March 31st, 2021

मिर्मिरे लघुवित्तले एफपिओ निष्काशन गर्ने


बैंकिङ खबर/काभ्रेको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाको दशौं साधारणसभा बुधबार बनेपा स्थित पञ्चकन्या ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष टेकबहादर बोहराको अध्यक्षतामा भएको साधारण सभाले कर प्रयोजनको लागि नगद लाभांश रु.१९१३१३१ र चुक्ता पुँजीको ९.२० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले अध्यक्षको प्रतिवेदन तथा साविक नागवेली लघुवित्त वित्तीय संस्थाको रु. १,२९,६७,४९,२७९ को वासलात सहितको वित्तीय विवरण र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको २,९२,४२,०२,८९६ को वासलातसहितको वित्तीय विवरण पास गरेको छ । मिर्मिरेले साविक नागवेली लघुवित्त वित्तीय संस्थालाई २०७७ भाद्र ७ गते प्राप्ति गरि एकिकृत कारोवार गरेको हो ।

साधारण सभाले यस अघि स्वेडा लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ती पश्चात संस्थापक शेयर र सर्वसाधारण शेयर पुँजीको अनुपात मिलानको क्रममा फरक पर्न आएको रकमलाई प्रिमियममा एफपिओ शेयर निष्काशन गर्ने, संस्थाले जग्गा खरिद गरेको निर्णयको अनुमोदन तथा उक्त जग्गामा संस्थाको केन्द्रीय कार्यालयको लागि भवन निर्माण गर्न संचालक समितिलाई अख्तियारी तथा “घ” वर्गका अन्य वित्तीय संस्थाहरुसंग एक आपसमा गाभ्न गाभिन वा प्राप्तीको लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने र नियामक निकायमा आवश्यक प्रक्रियाको लागि संचालक समितिलाई अधिकार प्रत्यायोजन सम्बन्धि प्रस्तावहरु पारित गरेको छ ।

कार्यक्रममा संस्थाले विगतको तुलनामा धेरै जसो सूचकहरुमा संस्थाले सकारात्मक सुधार हासिल गरेको तथा सुशासन कायम गरिएकोमा आगामी दिनमा अझै सफलताको लागि शेयरधनीहरुको तर्फबाट श्रीराज जोशी, डमरु वल्लभ घिमिरे, शिव प्रसाद पौडेल लगायतले सुझावसहित शुभकामना दिनुभएको थियो ।

संस्थाको सहायक कार्यकारी प्रमुख विर्ख बहादुर बोहराले संचालन गरेको कार्यक्रममा उपस्थित शेयरधनीहरुलाई संचालकहरुको तर्फबाट दिप बहादुर श्रेष्ठले स्वागत गर्नुभएको थियो भने पुर्व संचालकहरु लिलाराज पौडेल, पवन कार्की, लोकबहादुर माझी, संस्थापक गौतम प्रसाद खनाल, र पुर्व अध्यक्ष रामप्रसाद भण्डारीले शुभकामना मन्तव्य व्यक्त राख्नुभएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]