Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कम्ती सास्ती छैन बैंकिङ कर्मचारीलाई : कोरोनाको भय उस्तै, यातायातमा पनि कठिनाइ

२०७८ बैशाख २६ गते

बैंकिङ खबर/  कोभिड १९ को अतिसंक्रामक दोस्रो लहरका कारण काठमाडौं उपत्यकालगायत देशका धेरै जिल्ला र सहरहरूमा निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनमार्फत लगाइएको निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाहरूलाई निश्चित मापदण्डमा रहेर सेवाप्रवाहको अनुमति दिइएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले निषेधाज्ञाको समयमा सकेसम्म कम जनशक्ति र शाखामार्फत सेवाप्रवाह गर्न बैंकवित्तलाई आइतबार निर्देशन दिइसकेको छ । यस सन्दर्भमा बैंकवित्तहरुले कसरी सेवा दिइरहेका छन् त ? हामीले बैंकवित्तका उच्चपदस्थ पदाधिकारीमार्फत नभई शाखामा खटिएको जनशक्तिमार्फत वास्तविक अवस्था पहिल्याउने प्रयास गरेका छौँ ।

बैंकमा करिब ५० प्रतिशत कर्मचारी परिचालन, सेवाग्राहीको संख्या न्यून
उपत्यकामा निषेधाज्ञा जारी भएको सोमबार छैटौँ दिन हो । गत साताको बिहीबारदेखि निषेधाज्ञाका बीच बैंकवित्तले चार दिन सेवा दिइसकेका छन् । सार्वजनिक तथा निजी यातायातका साधनहरू, प्रायः व्यापार–व्यवसाय तथा सर्वसाधारण सेवाग्राहीको हिँडडुलमा समेत प्रतिबन्ध लगाइएको र विद्युतीय कारोबार तुलनात्मक रूपमा बढ्दै गएका कारण बैंकवित्तहरू खुले पनि सेवाग्राहीको खासै चाप भने देखिएको छैन । बढी चाप हुने शाखाहरूमा ४०–५० प्रतिशतजति सेवाग्राही आइरहेका छन् भने कुनै कुनै शाखामा यो संख्या १० प्रतिशतमा सीमित छ । साविकमा औसत डेढ सयभन्दा बढी ट्रान्जेक्सन हुने गरेको शाखामा सोमबार ८६ वटा ट्रान्जेक्सन भएको एक बैंकरले बैंकिङ खबरलाई बताए ।

नेपाल क्रेडिट एन्ड कमर्स बैंकको एक शाखाबाट भने सोमबार साविकको तुलनामा करिब १० प्रतिशत मात्र सेवाग्राहीले सेवा लिए । ५० प्रतिशत कर्मचारीको उपस्थितिमा सेवा सञ्चालन गरिएको उक्त शाखामा निषेधाज्ञापछि न्यून संख्यामा मात्र सेवाग्राही आउने गरेका छन् ।

‘सोमबार ६–७ वटा ट्रान्जेक्सन मात्र भएका छन्,’ शाखा प्रबन्धकले बैंकिङ खबरसित भने, ‘साविकमा औसत ७५ जनाले सेवा लिने गरेका थिए ।’ बैंकका कर्मचारीमा पनि कोभिडको संक्रमण बढिरहेकाले कर्मचारीहरु काम गर्न डराइरहेको उनको भनाइ छ ।

राष्ट्र बैंकले शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारीको उपस्थितिमा सेवाप्रवाह गर्न भनेको छ नि त ? भन्ने जिज्ञासामा ती शाखा प्रबन्धकले भने, ‘दुईजना मात्र ग्राहक आए पनि उहाँहरु कुन सेवाका लागि आउनुहुन्छ भन्ने निश्चित छैन । साविकका सबै सेवा सुचारु गर्नुपर्ने भएपछि साना शाखाहरुमा २५ प्रतिशत कर्मचारीले काम चलाउन सकिने अवस्था रहँदैन । जम्मा ७–८ जना कर्मचारी भएको शाखामा त्यसका लागि वैकल्पिक जनशक्ति उपलब्ध नै हुँदैन ।’

