May 13th, 2021

हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जर सम्झौता

बैंकिङ खबर/हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जरका लागि सम्झौता भएको छ । बिहीबार (आज) काठमाडौंको एक होटलमा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ राख्ने सहमति भएको छ । बैंकको सञ्चालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शम्शेर राणा बन्ने पनि सहमति भएको छ ।  त्यसैगरी मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३/३ जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति हुनेछ ।

मर्जरपछि निक्षेप तीन खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा दुई खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ । बैंकको कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ । नयाँ बैंकका एक सय ५२ शाखा हुनेछन् भने २५ सय कर्मचारी रहनेछन् । दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तिय बजारमा स्थापित भई ग्राहक वर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रोप्रतिफल दिन सक्षम हुनेविश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बैँकका अध्यक्षहरुले जानकारी गराउनु भएको छ ।

उहाँहरुले यो रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरु प्रति हार्दिक आभार व्यक्त गर्नु भएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]