरुसँग प्रत्यक्षिकरण गर्दै सेवा प्रदान गर्ने लघुवित्त वित्तीय संस्थाहरुलाई अझ बढि गाह्रो परिरहेको छ भने निषेधाज्ञा भइरहेको सन्दर्भमा सदस्यहरुलाई पनि आफ्नो कारोवार गर्न नपाउँदा समस्या भइरहेको छ ।

यसै सन्दर्भमा काभ्रेको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिने भएको छ । कोभिडको यो समयमा सदस्यहरुले घरबाट नै आफ्ना कारोवारहरु गर्न सकियोस र अत्यावश्यक कतिपय सेवाहरु घरमा नै बसेर गर्न सकियोस भन्ने उद्देश्यका साथ डिजिटल बैंकिङ शुरु गर्न लागिएको र सो कार्यको लागि व्यवस्थापनलाई आवश्यक निर्देशन तथा अख्तियारी दिइएको संस्थाका अध्यक्ष टेक बहादुर बोहराले जानकारी दिनुभयो । उहाँले नेपाल सरकार तथा नीयामक नीकाय नेपाल राष्ट्र बैंकले वर्क फ्रम होम र क्यास लेस कारोवारको लागि निरन्तर गरिएको आग्रह तथा निर्देशनको पालना गर्ने क्रममा सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिन लागिएको बताउनुभयो । सोमबार संस्थाका सहायक प्रमुख कार्यकारी बिर्ख बहादुर बोहरा र इन्फो डेभलपर्सका प्रमुख कार्यकारी उमेश रघुवंशी बिच डिजिटल बैंकिङ सेवाको लागि सम्झोता पत्रमा हस्ताक्षर समेत भइसकेको छ ।
डिजिटल बैंकिङ अन्तर्गत सदस्यहरुले कारोवारको एसएमएसबाट जानकारी पाउने, सदस्यहरुले घरमा नै बसेर आफ्नो खाताको जानकारी लिने, इसेवा, खल्ती तथा फोन पे जस्ता डिजिटल वालेटहरुमा रकम राख्न पाउने, मोवाइल, डिसहोम, इन्टरनेट, बिजुली तथा खानेपानीका वीलहरु घरमा नै बसेर भुक्तानी गर्न पाउने लगायत दुई दर्जन बढि सेवाहरु पाउने संस्थाका सूचना तथा प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठले जानकारी दिनुभयो ।
विश्व आफै प्रविधिमा छलाङ मारिरहेको अवस्थामा मिर्मिरेले पनि आवश्यक प्रविधिहरु अंगाल्दै आगामी दिनमा घरमा नै बसेर सदस्यहरुले कर्जाको लागि आवेदन दिन सकिने टोल टोलमा नै स्पट बैंकिङ अन्तर्गत बचत राख्न र निकाल्न पाउने, लगायतका सेवाहरु विस्तार गर्दै लान सकिने संस्थाका अध्यक्ष बोहराले जानकारी दिनुभयो । संस्थाका सहायक प्रमुख कार्यकारी बिर्ख बहादुर बोहराले अहिले सबै जना घरभित्रै बस्नुपर्ने अवस्थामा संस्थाले ल्याएको डिजिटल बैंकिङ सेवा लिई भरपुर फाइदा उठाउनको लागि सबै सदस्यहरुलाई आग्रह समेत गर्नुभएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]