April 13th, 2021

सेवाको गुणस्तरमा सम्झौता नगर्न गभर्नर अधिकारीको बैंक–वित्तलाई निर्देशन

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थालाई सेवाको गुणस्तरमा सम्झौता नगर्न निर्देशन दिनुभएको छ । मंगलबार बैंकर्सहरूसँगको छलफलका क्रममा गभर्नर अधिकारीले यस्तो निर्देशन दिनुभएको हो । भर्चुअल माध्यमबाट भएको छलफलमा गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग नयाँ वर्ष २०७८ को शुभकामना आदान–प्रदान गर्नुभयो ।

छलफलका क्रममा गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जाप्रवाहको परिमाणमा मात्र नभई गुणस्तरमा पनि उत्तिकै ध्यान दिन निर्देशन दिनुभयो । छलफलमा सहभागी एक बैंकरका अनुसार गभर्नर अधिकारीले कोभिड १९ को प्रभाव न्यूनीकरणपछिको छोटो अवधिमै बैंक तथा वित्तीय संस्थाहरूको तीव्र कर्जाप्रवाहतर्फ संकेत गर्दै लगानीको गुणस्तरमा विशेष जोड दिन निर्देशन दिनुभएको हो ।

गभर्नर अधिकारीले वाणिज्य बैंकका सिइओहरूलाई लक्षित गर्दै कर्जाको परिमाणात्मक वृद्धिमा गुणस्तरीय लगानीको सिद्धान्तलाई नजरन्दाज गर्न नसकिने संकेत गर्नुभयो । लगानीको उपयुक्त क्षेत्र र क्षेत्रअनुसार लगानीको सीमाअनुरूप लगानी गर्नुपर्ने निर्देशात्मक सुझाब उहाँको थियो । छलफलका क्रममा सहभागी बैंकरहरूले केही महिनाअघि मात्र रहेको अधिक तरलताको अवस्थाबाट हाल तरलता संकुचनतर्फ अवस्था बढ्दै गएकाले सिडिसी रेसियो बढाउन सुझाब दिनुभएको थिए ।

राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय नीलम ढुंगाना र बमबहादुर मिश्र, प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायणप्रसाद पोखरेल तथा कार्यकारी निर्देशकहरू सम्मिलित कार्यक्रममा नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, लघुवित्त बैंकर्स संघ, वित्त कम्पनी बैंकर्स संघका प्रतिनिधहरू तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिको समेत सहभागिता थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]