
बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाले धितोपत्र दलाल व्यावसायीको शाखा विस्तारले पूँजी बजारको पहुँच विस्तारमा थप टेवा पुर्याउने बताउनुभएको छ ।
नवलपुरको कावासोतीमा धितोपत्र दलाल व्यवसायी शाखा कार्यालय सेक्युरिटिज प्रा.लि. को समुद्घाटन गर्दै उहाँले धितोपत्रको प्राथमिक बजारको सेवालाई देशव्यापी बनाइसकेपछि अब हामी दोस्रो बजारका सेवाहरू समेत देशव्यापी बनाउने क्रममा रहेको बताउनुभयो । यस कार्यले देशका कुना काप्चाबाट सर्वसाधारणले शेयर खरिद गर्ने तर सो शेयर विक्रीका लागि दोस्रो बजार सेवा स्थानीय तहमा उपलब्ध नहुँदा सर्वसाधारणले भोग्नुपरेको समस्याको समाधान हुने जिकिर उहाँले गर्नुभयो ।
मन्तव्यकै क्रममा उहाँले शाखा कार्यालय विस्तारमार्फत् एकातिर संघीयताको सिद्धान्त अनुरूप पूँजी बजार स्थानीय तहसम्म विस्तार हुँदा स्थानीय स्तरको पूँजी परिचालन हुने र देशको आर्थिक विकास तथा रोजगारी वृद्धिमा स्थानीय समेत प्रत्यक्ष रूपमा सहभागी हुन पाउने वातावरण बन्ने धारणा राख्नुभयो ।
अध्यक्ष ढुंगानाले पछिल्लो समय विशेष गरी २०७७ साल नेपालको पूँजी बजारको लागी ऐतिहासिक वर्षको रूपमा रहन गएको बताउँदै धितोपत्रको प्राथमिक निष्काशन, कारोबार रकम, बजार पूँजीकरण, नेप्से सूचकांकका साथै लगानीकर्ताको संख्याजस्ता परिसूचकहरूको आधारमा २०७७ साल हाम्रो लागी विशेष रहन गएको बताउनुभयो ।
विभिन्न प्राविधिक तथा नीतिगत सुधारसँगै एउटै आपिओमा १८ लाख भन्दा बढी लगानीकर्ताहरू सहभागी हुने अवस्थाको सृजना भएको बताउँदै बोर्डले पछिल्लो समय बजारको सुधार तथा विकास विस्तारका लागि गरेका विभिन्न पहलहरूको समेत जानकारी दिनुभयो । ढुंगानाले सर्वसाधारण लगानीकर्ताको सिधा र नजिकको सम्बन्ध ब्रोकरसँग रहने हुनाले ब्रोकरले दिने सेवा, व्यवहारमा समग्र पूँजी बजारको चित्र प्रतिबिम्बित हुने भएकोले ब्रोकरले उत्कृष्ट व्यावसायिक सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ब्रोकरको पूँजीगत क्षमता अभिवृद्धि, व्यवसायिकता अभिवृद्धिका साथै कार्यक्षेत्र विस्तारलाई बोर्डले प्राथमिकतामा राखेको समेत जानकारी दिनुभयो ।