May 9th, 2021

‘सहकारीले बन्दाबन्दीको समयमा व्याज र हर्जनामा छुट दिएका छन्’

मिनराज कँडेल
अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ

नेपालमा कोरोना भाइरसको दोस्रो लहर बढ्दो अवस्थामा रहेको छ । जसका कारण देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने केहि जिल्लामा निषेधाज्ञाको तयारी गरिएको छ । कोरोना भाइरसको दोस्रो लहर त्यसपछिको निषेधाज्ञाको अवस्थाका अन्य क्षेत्रजस्तै सहकारी क्षेत्रमा पनि यसको प्रभाव परेको छ । यसै विषयमा केन्द्रित रहेर बैंकिङ खबरले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलसँग कुराकानी गरेको छ ।

समग्र सहकारीको अवस्थालाई कसरी हेर्नुभएको छ ?
सहकारीले राष्ट्रलाई ठूलो योगदान पुर्‍याएको छ । अहिले ३० हजार बढी सहकारी संस्थाहरु छन् । जसमा ७३ लाख बढी सदस्य यसमा आवद्ध छन् । सात खर्व बढी पुँजी यसमा परिचालित भएको छ । यसले मुलुकको कुल वित्तीय क्षेत्रमा करिब १७ प्रतिशत योगदान छ भने जीडीपी अर्थात् कुल ग्राहस्थ उत्पादनमा पाँच प्रतिशत योगदान छ ।

सहकारी क्षेत्रले १ लाख बढीलाई प्रत्यक्ष र १० औँ लाखलाई अप्रत्यक्ष रुपमा रोजगारी दिइराखेको छ । यस हिसाबले सहकारीले मुलुकको आर्थिक, सामाजिक, साँस्कृतिक र वातावरणीय यी चार क्षेत्रमा काम गर्दै आएको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले पहिला आर्थिक, सामाजिक, साँस्कृतिक भन्थ्यो । अहिले वातावरणीय क्षेत्रलाई समेत समेटेर अगाडि बढाएको छ ।

आर्थिक सामाजिक, साँस्कृतिक र वातावरणीय क्षेत्रमा काम गर्ने भएको हुनाले आफ्ना सदस्यको, समुदायको र मुलुककै आर्थिक, सामाजिक रुपान्तरणमा साँस्कृतिक, वातावरणीय क्षेत्रको प्रवद्र्धनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

सहकारीका समस्याहरु के के छन् ?

आमरुपमा सहकारीहरु दर्शन, मुल्यमान्यता र छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गरेर अगाडि बढेको छ । यसमा अलिकति समस्या भनेको सहरी क्षेत्रमा रहेको सहकारीहरुलाई जसले वित्तीय कारोबार गर्छन् । सहकारीको मूल्यलाई सिस्टममा ल्याउनुलाई अलि मेहनत गर्नुपर्ने जस्तो लाग्छ ।

सहकारीको अन्तर्राष्ट्रिय दर्शन, मूल्यमान्यता जुन छ, त्यसलाई आत्मसाथ गर्नुपर्ने देखिन्छ । सहकारी सञ्चालनका लागि तालिम, प्रविधिको अझैँ आवश्यकता छ । आम रुपमा यसले शहर भित्रै पनि र ग्रामीण समुदायमा सबै सहकारी संस्थाहरुले सदस्य संस्थाभित्र अत्यन्त्यै ठूलो सेवा पुर्याइरहेका छन् ।

अहिलेको कोभिडको कारणले परेको असर एउटा भयो । किसानहरुले उत्पादन गरेको बस्तुको बजार नपाएर ठूलो नोक्सानी बेहोर्नुपरेको छ । यो विगतमा एक वर्ष बढी भयो कलडाउन भयो भने अहिले पनि कयौँ जिल्लामा पुनः निषेधाज्ञा भएको अवस्था छ । यसले ठूलो चुनौती सामना गर्नुपरेको छ । समयमै कृषि उपजहरु संकलन गर्न नसक्ने अवस्था रहेको छ ।
दुधका कुरा होस्, फलफुलका कुरा होस्, महका कुरा होस् वा तरकारी फलफलका कुरा होस् । सबै खालका कुराहरुमा अहिले पनि समस्या छ । वस्तुको मूल्य नपाउने, बजार नपाउने कुरा पनि रह्यो । 

निषेधाज्ञाको अवस्थामा सहकारीहरु कसरी सञ्चालन भइरहेको छ ?

