बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडले एक हजार रुपैयाँ अंकित १३ लाख ८५ हजार कित्ता डिबेन्चर (ऋणपत्र) सर्वसाधारणका लागि २२ वैशाखदेखि निष्कासन खुला गरेको छ । २०८७ सालमा परिपक्व हुने सो ऋणपत्रका लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन् ।
बैंकको ऋणपत्र खरिद गर्न चाहनेले २२ वैशाखदेखि छिटोमा २६ वैशाख र ढिलोमा ५ जेठसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
कसलाई कति ?
नेपाल बैंकले ‘८.५% नेपाल बैंक ऋणपत्र २०८७’ नामले एक हजार रुपैयाँ अङ्कित दरको ३५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । त्यसमध्ये २१ लाख कित्ता डिबेन्चरले हुन आउने कुल २ अर्ब १० करोड ऋणपुँजी रकमबराबरको ऋणपत्र विभिन्न व्यक्ति तथा संघ–संस्थालाई व्यक्तिगततवरबाट बाडफाँड गरिएको छ । त्यस्तै, १४ लाख कित्ता डिबेन्चरले हुन आउने कुल १ अर्ब ४० करोड ऋणपुँजी रकममध्ये १५ हजार एकाइ सामूहिक लगानी कोषका लागि बाडँफाँड गरी बाँकी रहेको १ अर्ब ३८ करोड ५० लाखबराबरको सर्वसाधारण नेपालीहरुका लागि निष्कासन खुला गरिएको निष्काशन कम्पनीले जनाएको छ ।