Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताको तेस्रो दिनमा आएर बढ्यो शेयर बजार : कारोबार किन घट्यो ?

२०७३ श्रावण ३२ गते
सेयर:

economic 3साताको तेस्रो दिनमा आएर शेयर बजारमा हरियाली छाएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्जमा १ अर्बमाथिको कारोबार भएको छ । दिनभरिमा १ सय ४३ कम्पनीको २० लाख ३८ हजार ९ सय १४ कित्ता शेयर ६ हजार ६८ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ६ करोड ३१ लाख ७५ हजार २ सय ९४ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम सोमबारको तुलनामा घटेको हो । सोमबार १ अर्ब १९ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो । कुल कारोबारमध्ये, बैंकिङ समूहको ४९ करोड ६९ लाखभन्दा माथिको शेयर कारोबार भएको छ भने विकास बैंक र फाइनान्सको क्रमशः सवा १४ करोड र साढे ३ करोडमाथिको शेयर कारोबार भएको छ । 

कारोबार रकम घटेपछि नेप्से परिसूचक भने २२.६४ अंकले बढेर १७१७.४५ अंकमा पुगेको छ । कारोबार भएका सबै समूह बढेका छन् । बैंकिङ समूह २१.२६ अंकले बढेको छ भने विकास बैंक र फाइनान्स क्रमशः १६.५८ र ११.०६ अंकले बढेका छन् । सबैभन्दा धेरै बीमा समूह १७२.११ अंकले बढेको छ । होटल, जलविद्युत्, उत्पादनमूलक र अन्य क्रमशः ७८.२१, ११.८५, ८.४६ र ६.९४ अंकले बढेका छन् । 

कम्पनीगत आधारमा हेर्दा, लगानीकर्ताको सबैभन्दा धेरै आकर्षण एनबी बैंकमा रहेको छ, जसको ७ करोड ३३ लाखभन्दा माथिको शेयर कारोबार भएको छ । त्यस्तै, लुम्बिनी जेनेरल इन्स्योरेन्सको ५ करोड ४० लाखमाथिको कारोबार हुँदा एभरेष्ट बैंकको ४ करोड ११ लाखमाथिको कारोबार भएको छ भने इन्भेष्टमेन्ट बैंकको झन्डै ४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्सको झन्डै पौने ४ करोड रुपैयाँको कारोबार भएको छ भने माछापूछ्रे बैंकको झन्डै साढे ३ करोडको कारोबार भएको छ । एनएमबी बैंक र नेपाल बैंकको पनि ३ करोडमाथिको शेयर कारोबार भएको छ । कृषि विकास बैंकको झन्डै ३ करोडको कारोबार हुँदा सिद्धार्थ बैंकको पौने ३ करोडको कारोबार भएको छ । 

आईसीएफसी फाइनान्स र लुम्बिनी फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा सिद्धार्थ डेभलपमेन्ट बैंक र गुह्येश्वरी फाइनान्सका लगानीकर्ताले ९.८० प्रतिशतका दरले कमाएका छन् । किसान माइक्रोफाइनान्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, हाम्रो विकास बैंक लगायतले पनि धेरै कमाएका छन् । गुमाउनेमा बरुण हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, माउन्ट मकालु डेभलपमेन्ट बैंक, नयाँ नेपाल लघुवित्त, युनियन फाइनान्स लगायत छन् ।