Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ कसुरमाथि राष्ट्र बैंकको अन्तरक्रिया : अन्तरनिकाय समन्वय र सहकार्यमा जोड

२०७७ चैत्र १४ गते

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंक, कानुन महाशाखाले ‘बैंकिङ कसुरको अनुसन्धान, अभियोजन तथा बैंकिङ सुपरिवेक्षण’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । महान्यायाधिवक्ता रमेश बडालको प्रमुख आतिथ्यमा शुक्रबार (१३ चैत) काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक, महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीका अधिकारीहरूको सहभागिता रहेको राष्ट्र बैंकले जनाएको छ ।

अन्तरनिकाय समन्वय र सहकार्य आवश्यक : महान्यायाधिवक्ता बडाल

फाइल तस्बिर

कार्यक्रममा महान्यायाधिवक्ता बडालले बैंकिङ प्रणालीमा देखिएका कसुरलाई नियन्त्रण गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । त्यसको निम्ति राष्ट्र बैंक, सरकारी वकिल र नेपाल प्रहरीबीच प्रभावकारी समन्वय एवं सहकार्य हुनुपर्ने उहाँको धारणा थियो । ‘विगतमा हामीबीच समन्वयको अभावले कुनै समस्या उत्पन्न भएको छ भने त्यसमा सुधार गर्दै अन्तरनिकाय समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ,’ महान्यायाधिवक्ता बडालको भनाइ उद्धृत गर्दै राष्ट्र बैंकले भनेको छ ।

कसुरका नयाँ प्रवृत्तिले चुनौती : गभर्नर अधिकारी

फाइल तस्बिर

कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ कसुर र सजायसम्बन्धी कानुन जारी भएपश्चात् बैंकिङ कसुरजन्य क्रियाकलापको नियन्त्रणमा मद्दत मिले पनि पछिल्लो समयमा कसुरका नयाँ प्रवृत्तिले चुनौती थपेको बताउनुभयो । त्यसको निम्ति विद्यमान कानुनी व्यवस्थालाई संशोधन र परिमार्जन गर्नुपर्ने धारणा गभर्नर अधिकारीले व्यक्त गर्नुभयो ।
‘सूचना प्रविधिको विकाससँगै बैंकिङ कसुरका नयाँनयाँ प्रवृत्तिहरू देखिन थालेका छन्,’ गभर्नर अधिकारीले भन्नुभयो, ‘तिनको नियन्त्रणलाई विद्यमान कानुनले समेट्न सकेको छैन । त्यसलै कानुनी व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता छ ।’

हुन्डी र मौखिक कारोबारले वित्तीय प्रणालीमा जोखिम : प्रहरी महानिरीक्षक थापा

फाइल तस्बिर

अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तीनवटै निकायको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै बैंकिङ कसुर नियन्त्रणमा उपलब्धि हासिल हुने धारणा राख्नुभयो । हुन्डी र मौखिक माध्यमबाट हुने अन्य कारोबारले वित्तीय प्रणालीमा जोखिम सिर्जना गरेको उहाँको भनाइ थियो । साथै, सहकारी संस्थाको कारोबारलाई पनि प्रभावकारी नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता क्षेत्रीले औँल्याउनुभयो ।

तीनवटै निकायबाट कार्यपत्र प्रस्तुत
कानुन महाशाखाका निर्देशक थानेश्वर आचार्यले उद्घाटन सत्रको समापन मन्तव्य राख्नुभएको राष्ट्र बैंकले जनाएको छ । डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाको अध्यक्षतामा सञ्चालित छलफल सत्रमा तीनवटै निकायको तर्फबाट कार्यपत्रहरू प्रस्तुत गरिएको थियो । सो अवसरमा नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले ‘बैंक सुपरिवेक्षकको रूपमा नेपाल राष्ट्र बैंकको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । यस क्रममा उहाँले सुपरिवेक्षणको अवधारणा, कानुनी व्यवस्था, सुपरिवेक्षकीय अभ्यास र बैंकबाट भएका कारवाहीबारे चर्चा गर्नुभयो ।

प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक सहकुलबहादुर थापाले ‘बैंकिङ कसुरसम्बन्धी अनुसन्धान अनुभव, समस्या तथा सुधार गर्नुपर्ने विषयहरू’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । सो अवसरमा उहाँले ब्युरोबाट हुने बैंकिङ कसुरको अनुसन्धान प्रक्रिया, कसुरजन्य क्रियाकलाप, बैंकिङ कसुरको अनुसन्धानमा देखिएका समस्या र समाधानका उपायबारे चर्चा गर्नुभयो । कार्यक्रममा सहन्यायाधिवक्ता ध्रुवकुमार चौहानले ‘बैंकिङ कसुर तथा बैंकिङसम्बन्धी अन्य प्रचलित कानुनअन्तर्गतका कसुरको अभियोजनसम्बन्धी अनुभव, सोमा देखिएका समस्या, गर्नुपर्ने सुधार र अन्तरनिकायगत समन्वय’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा बैंकिङ कसुरसम्बन्धी बैंक तथा वित्तीय संस्थाका सुपरिवेक्षण, कसुरका जाहेरी, अनुसन्धान, अभियोजन प्रक्रियाका विषयमा सहभागीहरूबीच विस्तृत छलफल भएको थियो । डेपुटी गभर्नर बमबहादुर मिश्रले छलफल सत्रमा समापन मन्तव्य राख्दै बैंकिङ कसुरका विद्यमान कानुनी व्यवस्थामा सुधार गर्दै तीनवटै निकायबीच समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

बैंकिङ कसुरका अधिकांश घटना काठमाडौंमा
पछिल्लो तीन वर्षको तथ्यांकअनुसार बैंकिङ कसुरका दर्ता भएका घटनामध्ये ८० प्रतिशतभन्दा बढी घटना काठमाडौं उपत्यकामा घट्ने गरेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०७४/७५ मा उपत्यकामा ४ सय ८८ वटा (६३ प्रतिशत) बैंकिङ कसुरका घटना घटेका थिए । त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा २ हजार ५ सय ६६ वटा (८१ प्रतिशत) घटना घटेका थिए । आर्थिक वर्ष २०७६/७७ मा २ हजार ९ सय १० (८८ प्रतिशत) र चालु आवमा मात्रै १ हजार १ सय ९३ वटा (८० प्रतिशत) बैकिङ कसुरका घटना घटेका छन् ।

Ad