सिमित संख्यामा कर्मचारीहरु कटौती गरेर थोरै संख्यामा बसेर सेवा दिने, आंशिक रुपमा संस्थाहरु खोल्ने, अथवा कुनै पनि संस्थाले अल्टरनेटिभ डे मा खोलेर पनि सेवा दिने गरेका छन् ।
आफ्ना सदस्यहरुलाई ठूलो संख्यामा सेवा दिइरहेको छन् । कोभिड शुरु भएर लकडाउन शुरु भएदेखि नै सबैभन्दा धेरै सेवा सुविधा दिने काम सहकारीले गरेको छ । व्याज, हर्जनामा छुट गर्नेदेखि छुट्टै सामाजिक मदत्त पुर्‍याउनेदेखि अहिले देशभरिको मोटामोटी आँकलन गर्दा स्थानीय सरकार, प्रदेश र सरकारलाई गरेर हामिले १२, १३ सय सहकारी संस्थाहरुले १० करोड भन्दा बढी आर्थिक रुपमा पैसा नै संकलन गरेर सहयोग गरेका छौं ।
कोरोना सेन्टर भनेर हामीले नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन हस्पिटलले पनि यो अघिल्लो वर्ष कोरोना उपचार केन्द्रमा पनि सहयोग गर्ने काम गर्‍याे । झापामा राष्ट्रिय सहकारी महासंघ लगायतले काम गरेका छौं । त्यहाँका सहकारी संस्था, सहकारीको अगुवाइमा पीसीआर मेसिन नै खरिद गरिएको छ । सहकारी, नागरिक समाज र प्रदेश सरकारसँग मिलेर पीसीआर ल्याव टेस्ट सरकारलाई जिम्मा लगाउने काम गरेका छौं ।
कतिपय अलपत्र परेका, विचल्लीमा परेका, खाना नपाएका समुदायका सदस्यहरुलाई सहयोगदेखि धेरै कामहरु गरेको छौं ।

निषेधाज्ञामा सहकारी क्षेत्रमा के कस्ता सेवाहरु सुचारु छन् ?

निषेधाज्ञामा सहकारीले सबै सेवाहरु दिइरहेका छन् । वित्तीय सहकारीले सदस्यहरुलाई परिआएको बेलामा बचत फिर्ता गर्ने, विना व्याजमा छोटो अवधिका लागि सदस्यहरुलाई रकम दिने, कतिपय संस्थाहरुले व्याज छुट गरिदिने, हर्जना छुट गरिदिने गरेको अवस्था छ ।
ऋणको भाका, रि–सेडुलिङ गरिदिने देखि कृषि उपज बस्तुहरुलाई संकलन गर्ने, बजारसम्म पु¥याउने काम सहकारीले गरेको छ । दुग्ध सहकारीलाई संकलन गर्ने दुधलाई बजारसम्म पुर्‍याउने र जुनजुन उदेश्य अनुसारको सहकारी संघ छन् । त्यस्ता सहकारीहरुले आफ्ना सदस्यहरु र समाजमा महत्वपूर्ण भूमिका खेलेको छ ।

सहकारी संस्थाहरुले निषेधाज्ञाको समयमा कसरी सेवा दिने भन्ने विषयमा सहकारी विभागले केही निर्देशन दिएको छैन ?

सहकारी विभागले निर्देशन जारी गरेको छ । महासंघले पनि निर्देशन जारी गरेका छौं । विभागले सिमित संख्यामा कर्मचारीहरु राखेर छोटो समयको लागि भएपनि आफ्ना सदस्यहरुलाई सेवामा कुनै कमि नहुने गरी सेवा दिने कुरामा निर्देशन दिएको छ ।
कतिपय अवस्थामा सदस्यहरु संस्थासम्म आउन नसक्दा सदस्यको घरघरमा गएरपनि सहकारी कर्मचारीहरुले सेवा दिइरहेका छन् ।

सहकारी क्षेत्रमा कोरोना भाइरस र निषेधाज्ञाले कस्तो असर परिरहेको छ ?

यसले सहकारी क्षेत्रमा मात्र नभई राष्ट्रव्यापी असर पर्ने कुरा भयो । सहकारी मात्र नभएर आम रुपमा जनसमुदायलाई असर पुगेकाे छ । यसको असर सहकारी क्षेत्रमा पनि पर्ने नै भयो । हाम्रो खोटाङ जिल्ला सहकारी संघका अध्यक्षको यहि कोभिडका कारणले निधन भयो । थुप्रै सहकारीकर्मीहरुमा यसको असर परेकाे छ ।
त्यहि पनि हामिले हाम्रो सदस्यहरुलाई जीवन रक्षादेखि समुदायमा जनचेतनाका कामहरु, कोभिडसँग जुध्नका लागि सचेतना अपनाउने,  सरसहयोग गर्ने काम गरिरहेकै छाैँ ।

समग्र आर्थिक क्षेत्रमा अहिलेको अवस्थो कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ?

