April 5th, 2021

बैंकिङ कसुर मुद्दा : साढे ६१ लाख जरिवाना सुनाइएका ढकाल पक्राउ

बैंकिङ खबर/  बैंकिङ कसुर मुद्दामा पाँच दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–१५ का ३४ वर्षीय बरुण ढकाल रहेका छन् ।

काठमाडौंको पेप्सीकोलाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको ब्यूरोका प्रवक्ता गंगा पन्तले जानकारी दिइन् । ढकालविरुद्ध उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा गत पुस १५ गते ५ दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

ढकालले मिति २०७५ चैत २० गते आफ्नो खातामा पर्याप्त रकम नहुँदा पनि कमलाकुमारी राईलाई ५६ लाख १५ हजार र कल्पनाकुमारी राईलाई ५ लाख ४० हजार रुपैयाँको चेक दिएका थिए ।

ढकाल घरजग्गा कारोबारी हुन् । उच्च अदालतले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५ (१) अनुसार क्रमशः ३ दिन कैद र ५६ लाख १५ हजार जरिवाना तथा २ दिन कैद र ५ लाख ४० हजार जरिवाना गरेको थियो ।
पक्राउ परेका ढकाललाई फैसला कार्यान्वयनको सोमबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]