थोरै संख्यामै ग्राहकको उपस्थिति हुँदा पनि तोकिएका सबै सेवा दिनुपर्ने भएका कारण एकचौथाइभन्दा कम संख्यामा कर्मचारीको उपस्थितिमा सेवाप्रवाह गर्ने सरकारी नीति कार्यान्वयनमा ल्याउन भने बैंकवित्तलाई अप्ठ्यारो परिरहेको स्पष्ट देख्न सकिन्छ । धेरैजसो बैंकहरूले ५० प्रतिशतको संख्यामा कर्मचारी बोलाएर सेवा दिइरहेको पाइएको छ । कर्मचारीहरूलाई दुई समूहमा बाँडी एकदिन बिराएर पालो तोकिएको छ । कतिपय कर्मचारीलाई घरबाट काम गर्न लगाइएको छ, जुन प्रक्रियामा राष्ट्र बैंकले पनि जोड दिएको छ ।

लघुवित्तहरूले भने प्रायः सबै कर्मचारीलाई कार्यालयमा बोलाएको पाइएको छ, जबकि यस अवधिमा बैंकको तुलनामा लघुवित्तको बिजनेस ज्यादै न्यून छ । लघुवित्तको व्यवसायमा समूह बनाई नियमित मिटङ सञ्चालन गर्नुपर्ने तर निषेधाज्ञाले त्यसको सम्भावना नभएका कारण व्यवसाय प्रभावित भएको हो ।

वित्तीय सेवाको माग र वातावरण नहुँदा केवाइसी अपडेटमा लागे लघुवित्तहरू
बुटवलमा कार्यरत एक लघुवित्तकर्मीले हाल लघुवित्तको काम केवाइसी अपडेटमा सीमित भएको बताए । निषेधाज्ञाका कारण बिजनेस नभएको र कार्यालय बन्द गर्ने अनुमति पनि नभएकाले केवासी अपडेटको काम भइरहेको उनको भनाइ छ ।

‘हिजोआज हामी वित्तीय सेवाप्रवाहभन्दा पनि ग्राहकको केवासी अपडेटमा लागिरहेका छौँ,’ शाखा प्रबन्धकका रूपमा कार्यरत उनले भने, ‘हामीले फिल्डमा मिटिङ चलाउनका लागि कर्मचारी पठाएका छैनौँ र महामारीका कारण त्यसो गर्ने अवस्था पनि छैन । केही सेवाग्राही अफिसमै आउनुभयो भने सामाजिक दूरी कायम गरेर सेवा दिइरहेका छौँ । तर, त्यस्तो संख्या नगण्य छ ।’ यद्यपि, सेवाग्राहीले आफैँ मिटिङ राखेर लोन वा बचतका लागि अनुरोध गरेको खण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेर सेवा दिइने उनले बताए । बुटवलका प्रायः सबै लघुवित्तको अवस्था अहिले उस्तै रहेको उनको भनाइ छ । बुटवलमा पनि गत बिहीबारदेखि नै निषेधाज्ञा जारी भएको हो ।

निजी सवारी नहुने र चलाउने अभ्यास नभएका कर्मचारीलाई सास्ती
बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई निषेधाज्ञाका कारण अफिस जान निकै समस्या हुने गरेको छ । आफ्नो सवारीसाधन नहुने र स्वयम् चलाउने अभ्यास नभएका कर्मचारीले दैनिक अफिस जान–आउन सास्ती झेलिरहेका छन् । आफ्नो वा परिवारको स्वामित्वमा सवारीसाधन भएर पनि आफूले चलाउन नजानेका कारण निषेधाज्ञामा त्यसको उपयोग हुन सकेको छैन । अरु समयमा परिवारका अन्य सदस्यले अफिस पुर्‍याइदिने गरेकोमा अहिले जाँदा आफ्नो कार्ड देखाएर अनुमति पाए पनि पुर्‍याएर फर्किने क्रममा फर्किने व्यक्तिलाई अनुमति नभएका कारण यो सुविधा उपयोगमा आएको छैन ।

