May 15th, 2021

लघुवित्तमा कोरोना कहर: सदस्यको भौतिक सुरक्षा पहिलो प्राथमिकता

बैंकिङ खबर/लघुवित्तकर्मीहरुले ग्राहक सदस्यको भौतिक र व्यवसायिक सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने निष्कर्ष निकालेका छन् । कोरोना महामारीका कारण लघुवित्त क्षेत्रमा परेको असर र यसको न्यूनिकरणका उपायहरु बारे छलफल गर्न स्वावलम्बन विकास केन्द्रले सातौँ संवाद श्रृंखलाको रुपमा आयोजना गरेको लघुवित्तमा कोरोना महामारीको असर न्यूनिकरण विषयक छलफलका सहभागीहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

उनीहरुले कोरोना महामारीको भयावह अवस्थाको कारण देश भरीको जनजीवन कष्टकर भएको वर्तमान अवस्थामा कर्मचारी तथा ग्राहक सदस्यहरुको जीवन सुरक्षा पहिलो प्राथमिकता भएकोले तत्काललाई लघुवित्त संस्थाहरुको प्रयास कोरोना संक्रमण फैलन नदिन र संक्रमण फैलिसकेको ठाउँको जनजीवनमा सहजता ल्याउन तर्फ केन्द्रित हुनु पर्नेमा जोड दिएका छन् । स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले सहजिकण गर्नुभएको सो प्यानेल छलफलमा प्यानेलिष्टको रुपमा सात वटै प्रदेशबाट एक/एक जना लघुवित्त कर्मीहरुको सहभागिता रहेको थियो । प्रस्तुतिको क्रममा सातै जना प्यानलिष्टहरुले आ–आफ्नो क्षेत्रमा कोरोना संक्रमणको पछिल्लो अवस्था, महामारीका कारण लघुवित्त संस्थाले भोगेको समस्या र लघुवित्त क्षेत्रमा महामारीको असर कम गर्ने उपायबारे प्रस्तुति गर्नुभएको थियो ।
सातैजना प्यानेलिष्टहरुकोे प्रस्तुति पछि आफ्नो धारणा राख्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले कोरोना महामारीको वर्तमान समयमा लघुवित्त संस्थाहरुले अभिभावकको भूमिका खेल्नु पर्ने धारणा राख्नुभयो ।

‟यस्तो संकटको बेला लघुवित्त संस्थाले सदस्यहरु भौतिक एवं आर्थिक रुपले कस्तो अवस्थामा छन् निरन्तर सुचना लिएर सदस्यको विवरण संकलन गरी आवश्कता अनुसार राहतका कार्यक्रम ल्याउनु पर्छ । नाजुक अवस्थामा रहेका सदस्यहरुलाई सामाजिक उत्तरदायित्व कोषबाट भए पनि सहयोग गर्नु पर्छ । यो संकटको वेला प्रमुख कार्यकारी अधिकृतहरुको भूमिका पनि सदस्य केन्द्रित हुनु प¥यो र बढी जसो समय सदस्यको सुरक्षा र हितको लागि दिनु पर्योˮ श्रेष्ठले भन्नुभयो ।

प्रस्तुतिको क्रममा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मंण्डलले प्रदेश १ मा कोरोना संक्रमणको भयावह अवस्था रहेको बताउँदै वर्तमान अवस्थामा लघुवित्तहरुले सदस्य र कर्मचारीको मनोवल उच्च राख्ने काम गर्नु पर्ने धारणा राख्नुभयो ।

यसै गरी महुली लघुवित्त वित्तीय संस्थाका अध्यक्ष प्रभुनारायण चौधरीले भारत सँगको खुला सिमाना र धार्मिक पीठहरु भएको कारण प्रदेश २ मा कोरोना संक्रमण उच्च दरमा फैलिएको बताउँदै हाल २५ हजार सक्रिय संक्रमित रहेको तथ्य प्रस्तुत गर्नुभयो ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत उदयराज खतिवडाले भाखा नाघेको कर्जा बढेर १६ प्रतिशत पुगेको भए पनि संस्थाले अहिले ग्राहक बचाउने नीति अनुरुप काम गरेको बताउनुभयो ।

प्रस्तुतिको क्रममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत विमला योगीले कोरोना महामारी बाट संक्रमित १५ जना कर्मचारी रु ५२ जना सदस्यहरुको उपचारमा संस्थाले सहजीकरण गरेको जानकारी गराउनुभयो ।
उपकार लघुवित्त वित्तीय संस्था की प्रमुख कार्यकारी अधिकृत शारदा पोखरेलले कोरोना संक्रमणको अनुभव सुनाउदै संक्रमण बढ्न नदिनु र संक्रमित भएका सदस्यहरुको मनोवल उच्च राख्नु अहिलेको आवश्यकता रहेको विचार राख्नुभयो ।

बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विशाल केसीले कर्णाली प्रदेश पनि कोरोना महामारीको चपेटामा परेको आंकडाहरु प्रस्तुत गर्दै आफ्नो अहिलेको प्रयास पनि महमारी नियन्त्रण तथा त्यसकोलागि सहयोगमै केन्द्रित रहेको जानकारी दिए । हाल असुलीको काम बन्द गरेर कर्णाली प्रदेशमा अक्सिजन उत्पादन प्लान्ट स्थापना गर्न लागि परेको जानकारी गराउनुभयो ।

खुला छलफलका क्रममा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले लघुवित्तमा महामारीले पारेको असरको विवरण संकलन गर्न र सोही आधारमा राष्ट्र बैंकलाई महामारी केन्द्रित नीति ल्याउन भन्न लघुवित्तकर्मीहरुलाई सुझाव दिनुभयो ।

कार्यक्रममा मुलक भरीका लघुवित्त संस्थाको प्रतिनिधित्व गरी कोरोनाको असर न्यूनिकरणका उपाय खोज्ने तथा अभ्यास र सिकाईहरु आदान प्रदान गर्ने उद्देश्यले स्वावलम्बन विकास केन्द्रले यो छलफलको आयोजना गरेको हो । छलफलमा लघुवित्त तथा सहकारी संस्थाका १ सय ९८ जनाको सहभागिता रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]