समग्र देशको आर्थिक क्षेत्रलाई त यसले ठूलो पर्ने नै भयो । राज्यले पनि मूल्याकंन गरिहेको अवस्था छ । पर्यटन क्षेत्रमा यसले तहस नहस बनायो । उद्योग धन्दा व्यवसाय, कृषि उत्पादनदेखि लिएर सबै क्षेत्रमा यसले असर पुर्‍याएको छ ।

मानव स्वास्थ्यलाई पहिलो कुरा ध्यान दिनुपर्‍याे । जीवन रक्षामा ध्यान दिनुपर्ने हुनाले सबैको ध्यान त्यता केन्द्रित गर्नुपर्ने हुन्छ ।  झन् नेपालमा हिजोआज जुन कोरोना भाइरसको दोस्रो लहर छ । भयाभह भइरहेको छ । हामिले पनि भनिरहेका छौं की पहिलो कुरा जीवन रक्षा । आफ्ना सदस्य समुदायको सदस्यको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर अहिले काम गरौं । त्यहि ढंगबाट राज्यको ध्यान पनि त्यतितिर केन्द्रित छ । राज्यका स्रोत साधनले पनि नपुग्ने हो कि नधान्ने हो कि भन्ने पनि अवस्था पनि भयावहको अवस्था छ । राज्यले अहिले घोषणा गरेको जुन निषेधाज्ञा छ । विभिन्न जिल्लाहरु, सहरहरुमा यसलाई पूर्णरुपमा पालना गर्दै आफ्नो जीवन रक्षालाई प्राथमिकता दिनुपर्छ भन्ने लाग्छ ।

लकडाउनपछिको अवस्थालाई सहजीकरण गर्न सहकारी विभागले कस्तो रणनीति बनाओस् भन्ने चाहनुहुन्छ ?

सहकारी भनेकै सदस्यहरुको केन्द्रित व्यवसाय हो । सदस्यहरु नै त्यसका मालिक हौँ । त्यसका उपभोक्ता हौं । सदस्यको हित कसरी हुन्छ त्यो हिसावले सहकारी अभियानले, संस्थाले पहल गर्नुपर्छ ।
आफ्ना सदस्यका हितका लागि, सदस्यको सुरक्षाका लागि, सदस्यको आवश्यकताका परिपूर्तिका लागि सहकारीहरुले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । त्यहि अनुसारको प्लान गर्नुपर्छ । यो परिस्थिति अनुसार कति समयसम्म जान्छ त्यो पनि अहिले टुंगो भइसकेको छैन ।
पहिलो भनेको जीवन रक्षाकै पहिलो प्रायरिटी हो । यसमा ध्यान दिँदै आफ्ना आर्थिक क्रियाकलापहरु पनि लड्दै जुध्दै, आफ्ना गतिविधिहरुलाई पनि अगाडि बढाउनुपर्छ ।

अन्त्यमा,

सहकारी क्षेत्रले राज्यलाई एउटा ठूलो योगदान पनि पुर्‍याइ राखेको छ । त्यसकै कारण हाम्रो मूल कानून, संविधानमा पनि तीन खम्बे अर्थनीति सार्वजनिक, निजि र सहकारी भनिएको छ । सहकारीमा आमरुपमा जनताहरुसँग प्रत्यक्ष जोडिएका ७३ लाख भन्दा बढी सदस्य छौं ।
जनताको जीवनस्तरसँग गाँसिएका, जनताको हितका लागि, भलाईको लागि नै काम गर्ने अर्गनाइजेशन हो । जनताहरु आफैँ मिलेर सहकारीको दर्शन, मूल्य, सिद्धान्तका आधारमा हामी सञ्चालित हुन्छौं । त्यसकारण सहकारीलाई अझै सुदृढ व्यवस्थित रुपले अगाडि बढाउँदै अहिलेको जुन चुनौती छ, त्यो चुनौतीलाई पार पाउनका लागि आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्ने देखिन्छ । सहकारी सरकारको परिपूरक हो । सरकारले गर्ने काममा हामीले सहयोग पुर्‍याइ रहेका छौं ।  त्यसकारण सरकार, सहकारी, आम नागरिक समाज सबै मिलेर जनताको जीवनरक्षा र आम रुपमा आर्थिक, सामाजिक रुपान्तरणमा लाग्नुपर्ने देखिन्छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]