‘घरमा स्कुटी थन्किएर बसेको छ, वित्तीय संस्थाका कर्मचारीलाई कार्ड देखाएर चलाउने अनुमति पनि छ, तर आफू चलाउन अभ्यस्त नहुँदा डेढ–दुई घण्टासम्म हिँडेर अफिस आवत–जावत गर्नुपर्ने बाध्यता छ,’ मुक्तिनाथ लघुवित्तका काठमाडौंमा कार्यरत एक कर्मचारीले बैंकिङ खबरलाई भने, ‘अफिसमा खास काम पनि छैन, तर दैनिक जानुपर्ने बाध्यता छ । सार्वजनिक यातायात नचलेको समयमा अफिस चलेपछि अफिस लाने–ल्याउने व्यवस्था पनि गरिदिएको भए सजिलो हुने थियो ।’

समस्या चर्किएपछि कतै न्यून सेवा, कतै बन्द

कोभिड १९ को दोस्रो लहरका कारण सिर्जित निषेधाज्ञा दोस्रो सातामा चलिरहँदा बैंकिङ सेवा पनि दिन प्रतिदिन प्रभावित बन्दै गएको छ । निषेधाज्ञाको अवधिमा पनि अत्यावश्यक सेवाका रूपमा सञ्चालन अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरूको सेवा औसतमा एकचौथाइभन्दा कममा खुम्चिसकेको छ भने कतिपय जिल्लाहरूमा ठप्प भएको छ ।

नेपाल राष्ट्र बैंकले यथासम्भव कम कर्मचारीको उपस्थितिमा सकेसम्म कम शाखामार्फत वित्तीय सेवा दिन निर्देशन गरिसकेको छ । शाखा कार्यालयमा बढीमा २५ प्रतिशत र केन्द्रीय कार्यालयको हकमा बढीमा २० प्रतिशत कर्मचारी कार्यालयमा उपस्थित भएर पूर्ण स्वास्थ्य सावधानीका साथ सेवाप्रवाह गर्न राष्ट्र बैंकको निर्देशन छ । बैंकवित्त र सेवाग्राही दुवैले सकेसम्म विद्युतीय कारोबारमा जोड दिन राष्ट्र बैंकको अनुरोध छ । तर, बैंकका शाखाहरू २५ प्रतिशत कर्मचारीबाट सञ्चालन गर्न सकिने अवस्था छैन ।

निषेधाज्ञाको पहिलो साता करिब ५० प्रतिशत कर्मचारीको उपस्थितिमा प्रायः शाखामार्फत सेवा दिएका बैंकहरूले दोस्रो सातादेखि सेवालाई निकै सीमित बनाएका छन् । बैंकहरूले धेरैजसो शाखाहरू साताको एक दिन मात्र खोल्ने तालिका निर्धारण गरेका छन् । प्रमुख स्थानहरूका शाखाहरूको हकमा सातामा ३ दिन खोल्ने नीति लिइएको छ । सेवाप्रवाह हुने समयमा पनि बैंकहरूबीच एकरूपता देखिएको छैन । कुनै बैंकले १० बजेदेखि २ बजेसम्म त कुनैले १ बजेसम्म सेवाप्रवाहको अवधि तोकेका छन् ।

अधिकांश शाखा साताको एक दिन मात्र खुला
बैंकहरूले काठमाडौं उपत्यकाबाहिरका जिल्लाहरूमा सञ्चालित अधिकांश शाखा साताको एक दिन मात्र खोल्ने सेड्युल बनाएका छन् । ठूला व्यापारिक केन्द्र नरहेका अधिकांश जिल्लामा प्रायः बैंकले यही रणनीति अपनाएको पाइएको छ । उपत्यकाकै पनि धेरै शाखाहरू साताको एक दिन मात्र खोल्ने तालिका बैंकहरूको छ । सेवाग्राहीको बढी चाप हुने गरेका प्रमुख शाखाहरू भने साताको तीन दिनसम्म खोल्ने तालिका छ ।

