
बैंकिङ खबर/मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय मटेहियाको कार्यक्षेत्र अन्तर्गत नरैनापुर गाउँपलिका वडा नं.४ खोदवाटोलका आगलागी प्रभावित सेवाग्राही सदस्यलाई राहत प्रदान गरेको छ । पीडितमध्ये संस्थाका सेवाग्राही सदस्यका रुपमा आवद्ध घरपरिवारलाई जनही २ हजार र ऋणी सदस्यहरुलाई जनही ५ हजारका दरले प्रारम्भिक चरणको राहत वितरण गरेको हो ।
चैत्र २५ गते सम्पन्न उक्त राहत वितरण कार्यक्रममा संस्थाका संचालक समिति अध्यक्ष टेक बहादुर बोहराको उपस्थितिमा नरैनापुर– ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्य, वित्तीय संस्थाका तालिम तथा सामाजिक विकास विभाग प्रमुख विकल काफ्ले, बौनिया क्षेत्रीय कार्यालयका वेद प्रसाद आचार्य, पदम बहादुर खड्का लगायत शाखा कार्यालय मटेहियाका कर्मचारीहरुसहितको उपस्थिति रहेको थियो ।
२१ गतेको आगलागीबाट खोदवाटोलका १२५ घरधुरी जलेर नष्ट भएका छन् । घरजलेसँगै पीडितका खाद्यान्न लत्ताकपडा भाडाकुडा जिन्सीसामान सम्पूर्ण चिजहरु गुमाउनुपरेको पिडामा छट्पटिदै खुल्ला आकासमुनि बस्न बाध्य भएका छन् । वित्तीय संस्थाले गरेको राहत वितरण कार्यक्रममा सदस्यहरुसँग छलफलको दौरान बोल्दै सस्थाका अध्यक्ष बोहराले संस्थाको तर्फबाट सेवाग्राहीलाई पिडा परेको बेला तुरुन्त समयमै आफ्ना सदस्यको आँशु पुछ्न मिर्मिरे सदैव तत्पर रहेको बताउनु भएको थियो । कार्यक्रमा बोल्दै वडाध्यक्ष मौर्यले समयमै राहत उपलब्ध गराएकोमा मिर्मिरे लघुवित्त प्रति आभार ब्यक्त गर्दै यस अघि वित्तीय संस्थाले त्यस शाखा अन्तरर्गत सम्पन्न गरेको बृहद स्वास्थ्य शिविर कार्यक्रमको समेत स्मरण गर्दै आफ्ना गाउँलेहरुको पिडामा मलमपट्टि लगाउन मिर्मिरेका संचालक अध्यक्ष स्वयं आएकोमा कृतज्ञता ब्यक्त गरे ।
वित्तीय संस्थाको नरैनापुर स्थित शाखा कार्यालय बाके जिल्लाको राप्ति पारीको क्षेत्रकै पहिलो वित्तीय संस्थाको रुपमा २०७४ पौष सालमा स्थापना भएको थियो । उक्त शाखा कार्यालयले स्थानीय लक्षित सेवाग्राही बिपन्नवर्ग समुदायको ८७० घरधुरीमा प्रत्यक्ष लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाका क्षेत्रीय प्रबन्धक वेद प्रसाद आचार्यले अन्य संघसंस्था, दातृ निकाय तथा सरकारी निकायहरुलाई आगलागी पिडित परिवारलाई छिटोभन्दा छिटो सहयोग गर्न अपिल गर्नुभएको थियो ।


