२०७३ भाद्र १ गते

बुधबार पनि घट्यो शेयर कारोबार, परिसूचक भने १७ अंक माथि

economicबुधबार नेपाल स्टक एक्सचेन्जमा १ अर्ब माथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ४५ वटा कम्पनीको १६ लाख ९७ हजार ९ सय १२ कित्ता शेयर ६ हजार १३ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ७ लाख ५ हजार ५ सय ८७ रुपैयाँको कारोबार भएको हो । कारोबार रकम मंगलबारको तुलनामा घटेको हो । मंगलबार १ अर्ब ६ करोडमाथिको शेयर कारोबार भएको थियो । कुल कारोबारमध्ये बैंकिङ समूहको ४३ करोडमाथिको कारोबार भएको छ भने विकास बैंक र फाइनान्सको क्रमशः १३ करोड र ५ करोडमाथिको शेयर कारोबार भएको छ ।  
 
धेरै कारोबार हुने कम्पनीहरुको अग्रस्थानमा रहेको एनबी बैंकको झन्डै ७ करोडको कारोबार भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्सको ५ करोड २१ लाखमाथिको कारोबार भएको छ भने इन्भेष्टमेन्ट बैंकको ४ करोड ६१ लाख रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंकको ३ करोडमाथिको कारोबार हुँदा नेपाल बैंक, प्रभु इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, एनएमबी बैंक, माछापूछ्रे बैंक लगायतको २ करोडमाथिको कारोबार भएको छ । 

कारोबार रकम घट्दो क्रममा रहेपनि बजारले भने मंगलबारदेखि वृद्धिको बाटो समाएको छ । बुधबार नेप्से परिसूचक १७.६१ अंकले बढेर १७३५.०६ अंकमा पुगेको छ । फाइनान्स र उत्पादनमूलक बाहेक सबै समूह बढेका छन् । बैंकिङ समूह १६.२५ अंकले बढेको छ भने विकास बैंक २६.२४ अंकले बढेको छ । फाइनान्स भने ०.०१ अंकले घटेको छ । होटल, जलविद्युत्, बीमा र अन्य क्रमशः ६१.३४, १५.१५, १०३.२२ र ६.३७ अंकले बढेका छन् । उत्पादनमूलक समूह ८.५९ अंकले घटेको छ । 

प्रोग्रसिभ फाइनान्स, हाम्रो विकास बैंक, राप्तीभेरी विकास बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक र गुह्येश्वरी मर्चेन्ट एण्ड फाइनान्सका लगानीकर्ताले क्रमशः ९.८३, ९.७६, ९.७६, ९.५२ र ९.१५ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । रिडी हाइड्रोपावर, एनबी इन्स्योरेन्स, हिमालयन जेनेरल इन्स्योरेन्स लगायतले पनि धेरै कमाएका छन् । गुमाउने कम्पनीहरुको अग्रस्थान रहेको लक्ष्मी भ्यालू फण्ड १ का लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । एभरेष्ट बैंक (सीपी), मिथिला लघुवित्त, युनियन फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, सिनर्जी फाइनान्स लगायतले पनि गुमाएका छन् ।