बैंकका कतिपय शाखा भने कर्मचारीहरूमा संक्रमण फैलिएका कारण बन्द गर्नुपर्ने अवस्थासमेत सिर्जना भएको छ । समग्रमा बैंकहरूले यतिवेला एकचौथाइभन्दा कम शाखाहरूमार्फत सेवाप्रवाह गरिरहेका छन् । यद्यपि, कुनै बैंकले निकै कम शाखा खोलेका छन् भने कुनैले धेरै शाखा खोलेको पाइएको छ । उदाहरणका लागि सरकारी बैंकमध्ये नेपाल बैंक लिमिटेडले निकै कम शाखा खोलेको छ भने राष्ट्रिय वाणिज्य बैंकले तुलनात्मक रूपमा धेरै शाखामार्फत सेवा दिइरहेको छ ।

ठाउँठाउँमा सेवा बन्द वा अति सीमित
कोभिडको अतिसंक्रामक दोस्रो लहर देशैभर फैलिएका कारण देशको कतिपय भागमा बैंकिङ सेवा बन्दप्रायः अवस्थामा पुगेका छन् । निषेधाज्ञाको सुरुवातमा बैंक तथा वित्तीय क्षेत्रलाई यथासम्भव सीमित कर्मचारीमार्फत सम्पूर्ण सेवाका लागि अनुमति दिइए पनि संक्रमण बढ्दै गएपछि कडाइ गर्न थालिएको छ । यतिवेला देशका सबै भागमा बैंकिङ सेवा सीमित हुँदै गएका छन् भने कतिपय स्थानमा बन्दकै अवस्था सिर्जना भएको छ ।

संक्रमणको जोखिम उच्च भएका स्थानहरूमा स्थानीय प्रशासनहरूले एकजना मात्र प्राविधिक कर्मचारीको उपस्थितिमा बैंकिङ सेवा दिन अनुमति दिइरहेका छन् । कतिपय बैंक शाखाहरू कर्मचारीमा संक्रमणका कारण अनिश्चित कालका लागि स्थगित भएका छन् ।

सुुदूरपूर्व (ताप्लेजुङ)
सुदूरपूर्वको हिमाली जिल्ला ताप्लेजुङमा कोरोनाको बढ्दो संक्रमणका कारण स्थानीय प्रशासनले बैंकिङ सेवामा कडाइ गरेको छ । फुङलिङ नगरपालिकामा संक्रमणका केस बढ्दै गएपछि २० वैशाखदेखि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । संक्रमणको जोखिम उच्च भएसँगै प्रशासनले बैंक तथा वित्तीय संस्थालाई एकजना मात्र प्राविधिक जनशक्तिको उपस्थितिमा सेवा दिन पाउने गरी सेवालाई सीमित गरेको जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले जानकारी दिनुभयो ।

‘यहाँ संक्रमणको अवस्था भयावह छ,’ मादेनले बैंकिङ खबरसित भन्नुभयो, ‘सानो ठाउँमा संक्रमितको संख्या एक सय नाघिसकेको अवस्था छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरूलाई एकजना मात्र कर्मचारी राखेर सीमित सेवा दिन प्रशासनले निर्देश गरेको छ ।’

प्रायः बैंक तथा वित्तीय संस्थाका शाखाहरू साताको एक वा दुई दिन मात्र खुल्ने गरी सञ्चालन भइरहेको मादेनले जानकारी दिनुभयो । संक्रमणका प्रायः सबै केस फुङलिङ नगरपालिकाभित्रै रहेको उहाँको भनाइ छ ।

