
वसन्त लम्साल
अध्यक्ष, नेपाल लघुवित्त बैंकर्स संघ
२०७७ सालमा बैंकिङ क्षेत्रमा कोरोना महामारीले धेरैलाई असर गर्यो । पहिलो चरणमा केही सुधारका कामहरू हुन थाले पनि पुनः कोरोना बढ्न थालेकाले हामीलाई फेरि त्रस्त बनाउने अवस्था छ ।
लघुवित्तको छुट्टै खालको समस्याभन्दा पनि नेपालको अर्थतन्त्रमा पारेको, सबै जनतामा पारेको असर हाम्रो क्षेत्रमा पनि पर्यो । यस्तै समस्या हाम्रा ग्राहकहरूलाई पनि पर्यो । २०७७ को सबैभन्दा ठूलो चुनौती भनेकै हाम्रा लागि कोरोना नै रह्यो, जुन सबैतिर चासोको विषय र अप्ठ्यारो अवस्था पनि हो । अबका दिनमा कोरोनाको त्रास विस्तारै कम भएर अबको वर्ष केही राम्रो हुन्छ भन्ने हाम्रो अपेक्षा छ । अन्य हिसाबले भने वितेको वर्ष सामान्य नै रह्यो ।
लघुवित्तको क्षेत्रको कुरा गर्दा मान्छेहरूको तिर्ने क्षमता कम भएका कारण ग्राहकलाई ऋण तिर्न अप्ठ्यारो भएको अवस्था थियो । तर पनि सुधार भएको अवस्था छ, विस्तारै सुधारोन्मुख छ । दोस्रो चरणको कोरोनाका कारण शंका र डर बढेको अवस्था छ । केही समयमा कोरोनाको असर पनि कम हुन्छ र २०७८ मा अलि राम्रो हुन्छ कि भन्ने आस गरेका छौँ । जोखिमको पाटो अलि बढेको देखिन्छ । समग्रमा स्टाफहरूको मनोबलको हिसाबले निकै नै अप्ठ्यारो अवस्था रह्यो । नयाँ वर्ष २०७८ मा यस्तो नहोला भन्ने आस गर्दछौँ ।
यो विषम परिस्थितिसित जुध्न नेपाल राष्ट्र बैंकले नयाँ प्रावधानहरू ल्यायो, जसलाई हामी ऐतिहासिक प्रावधानका रूपमा लिन्छौँ । ग्राहकहरूलाई धितो बढाइदिन सक्ने, बैंक तथा वित्तीय संस्थाहरूको मर्जरको प्रोसेसले संख्यात्मक रूपमा घटेर व्यवस्थित हुन लागेको छ । कर्जा सूचनाको सूचना अलि व्यवस्थित हुन लागेको छ ।
लघुवित्त संस्थाहरूलाई फानान्सियल व्यवस्था गरिएको छ । यो वर्षदेखि विभिन्न क्षेत्रमा सुधार भएको छ, तर पनि कोरोनाको दोस्रो लहरका कारण केही जोखिम पनि बढेको अवस्था छ ।




