२०७३ भाद्र २ गते

राष्ट्रऋण व्यवस्थापनका लागि नयाँ उपकरण ल्याउँदै राष्ट्र बैंक

nrbठूला परियोजना निर्माण गर्न सरकारले नयाँ योजना अघि सारेको छ । सरकारले परियोजना ऋणपत्र (प्रोजेक्ट बन्ड) र विदेशी मुद्रामा ऋणपत्र बिक्री गर्ने अवधारणा अघि सारेको हो । अहिलेसम्म नेपालमा राष्ट्र ऋणका रूपमा ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, राष्ट्रिय बचतपत्र र वैदेशिक रोजगार बचतपत्र मात्रै जारी गर्दै आइएको छ । अब भने राष्ट्र बैंकले परियोजना ऋणपत्र र विदेशी मुद्राको ऋणपत्र पनि विक्रि गर्ने तयारी गरेको हो ।  

परियोजना ऋणपत्र र विदेशी मुद्रा ऋणपत्र जारी गर्ने सम्बन्धमा केन्द्रीय बैंकले अन्तरराष्ट्रिय मुद्राकोष र विश्व बैंकलगायतका दातृ निकायसँग छलफल गरिरहेको छ । सबै क्षेत्रसँगको छलफलपछि उपयुक्त निष्कर्षसहित अघि बढ्न सरकारलाई सुझाव दिइने राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले नेपाल सरकारको वित्तीय सल्लाहकारको रुपमा काम गर्दै आएको छ । साथै, सरकारका लागि आवश्यक आन्तरिक तथा बाह्य ऋण उठाउने काम पनि राष्ट्र बैंकले नै गर्ने गरेको छ । 

गत आर्थिक वर्षको बजेटमा पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै पुनरुद्धार ऋणपत्रको अवधारणा अघि सारेपछि केन्द्रीय बैंकले त्यसबारेमा गृहकार्य गरेको थियो । तर, पछि सरकारले चासो नदिएपछि पुनरुद्धार ऋणपत्रको अवधारणा हराएको थियो । विगतमा वैदेशिक रोजगार बचतपत्र जारी गर्ने क्रमसँगै परियोजना ऋणपत्र र विदेशी मुद्रामा ऋणपत्रको अवधारणामा चर्चा हुँदै आएको थियो । विश्वभर पूर्वाधारका ठूला परियोजना निर्माण गर्दा परियोजना ऋणपत्र र विदेशी मुद्राको ऋणपत्र प्रयोग गरिन्छ । आन्तरिक ऋणभन्दा विदेशी मुद्राको ऋणपत्र ब्याजदर केही महँगो हुन्छ ।