पश्चिम तराई (रूपन्देही र कपिलवस्तु)
पश्चिम तराईका जिल्लाहरूमा पनि संक्रमण बढ्दै गएपछि निषेधाज्ञामा थप कडाइ गरिएको छ, फलस्वरूप बैंकिङ सेवा प्रभावित बनेको छ । रूपन्देहीमा पनि बैंकिङ सेवा ताप्लेजुङकै जस्तो अवस्थामा छ । जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेसँगै बैंकिङ सेवालाई सीमित गरिएको हो । बैठकले बैंकहरूमा एक–एक जना प्राविधिक जनशक्तिबाट मात्र सेवाप्रवाह गर्ने गरी ३० वैशाखसम्मलाई बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, कपिलवस्तुको वाणगंगा नगरपालिकामा पनि शुक्रबार (२४ वैशाख) देखि ३१ वैशाखसम्म बैंक तथा वित्तीय संस्थाहरू बन्द गरिएको छ । कोभिडको संक्रमण तथा जोखिम बढ्दै गएपछि नगरपालिकाले बैंकवित्त बन्द गरेको हो । नगरप्रमुख मंगलप्रसाद थारूले हालका लागि बैंक तथा वित्तीय संस्थाहरू बन्द गरिएको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । एटिएमको प्रयोग तथा विद्युतीय कारोबार भने निर्देशनबमोजिम गर्न पाउने व्यवस्था नगरपालिकाले गरेको छ ।
कोरोनाको दोस्रो लहरमा संक्रमणको केन्द्रविन्दु सावित भएको मध्यपश्चिमको तराई भाग र सुदूरपश्चिममा पनि यतिवेला बैंकिङ सेवा प्रभावित छ ।

सुदूरपश्चिम (डोटी)
सुदूरपश्चिममा पनि बैंक तथा वित्तीय संस्थाहरू बढ्दो कोरोना संक्रमणको चपेटामा आएका छन् । सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको सिलगढीस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ । बैंकमा कार्यरत एक कर्मचारीलाई कोभिडको संक्रमण पुष्टि भएको र अन्य कर्मचारीको स्वाब परीक्षण रिपोर्ट आउनेक्रममा रहेकाले शाखा कार्यालय अनिश्चित कालका लागि बन्द गरिएको जानकारी बैंकले सूचनामार्फत गराएको छ । बैंक बन्द हुँदा विशेषगरी सामाजिक सुरक्षा भत्ता लिने स्थानीयलाई बढी मर्का परेको स्थानीय जनप्रतिनिधको भनाइ छ । समग्रमा संक्रमण दर पहिलेभन्दा उच्च रहेको कोभिडको नयाँ भेरियन्टयुक्त दोस्रो लहरका कारण देशैभर बैंक तथा वित्तीय संस्थाहरूको सेवा प्रभावित बन्न पुगेको छ ।

बैंकिङ कर्मचारीलाई पनि पास अनिवार्य, केन्द्रीय कार्यालयले मेल गरिदिन्छन् पास
निषेधाज्ञाको सुरुवातमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आफ्नो कार्यालयको पास देखाएर आवत–जावतमा छुट दिइएकोमा हाल पास अनिवार्य गरिएको छ । अकस्मात् व्यवस्थामा परिवर्तन गरिँदा बिहीबार कार्यालय हिँडेका कर्मचारीहरू बाटोमै रोकिएका घटना पनि भेटिए । कर्मचारीहरू बाटोमै रोकिँदा केही शाखाको सेवा अवरुद्ध भएको सूचना बाहिरिएको थियो । यद्यपि, कर्मचारीलाई पास उपलब्ध गराउने जिम्मा सम्बन्धित बैंकको केन्द्रीय कार्यालयलाई दिइएकाले शुक्रबार नै यो समस्या न्यूनीकरण भएको छ ।

बैंकिङ कर्मचारीलाई पास अनिवार्य गरिएपछि कार्यालय जानुपर्ने पालो परेका आफ्ना कर्मचारीहरूलाई केन्द्रीय कार्यालयहरूले इमेल गरेर पास पठाइदिने गरेका छन् । त्यसरी पठाइदिएको पासलाई प्रिन्ट गरेर सुरक्षाकर्मीलाई देखाएपछि हिँडडुलको अनुमति दिइने गरेको छ । अधिकांश कर्मचारीसित प्रिन्ट गर्ने सुविधा घरमा नभएकाले यो प्रक्रिया पनि त्यति सहज नभएको एक बैंकरले बताए । यस्तो अवस्थामा मोबाइलमा पास देखाएर पनि आवत–जावत भइरहेको उनको भनाइ छ ।

‘अहिले सातामा एक दिन मात्र कार्यालय जानुपर्छ र चलेकै छ, तर दैनिक जानुपर्ने भएमा निकै असहज हुन्छ,’ एक कर्मचारीले बैंकिङ खबरलाई भने ।

Ad