
बैंकिङ खबर/ सरकारले उत्कृष्ट १५ करदातालाई सम्मान गरेको छ । करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको हो । आन्तरिक राजस्व विभागले नवौं राष्ट्रिय कर दिवसका अवसरमा गर्ने गरेको सो सम्मान कोरोनाका कारण यो वर्ष भने ढिला भएको हो ।
यी हुन् सम्मानित करदाता
१. छिमेक लघुवित्त वित्तीय संस्था
सरकारले सहकारी तथा लघुवित्तमध्ये सबैभन्दा बढी कर तिर्ने छिमेक लघुवित्त वित्तीय संस्थालाई सम्मान गरेको छ । छिमेकलाई आन्तरिक राजश्व विभागले संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चोलराज शर्मा जोशीलाई सम्मान पत्र हस्तान्तरण गरेको हो । छिमेकले आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी ४१ करोड भन्दा बढी आयकर बुझाएको थियो ।
२. नबिल बैंक
नबिल बैंक बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा सम्मानित भएको छ ।
आर्थिक वर्ष ०७५/०७६ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर्पाेरेट कर तिर्ने नबिल बैंकलाई आन्तरिक राजस्व विभागले सम्मानित गरेको छ । नबिल बैंकका सीईओ अनिल केशरी शाहले उक्त सम्मान थापेका छन् ।
बैंकले गत आर्थिक वर्ष एक अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो । पछिल्लो १० वर्षमा नबिल बैंक उच्च कर भुक्तानी गर्नेमा यो पाँचौँ पटक सम्मानित भएको हो । समृद्ध मुलुक निर्माणका लागि बैंकले आफ्नो तर्फबाट सरकारलाई योगदान पु¥याएकोमा गर्व महसुस गरेको जनाएको छ ।
नबिल बैंकले राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको कुल पुँजीको १ दशलमव ५ ‘टाइम्स’ बढी हो ।
नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।
बैंकले हालसम्म १८ सय ७५ प्रतिशत लाभांश वितरण गरेको दाबी गरेको छ ।
३.सूर्य नेपाल प्रालि
आव २०७५/७६ मा सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीका रूपमा सम्मानित भएको छ ।
सूर्य नेपाल यसअघिका आर्थिक वर्षहरुमा पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित हुँदै आएको थियो । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले सूर्य नेपालका सञ्चालक रवी केसीलाई सम्मान गरेका हुन् । यो कम्पनीले गत वर्ष ५ अर्ब ३१ करोड आयकर तिरेको थियो । यस्तै भ्याटतर्फ यो कम्पनीले ३ अर्ब ८७ करोड कर तिरेको थियो ।
४. आइएमई लिमिटेड
विप्रेषणको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा आइएमई लिमिटेड सम्मानित भएको छ । अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
५.व्यवसायी विजय कुमार शाह
व्यक्तिगत आयकरमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा व्यवसायी विजय कुमार शाह सम्मानित भएका छन् ।
हिमालयन डिष्टिलरीका सञ्चालक समेत रहेका शाह दोस्रो पटक सम्मानित भएका हुन् ।
६.डाबर नेपाल प्रालि
निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता डाबर नेपाल प्रालि सम्मानित भएको छ ।
७. हिमाल पावर लिमिटेड
विशेष उद्योगमध्ये हिमाल पावर लिमिटेड बढी आयकर तिर्ने करदाता हिमाल पावर लिमिटेड सम्मानित भएको छ ।
८. अन्नपूर्ण एग्रो इण्डष्ट्रिज
कृषि एवं पशुपन्छीजन्य उद्योगमध्ये अन्नपूर्ण एग्रो इण्डष्ट्रिज सम्मानित भएको छ ।
९. नेपाल पुनर्बीमा कम्पनी लिमिटेड
बढी आयकर तिर्नेमा बीमा व्यवसायमध्ये नेपाल पुनर्बीमा कम्पनी लिमिटेड सम्मानित भएको छ ।
१०. मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपाल प्रालि
स्वास्थ्य तथा शिक्षा सेवामध्ये मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपाल प्रालि सम्मानित भएको छ ।
११. तारागाउँ रिजेन्सी होटल लिमिटेड
पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल लिमिटेड सम्मानित भएको छ ।
१२. अग्नी इन्कर्पोरेटेड प्राली
व्यापार व्यवसायतर्फ अग्नी इन्कर्पोरेटेड प्रालि सम्मानित भएको छ ।
१३. कामना सेवा विकास बैंक लिमिटेड
मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र (वार्षिक पाँच करोडदेखि ४० करोड रुपैयाँसम्म कारोबारमा) पर्ने करदातामध्ये कामना सेवा विकास बैंक लिमिटेड सम्मानित भएको छ ।
१४. भि.एफ सर्भिसेस
आन्तरिक राजश्व कार्यालयको कार्यक्षेत्रभित्र (वार्षिक पाँच करोडसम्म कारोबारमा) बाट सबैभन्दा बढी आयकर तिर्ने करदताको रुपमा भि.एफ सर्भिसेस (मोरिसस) प्रालि रहेको छ ।
१५. घोराही सिमेन्ट इन्डष्ट्रिज प्राली
मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ उत्कृष्ट कर सहभागिता भएको करदतामध्ये घोराही सिमेन्ट इन्डष्ट्रिज प्राली सम्मानित भएको छ ।